के पौराणिक कालमा पनि समलिङ्गी थिए ?

के पौराणिक कालमा पनि समलिङ्गी थिए ?


सुनिलबाबु पन्त

समलिङ्गी शब्द पुरानो शब्द होइन, यो अङ्ग्रेजी शब्द homosexual (होमोसेक्सुअल) को अनुवाद मात्र हो । युरोप र अमेरिकामा समलिङ्गी अधिकारको अभियान १९ औं शताब्दिको अन्ततिर सुरु भएसंगै ‘होमोसेक्सुअल’ शब्द पनि प्रचलनमा आउन थाल्यो र दक्षिण एसियामा यसै शब्दको अनुवाद समलिङ्गी प्रयोग हुन थालेको त ५०–६० वर्ष अघिदेखि मात्र हो । शास्त्रहरूमा र पुरानो जमानामा धेरै प्रयोग हुने शब्द भनेको ‘तृतिय प्रकृतिको व्यक्ति’ हो । यही ‘तृतिय प्रकृति’ शब्दवाट समलिङ्गी शब्द आएको हो, जसरी पुङ्सक प्रकृतिबाट पुरुष र स्त्री प्रकृतिबाट स्त्री वा महिला शब्दहरू बने ।

यसको मतलव के आज भनिएका समलिङ्गीहरू पहिला–पहिला हुँदैन थिए त ? हुन्थे, तर सबैखाले (आजकल छुट्टयाएर भन्ने गरिएका समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी अथवा गे, लेस्वियन र वाइसेक्सुअल) व्यक्तिहरूलाई तृतिय प्रकृतिको शब्दले समेट्थ्यो, अर्थात तेस्रालिङ्गी भनेपछि सबै अटाउँथे ।

युरोप र अमेरिका जस्ता पश्चिमा संस्कृतिमा यौनिकता (Sexuality) लाई ज्यादा महत्व दिइने भएकाले त्यता यौनिकताका आधारमा बनेका पहिचानहरू सजिलै प्रचलनमा आए र स्थापित पनि भए, जस्तै- गे, लेस्वियन र वाईसेक्सुअल । तर एशियामा भने लैङ्गिक भूमिका (gender role) लाई बढी महत्व दिइने भएकाले लैङ्गिकताका आधारमा बनेका पहिचानहरू प्रचलनमा आए र स्थापित भए । त्यसैले, उदाहरणका लागि गे, लेस्वियन वा वाइसेक्सुवल शब्दहरू हाम्रा पौराणिक साहित्यमा भेटिँदैनन् । तापनि यिनका ‘जबर्जस्ती’ अनुवाद गरेर आजकल पुरुष–समलिङ्गी, महिला–समलिङ्गी र दुइलिङ्गी भन्ने गरिएको छ ।
त्यस्तै ‘तृतिय प्रकृति’ वा ‘तेस्रोलिङ्गी’ शब्दको पनि पश्चिमा भाषामा ठेट अनुवाद पाइँदैन ।

आउनुहोस्, वैदिक, पौराणिक कालमा हिन्दु, बौद्ध र जैन धर्म शास्त्रहरूमा चलेका वा उल्लेख भएका ‘तृतिय प्रकृति’ भित्र पर्ने विविध शव्दहरू, तिनका भिन्नतालाई हेरौँ–

स्वैरिणी : कामसुत्र शास्त्रको ‘तृतिय प्रकृति’ शीर्षकअन्तर्गत आउने शब्दहरु मध्ये ‘पुरुषेइता’ भन्ने शब्दले जिद्दी (अथवा माथि पर्नुपर्ने) स्वभावका महिलाहरूलाई जनाउँछ । त्यस्तै ‘स्वैरिणी’ शब्दले (पुरुषविना बाँच्न रुचाउने वा सक्ने) स्वतन्त्र महिलालाई जनाउँछ । यस्ता महिलाहरू ‘श्रीमान’ नरुचाउने, आफ्नो जिविकोपार्जन आफै गर्ने, एक्लै बस्ने वा अन्य महिलासँग विवाह गरेर बस्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

यस्ता ‘स्वैरिणी’हरूका विविध यौन व्यबहार र रुचिका बारेमा कामशुत्रमा विस्तारमा उल्लेख गरेको पाइन्छ । त्यस्तै बच्चा नपाउने (वा पाउन नसक्ने) महिलाहरूलाई ‘नास्त्रीय’ भनेर उल्लेख गरेको पाइन्छ । यस्ता सबैखाले (महिला भएर जन्मेका) तेस्रोलिङ्गीहरू समाज र राज्य संयन्त्रमा सरकारी नोकरी वा ब्यापार वा खेतीकसानी वा मनोरञ्जन वा देहव्यापार लगायतका पेशा अपनाउने वा सन्यास लिएर योगिनी बनेको भनेर पनि उल्लेख छ ।

क्लिब : यस्तो (पुरुष भएर जन्मेको) तेस्रोलिङ्गी जो महिलासँग यौन सम्बन्ध राख्न असक्षम छ (अथवा बिल्कुलै अरुचि राख्छ) लाई जनाउँछ । यस्ता व्यक्तिहरू अन्य पुरुषप्रति आकर्षित हुने र पुरुषसँगकै यौन सम्बन्धबाट सन्तुष्टि लिन सक्ने भनेर उल्लेख गरिएको छ । र, यिनिहरूमा अलि अलि स्त्री स्वभाव पनि झल्कने गर्दछ भनिएको छ ।

शाण्ड : पुरुष भएर जन्मेको भएता पनि स्त्रीको भेषमा बस्ने तेस्रोलिङ्गीलाई जनाउँछ । उनीहरू आफूलाई महिला नै भएको विश्वास गर्दछन् अथवा आत्मा महिलाको भएको ठान्दछन् । यिनैखाले तेस्रोलिङ्गीहरू नै हुन् जोमध्ये धेरैले हिजोआजसम्म पनि आफ्नो लिङ्ग काटेर ‘हिँजडा’ समूदायमा प्रवेश गर्दछन् ।

नपुङ्सक :
पुरुष भएर जन्मेको व्यक्ति भएता पनि जसको विर्य बन्दैन र सन्तान उत्पादन केही गरे पनि हुनै सक्दैन, त्यस्तो ब्यक्तिलाई नपुङ्सक भनिएको छ । अथवा (महिला वा पुरुषको मध्ये कुनै पनि खाले) यौनाङ्ग अविकसित व्यक्तिलाई पनि नपुङ्सक भनिएको छ । यस्ता व्यक्तिहरूलाई बौद्ध तथा जैन धर्म शास्त्रमा पन्ड भनेर उल्लेख गरिएको छ ।

कामी : कामसुत्रका अनुसार यस्तो पुरुष जो अन्य पुरुष, महिला र तेस्रोलिङ्गी सबैसँग यौन सम्बन्ध राख्न रुचाउँछ, त्यस्तो व्यक्तिलाई कामी भनिएको छ ।

कामीनी :
यस्ती महिला जो अन्य पुरुष, महिला र तेस्रोलिङ्गी सबैसँग यौन सम्बन्ध राख्न रुचाउँछे, त्यस्तो व्यक्तिलाई कामिनी भनिएको छ ।

पाश्चात्य संस्कृति बढि रुचाउने र त्यसैलाई मापदण्ड मान्ने बढ्दो प्रवृत्तिले नेपाललगायत अन्य दक्षिण एसियाई मुलुकहरूमा यी ‘वैदिक र पौराणिक पहिचान’मा भन्दा आफूलाई ‘गे, लेस्बियन, वाइसेक्सुअल तथा ट्रान्सजेन्डर’ भनेर चिनाउनमा गर्व गर्नेहरूको संख्या बढ्दो मात्रामा देखिएको छ ।