उद्योग व्यापारलाई थुनेर व्यवसाय चल्दैन: चेम्बर

उद्योग व्यापारलाई थुनेर व्यवसाय चल्दैन: चेम्बर


नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुको व्यापारलाई थुनेर व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत गराएको छ । चेम्बरको एक प्रतिनिधिमण्डलले वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राख्दै गल्ती नगर्नेलाई विना डर व्यवसाय गर्न सक्ने वातावरण तयार गर्न समेत माग गरेको छ ।

चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाईमा गएको प्रतिनिधिमण्डलले प्रमाणित नभइकनै उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे । उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकको परिच्छेद ९ को कसुर र सजाय सम्वन्धी व्यवस्थाको दफा ५१ सजाय १ को ‘ग’ मा दफा ५० को खण्ड ‘च’ विपरित काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनले राखेका छन् ।

अध्यक्ष श्रेष्ठले व्यापार घाटा कम गर्न निर्यातलाई वढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । यसका लागि निर्यात योग्य वस्तुहरुको उत्पादन र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाह अनुसार आफू अगाडि बढ्ने बताए । करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको उनले स्पष्ट पार्दै व्यापार घाटा कम गर्न निर्यातलाई बढाउन आफूले कोसिस थालेको जानकारी दिए ।

चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्वितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठलगायतका कार्यसमिति सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।