मोरङमा डेंगु नियन्त्रण अभियान

मोरङमा डेंगु नियन्त्रण अभियान


गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको हो ।

पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले आजदेखि उर्लाबारी तथा पथरीशनिश्चरेमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने चारदिने अभियान अघि बढ्ने जानकारी दिनुभयो ।

उहाँले कार्यक्रममा सहभागी विभिन्न पक्षका सरोकारवालालाई कुलर, गमला, टिन तथा प्लास्टिकका डब्बा, टायरमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेकाले सबैलाई सचेत गराउन अनुरोध गर्नुभयो । कार्यक्रममा कार्यालयका प्राविधिक रिपुमर्दन डोटेलले डेंगु सर्ने तथा यसको नियन्त्रणका उपायका बारेमा जानकारी गराउनुभयो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले पथरी बजार क्षेत्र लामखुट्टेजन्य रोगको जोखिम क्षेत्र भएकाले यसमा सबै पक्ष मिलेर जनचेतना जगाउन र निरन्तर सरसफाइ गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सफा पानीमा बस्ने इडिस एजिप्टाई जातको पोथी लामखुट्टेका माध्यमबाट भाइरसका कारण उच्च ज्वरो आउने डेंगुको लक्षणका आधारमा उपचार गरिन्छ । गतवर्ष नौजनामा डेंगु देखा परेको उर्लाबारीमा यस वर्ष एकजनामा देखा परेको छ । पथरीशनिश्चरेको पथरी बजारमा गत वर्ष तीनजनामा यो रोग देखा परेको थियो । रासस