बजारमा नक्कली स्टीकरको बिगबिगी

बजारमा नक्कली स्टीकरको बिगबिगी


उपमहानिर्देशकको संयोजकत्वमा छानविन टोली

अस्थिर सरकार र राजनीतिकको फाईदा उठाउदै नेपाली व्यापारीहरुले पछिल्लो समयमा नक्कली सामानहरुको कारोबारमा तीव्रता ल्याएका छन् । सीमावर्ती नाका र तेस्रो मुलुकबाटै आयात गरिएका अधिकाशं उपभोग्य बस्तुदेखि अन्य सामानहरु समेतमा नक्कली स्टीकर लगाएर सामान बजार पठाउने कार्यमा तीव्रता आएपछि सरकारले सो अबैध कारोबार रोक्न समितिनै गठन गर्नु परेको छ ।

पछिल्लो समयमा आन्तरिक कार्यालयको छाप अंकित ५० किलो ९ सय ८७ हजारभन्दा बढी नक्कली स्टीकर सहित भारतीय नागरिक पक्राउ परेपछि सो अबैध कारोबार बारे छानविन गर्न आन्तरिक राजस्व विभागले समिति बनाएको छ ।

मदिरा उत्पादक संघले सो बारे गम्भिर भएर छानविन गर्न आन्तरिक राजस्व विभागसंग माग गरेको थियो । मदिरामा लगाउने अन्त शुल्कको स्टीकर भारतमा बनाएर ल्याउने गिरोहनै सकृय रहेको भन्दै कारवाहीका लागि गरेको माग विभागले तत्काल सम्बोधन नगर्दा अर्बौ रुपैयाँको राजस्व समेत सरकारको गुमेको छ भने गुणस्तहिन उत्पादन नेपाली बजारमा उलेख्य मात्रामा बिक्री भई रहेको छ । संघका प्रतिनिधीले छलफल गर्ने वित्तिकै विभागका कर्मचारीले ती नक्कली स्टीकर लगाउने उद्योगीलाई जानकारी दिएको आरोप समेत लगाइएको छ ।

नक्कली नोटजस्तै छापेर मदिरा बिक्री गर्दा पनि राजस्वले सुनुवाई नगरेपछि संघले आफ्नै अनुगमन टोली बनाएर छानविन समेत गरेको थियो । संघले नक्कली स्टीकरको अनुगमन गर्नका लागि ६ महिना अघिनै वुटवलमा एउटा टोली बनाएको थियो । त्यही टोलीले सालझन्डीस्थित रोमित स्टोरमा राखिएको चरी लिक्वर्सको बलेनी, सिन्धुलीबाट उत्पादित भुन्टे र निम्तो नामक ५० यूपी शक्तिका एक सय ८० एमएलका ६ पेटी मदिरा नियन्त्रणमा लिएको थियो । बुटवल ८ स्थित गंगा स्टोरबाट पनि त्रिशक्ति डिस्टिलरी ललितपुरबाट उत्पादित ५० यूपी शक्तिको एक सय ८० एमएलको मदहोस नामक मदिरा एक पेटी बरामद गरेको समेत सो संघले जनाएको छ ।

संघका अनुसार नक्कली स्टीकर लगाएका ती मदिरा नियन्त्रणमा लिइएको थियो । डेढ वर्ष अघिदेखि लगातार नक्कली स्टीकरसहितका मदिरा बरामद भइरहेको छ । संघको पहलमा केही उद्योगका उत्पादनसहित आन्तरिक राजस्व कार्यालयमा बुझाएपनि कुनै कारवाही नभएको भन्दै गुनासो समेत गरेका छन् ।

तात्कालिन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई समेत मदिरा उत्पादक संघले नक्कली स्टीकर बिगविगी भएको भन्दै बजार अनुगमनको लागि आग्रह गरेको थियो । तर उनले बजार अनुगमन नगरेपछि नक्कली स्टीकर प्रयोग गर्ने हौसिएका थिए ।

नक्कली स्टीकर लगाउनेमा नाम चलेका उद्योग रहेका छन् । शक्ति र पैसाको आडमा उनीहरुले अवैध कारोबार गर्दै आएका हुन । नक्कली स्टीकर पक्राउसँगै आन्तरिक राजस्व कार्यालयले कुनै सहयोग नगरेको भन्दै पत्रकार सम्मेलन गरेपछि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थमन्त्रालयले सो बारे अनुसन्धान सुरु गरेको छ ।

प्रमुख आयुक्त दीप बस्न्यातले आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्की सहितका टोलीलाई बोलाएर नक्कली स्टीकरको अनुसन्धान गर्न निर्देशन दिएपछि विभागका उपमहानिर्देशक मुकुन्द निरौलाको संयोजकत्वमा छानविन टोली बनाएको छ ।

 

अहिले राजस्व कार्यालयको छाप अंकित नक्कली स्टीकरसहित पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान गरि रहेको छ । भारतबाट सामान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको थियो ।

सो स्टीकर काठमाडौं बौद्धस्थित हरिओम टे«डिङ प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानूनी प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले समेत नक्कली छापेर ल्याएको हो ।