लोकतन्त्रका आवश्यक र भावनात्मक आधार

लोकतन्त्रका आवश्यक र भावनात्मक आधार


– दामोदर पौडेल

विचारको लडाइँ विचारबाटै जित्ने परिपाटीको नाम लोकतन्त्र हो । यसका युद्धका सबैभन्दा बलिया माध्यम अर्थात् हतियार संवाद, सञ्चार, छलफल, अन्तरक्रिया आदि नै हुन् । लोकतन्त्रमा हार्नेले सधैँका लागि हारेको हुँदैन बरु जित्नका लागि समय पर्खेको हुन्छ । विचारलाई विचारले नै सञ्चारमाध्यम, भेला, भेट आदिबाट हराउने कार्य लोकतन्त्रमा हुन्छ । राम्रो व्यवहारलाई अझ राम्रो व्यवहारले जित्नु पनि सभ्य समाजमा महत्वपूर्ण छ र त्यो लोकतन्त्रबाटै हुन्छ । सच्चा लोकतन्त्रमा जनतालाई कुनै विचारको पक्षमा डर, त्रास वा व्यक्तिगत लोभ र लाभको आधारमा पछि लगाउने मान्यता हुँदैन । तर, जनता सचेत नभए भ्रम दिने कार्य भने हुँदोरहेछ ।

त्यसपछि दलगत व्यावहारिक पक्ष पनि आउँछ । उदाहरणका लागि स्थानीय तहमा उम्मेदवार बनाउने काम दलीय आधारमा गर्ने कि दलको चिह्नभन्दा बाहिर गर्ने भन्ने सवाल, उम्मेदवारको योग्यता आदि व्यावहारिक आधार हुन् । कतिपय व्यावहारिक आधारहरू जनताको चाहनाअनुसार फरक हुन्छन् । राम्रो गर्नेले कुनै पनि आधारलाई सदुपयोग गरेर समाजलाई राम्रो गति दिन्छन् भने राम्रो प्रतिफल दिन नसक्ने राजनीतिज्ञले जुनै व्यवस्था गरे पनि जनतालाई उचित निकास दिन सकेका हुँदैनन् ।

वास्तवमा नै भन्दा लोकतन्त्रमा कुनै एक दलले विचारको आधारमा अर्को दलभन्दा आफूलाई श्रेष्ठ भन्दछ । त्यो दलले अरू दलको भन्दा आफ्नो दलको व्यावहारिक हैसियत राम्रो भएको, आफ्ना नेता तथा कार्यकर्ता असल भएको दाबी लिन्छ । तर, त्यो अमूक दलले त्यसो भनेको आधारमा अर्को दलले भन्दा बढी राजकीय सुविधा लिन, फरक हिसाबले चुनावमा भाग लिन र त्यो दलको पक्षमा सकारात्मक फाइदा दिने अलग हैसियत राख्न पाउँदैन र अर्को दलसँग आफ्नो हैसियत समान हुन्छ र हुनुपर्छ भन्ने व्यवहारमा विश्वास गर्छ । जनताले निश्चित समयलाई दिएको हैसियतबाहेक एक दलको हैसियत अर्को दलको भन्दा फरक नहुने वा फरक सुविधा नपाउने परिपाटी नै लोकतन्त्रको एक आयाम हो भन्दा हुन्छ ।

जनतालाई गुमराहमा पार्न कुनै पनि आधारमा बन्दुक, ब्रेनवास, त्रास, भ्रम, अरूलाई जनतामा जान नदिनेजस्ता व्यवहारसमेत लोकतान्त्रिक हुन सक्दैनन् । जनताले राम्रो कामलाई आधार मानेर मत दिने र दलले गरेको वाचाको आधारमा मतबाटै आफ्ना चाहना पूरा हुन सक्ने विश्वासमा मत दिने र जनताले त्यही आधारमा दलहरूबाट आफ्ना चाहनाअनुसार काम हुने विश्वास लिनु लोकतन्त्रको अर्को मर्म हो ।

लोकतन्त्रमा चुनावमा हार्नेले सधैँको लागि नहार्ने हुँदा त्यो अवस्था लडेजस्तो वा दौडमा पछि परेजस्तो मात्र हो । अर्थात्, दौडमा पछि पर्नु वा लड्नु सधैंका लागि पछि पर्नु वा पल्टनु होइन । आफू पछि पर्नाको कारण र लड्नाको कारण खोज्ने आफ्ना गल्ती सुधार्ने, अर्को पक्षको गल्तीलाई जनतासमक्ष राख्ने, अर्को दलको कामभन्दा आफ्नो काम अझ राम्रो गर्ने योजना दिने, विश्वास दिलाउने र जनतामा राम्रो व्यवहार गर्नेजस्ता विषय लोकतन्त्रमा अपरिहार्य छन् ।

अर्कोतर्फ तानाशाहहरूले पनि लोकतन्त्र, उच्च लोकतन्त्र, जनताको लोकतन्त्र, गरिबको लोकतन्त्र आदिको नाममा जनतालाई भ्रममा पार्ने गरेको अवस्था छ । व्यवहारमा जनताले दुःख पाउने र शासकले फाइदा लिने गरेकोले पछि आएर लोकतन्त्रमा बहुलवादको अवधारणा पनि लोकतन्त्रसँगै आएको छ । बहुलवादले एक दल, एक विचार, एक संस्कृति, एक परम्परा, धर्म आदि अर्कोसँग समान हैसियत हुनुपर्छ, सुविधा पनि सबैले बराबर पाउनुपर्छ र संरक्षण पनि गर्नुपर्छ भन्ने मान्यता राख्छ । तर, बहुलवादमा कुनै हतियारधारी दललाई मान्यता हुने कि नहुने ? नभएमा स्वतन्त्रता भएन कि भन्ने सवाल पनि उठ्ला । त्यसो होइन किनभने सबैलाई त्यही अधिकार दिएमा समाजमा शान्ति हुन सक्दैन र जनताले विचारको आधारमा नभई त्रासको आधारमा दललाई छान्नुपर्ने अवस्था पनि आउँछ । बहुलवादमा त्रास दिनेको स्थान स्वीकार्य हुँदैन । त्रास नदिने, तर लोकतान्त्रिक चुनावको माध्यमबाट नै आफू सत्तामा आएपछि आफ्नो एकदलीय वा एकपक्षीय विचारलाई मात्र आधार मानेर शासन गर्ने मानक राख्नेहरूलाई बहुलवादी राजनीतिमा स्थान दिने कि नदिने भन्ने सवाल पनि उठ्ने गर्छ ।

यो सवाल अहम् र जटिल छ किनभने तानाशाही सोचलाई जनताले नै रुचाएमा, त्यसलाई नै लोकतान्त्रिक मानेमा के गर्ने भन्ने सवालको उत्तर सजिलो पनि छैन । झनै शान्तिपूर्ण किसिमले आफ्नो एकदलीय विचारमा जाने र जनतालाई त्यसमा आकर्षित गर्ने विचारलाई त्यस विचारको प्रवाहको र सङ्गठनको अधिकार दिने कि नदिने ? यो विचारले घुमाएर भए पनि अर्को विचारलाई जबर्जस्ती निषेध गर्दछ । हुन त जनताबाटै अनुमोदित भएपछि कसरी जबर्जस्ती भन्ने सवाल आउँछ नै । यसको उत्तर जनताले कसैको वहकाउमा लागेर आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्न पाउने कि नपाउने भनेजस्तै हो । जनताले चाहेर पनि कतिपय नराम्रा वा जनताको हितविपरीत भनेर स्थापित मान्यतामा मत जाहेर गर्न नपाउने व्यवस्था स्वाभाविक पनि हो । किनभने, हिटलर लोकतान्त्रिक चुनावबाटै सत्तामा आएका थिए । पछि जनता पीडित भएका थिए । लोकतन्त्रमा लोकतन्त्रविरोधीलाई रोक्न नसक्दा हिटलरको कारणले जनताले दुःख पाए, लाखौँले मृत्युवरण गर्नुप¥यो ।

तर, राजनीतिक परिवेशले त्यसो मात्र भन्दैन । जनतालाई लोकतन्त्रवादीहरूले तर्क, तथ्य र व्यवहारबाट लोकतन्त्रलाई नै प्रयोग गरेर तानाशाही सोचलाई रोक्न प्रयास गर्नु सबैभन्दा उपयुक्त हुन्छ । लोकतन्त्र मान्नेहरूले गल्ती गरेको कारणले तानाशाही व्यवस्थाप्रति जनता सकारात्मक भएमा त्यो दुःखद त हो, तर वास्तवमा लोकतन्त्रवादी हुँ भनेर लोकतन्त्रको दुरुपयोग गर्नेहरूको कारणले प्रायः यो अवस्था आउँछ । कहिलेकाहीँ लोकतन्त्रविरोधीहरू राष्ट्रियतासँग आफूलाई जोडेर आउँछन् । कहिले संस्कृति–परम्पराको पक्षमा आउँछन् । जनतालाई तानाशाहीको डरभन्दा आफ्नो आवाज बोलिदिएकाले त्यसको पक्षमा जाने वातावरण बन्छ र प्रकारान्तरमा त्यसको फाइदा जनतालाई हुँदैन । चीनमा जापानी साम्राज्यवाद र अफिमको विरुद्धमा कम्युनिस्टहरू लडे र जनताको समर्थन कम्युनिस्टहरूलाई भयो ।

त्यस्तै भियतनाममा लोकतन्त्रको पक्षमा रहेका भ्रष्टहरूलाई अमेरिकी साथ भएको भन्ने जनमानसमा परेकोले होची मिन्हको नेतृत्वमा कम्युनिस्ट सत्ता कायम भयो । जनताले कम्युनिस्ट विचार ठीक–बेठीकभन्दा पनि राष्ट्रियताको सवाल तथा आफ्ना समस्याबारे बोलिदिनेहरूलाई साथ दिएका थिए । त्यसको परिणाम कम्युनिस्ट व्यवस्था भयो । अहिले भियतनामीहरू अमेरिकी मोडेलमा फर्किरहेका छन् । अर्थात् अमेरिकाले हतियारबन्द युद्धमा कम्युनिस्टसँग हा¥यो । व्यवहारले अमेरिकाले जित्यो वा व्यावहारिकतामा कम्युनिस्ट विचार आफैँमा पराजित भयो ।

तर, लोकतन्त्र भन्दै जनताको हित गर्न नसक्ने परिपाटीको विकास भएमा पीडित जनताको पक्षमा बन्दुकसमेत उठ्ने गरेका छन् । बन्दुक लोकतन्त्रमा नै लोकतन्त्रको विपक्षमा उठ्ने गरेको देखिन्छ । त्यो बन्दुक लोकतन्त्रको विपक्षमा हो कि लोकतन्त्रलाई दुरुपयोग गरिएकाले त्यसको विपक्षमा हो भन्नेबारे विशेषतः लोकतन्त्रवादीहरू प्रस्ट हुन आवश्यक छ ।

लोकतन्त्रको नाममा जनतासँग कर लिने, तर जनताको हितका लागि अपेक्षाकृत काम नहुने कार्य लोकतान्त्रिक हुँदैन । लोकतन्त्र विचारको नाम मात्र होइन डेलिभरी पनि हो । राज्यले देशको राजस्वको ४० प्रतिशतभन्दा कम मात्र साधारण खर्च गरेर अरू सबै रकम विकास र समाजसेवामा लगाउन सक्ने हो भने मात्र लोकतन्त्रमा जनताले व्यावहारिक रूपमा सुखद अनुभव गर्न सक्दछन् । चोरलाई सजाय गर्न अदालत र प्रहरी थप्ने र जागिर दिने होइन, बरु चोरी गर्नेलाई स्वरोजगारीसमेत दिन सक्नु वा उचित व्यवस्था गर्नु महत्वपूर्ण हो ।

विकास र जनकल्याण, विचारको लागि खुला, राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो गर्न नसक्नेहरूलाई उचित सहयोग अत्यन्त महत्वपूर्ण छन् । लोकतन्त्रको अर्को महत्वपूर्ण विशेषता भनेको चुनाव जित्दाजस्तै हार्दा पनि हुने आनन्द हो । हार्दा आफ्ना कमजोरी केलाउने, जनतालाई अर्को पक्षले मूर्ख बनाएर मत लिएमा जनतालाई त्यसतर्फ सजग गर्ने, अर्कोपटक जनतालाई विश्वास दिलाएर जितेर राम्रो काम गर्न थकाई मारेको सम्झनु पनि लोकतन्त्र हो । लोकतन्त्रमा विपक्षीले जित्नै नहुने हो भने किन लोकतन्त्र चाहियो ?

लोकतन्त्रले चुनाव हार्दा आफ्ना कमजोरीहरू केलाउन सहयोग मात्र गर्दैन, बरु अर्को दललाई पनि बढी व्यावहारिक हुन सहयोग गर्दछ । पालैसँग चुनाव जित्ने वातावरण भएमा विकासका लागि उचित प्रतिस्पर्धा मात्र हुँदैन, बरु एउटाले गरेको कामलाई अर्कोले निरन्तरता दिने प्रक्रिया पनि स्थायी हुन्छ । तर, अविकसित देशमा सबै दलहरू खराब भएमा जनतामा खराबहरूको छनोटको बाध्यता हुन सक्छ । कतिपय अवस्थामा बहुदलीय दलहरूका नेताहरू जो आए पनि जनविरोधी काम गर्ने बहुदलीय आतङ्क वा तानाशाहीजस्तो हुन पनि पुग्दछ ।

प्रदूषण नाप्न ल्याइएको मेसिन प्रदूषणको कारणबिग्रेको भन्ने हल्ला चल्दछ । वास्तवमा बाढी रोक्न राखिएको सामग्री बाढीले नै बगाउँछ । जनताको हितका लागि लोकतन्त्र भने पनि प्रशासन, दलहरू, नेताहरूका कमजोरीहरूले गर्दा लोकतन्त्र नै नराम्रो देखिन पुग्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले नै घुस खाए भने भ्रष्टाचारको अन्त्य कसरी हुन सक्छ ?