भन्सार नाकामा थापिएको एम्बुसमा परेनन् सुन तस्कर

भन्सार नाकामा थापिएको एम्बुसमा परेनन् सुन तस्कर


नेपालको स्थलमार्ग प्रयोग गरि पछिल्लो समयमा बढ्दै गएको सुन तस्करी कार्यमा संलग्न तस्करीलाई भन्सार नाकामा थापेको ‘एम्बुस’ अझै मुख्य तस्करी पर्न सकेको छैन । नेपाल प्रहरीले ८८ केजी सुन तस्करीमा संलग्न गिरोह खोज्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित भारत र चीनसँगका सबै नाकामा ‘एम्बुस टोली’ परिचालन गरेपनि सो टोलीले भरिया बाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा तथा जिल्लास्थित अनुसन्धानमा संलग्न संयन्त्रलाई तस्कर विरुद्धको अपरेसनमा तैनाथ गरीएको छ ।

सुन कारोबारमा संलग्न व्यक्ति देश छोडेर भाग्नसक्ने भन्दै प्रहरीले आशंका गरिएका केही व्यक्तिको हुलिया समेत अध्यागमन विभाग र विमानस्थलका सुरक्षाकर्मीलाई उपलब्ध गराई सकेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र ब्यूरोले काकडभिट्टा (झापा), वीरगञ्ज, तातोपानी (सिन्धुपाल्चोक) वेलहिया (रुपन्देही), जमुनाह (बाँके), मोहना (कैलाली) गड्डाचौकी (कञ्चनपुर), रसुवागढी (रसुवा), कोरला (मुस्ताङ) तथा उत्तरी क्षेत्रका अन्य सम्भावित तस्करीका केन्द्र तथा आसपासमा प्रहरी संयन्त्रले निगरानी बढाएको छ ।

अबैध सुनका कारोबारी पत्ता लगाउन व्यूरोले आफ्नो संयन्त्रलाई देशभर सक्रिय बनाएपनि केरुङ–रसुवागढी हुँदै ८८ केजी सुन भित्रिएको छ । सो सुनको मूख्य कारोबारी फरार भएपछि प्रहरी प्रधान कार्यालयले नाका तथा तस्करीका विन्दुहरुमा सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरेको छ । सुन तस्करीलाई नियन्त्रणमा लिई कारबाही गर्नेभन्दै नाकामा परिचालन गरेको एम्बुस टोलीले समेत मुख्य तस्करीलाई नियन्त्रण गर्नेभन्दापनि भगाउने कार्य भएको आरोप समेत व्यवसायीहरुले लगाएका छन् ।

भदौ १९ गते विहान महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले वा १७ च ६४२७ नम्बरको जीपका चालक प्रकाश अधिकारीलाई सुन सहित क्षेत्रपाटीबाट पक्राउ गरेको जनाएको थियो । चालकको बयान अनुसार मुख्य सुन तस्करलाई नियन्त्रणमा लिन सकेको छैन । त्यसैगरी, भदौ १६ गते व्यूरोले काठमाडौं र जनकपुरबाट २२ केजी सुन बरामद गरेको थियो । यसैगरी सो टोलीले सुन बोर्डर पास गराउन सघाउने रसुवा स्याफ्रुबेसीका दम्वा तामाङ र सिन्धुपाल्चोकका दिलिप खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुपनि सुन ओसारप्रसार गर्ने भरियामा रहेको खुलेको छ । । अधिकारीसहित तीनैजना भरिया अहिले महाशाखाको नियन्त्रणमा रहेका छन् ।

सुन बरामद भएसँगै प्रहरीले ठमेलस्थित काठमाडौं वन होटलका सञ्चालकद्वय चिनियाँ नागरिक याङ वेन विन र उनका पति पान वे मिङको समेत खोजी गरे पनि उनीहरुलाई नियन्त्रणमा लिन सुरक्षा निकाय असफल भएको छ । ८८ केजी सुन बिक्रेता र खरिदकर्ता नेपालमै भएको दाबी गर्दै महाशाखाले जसरी पनि अभियुक्तलाई पत्ता लगाइने दाबी गर्दै आएको छ ।–रोशन कार्की