विद्युत प्राधिकरणका पूर्व महाप्रवन्धक श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा

विद्युत प्राधिकरणका पूर्व महाप्रवन्धक श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा


नेपाल विद्युत प्राधिकरण, उत्पादन सञ्चालन तथा सम्भार विभागका पूर्व महाप्रवन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरितका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको भनि अख्तियारमा उजुरी परेको थियो ।  श्रेष्ठले पदमा रहँदा दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे रुपैया भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठ नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर रुपमा २०३६ सालमा नियुक्ति भई तह तह बढुवा सरुवा भई महाप्रबन्धक, र प्राधिकरणको कामु कार्यकारी निर्देशक २०७० सालमा सेवा निबृत्त भएका थिए ।

उनले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्र लाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा लुकाएर राखेको पाइएकोले जफत गर्न माग समेत आरोपपत्रमार्फत गरिएको छ ।

उनको आय व्ययको विवरण र आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं विश्लेषण गरी हेर्दा श्रेष्ठले आय आर्जन गरेको वैध आयको तुलनामा दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनीरुपबाट आर्जन गरेको पुष्टी हुन आएको हुँदा निजलाई बिगो रु दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजाय हुन साथै निज नेपाल विद्युत प्राधिकरणको महाप्रबन्धक पदमा रही अवकाश प्राप्त गरेको हुदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ (क) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप कैद सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।