भागबन्डा गर्ने पक्षमा म छैन ः सुशील कोइराला

भागबन्डा गर्ने पक्षमा म छैन ः सुशील कोइराला


नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति सुशील कोइराला एक साताको अस्पताल बसाइपछि उहाँकै निवास महाराजगन्जमा आराम गरिरहनुभएको छ । घर फर्केलगत्तै उहाँ पार्टीलाई कसरी अघि बढाउने भन्ने छलफलमा जुट्नुभएको छ । कसैको दबाबमा भन्दा पनि महाधिवेशनको म्यान्डेटअनुसार अगाडि बढ्ने योजनामा उहाँ हुनुहुन्छ । सभापति कोइरालासँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको प्रमुख अंश ः
० अब कतिपटक परिणामविहीन चुनाव गरिरहनु उपयुक्त होला?
– अहिलेकै अवस्थामा प्रधानमन्त्रीको निर्वाचनबाट काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिए मुलुक राजनीतिक र संवैधानिक शून्यतामा जान्छ । काङ्ग्रेसले विधि, नियम र प्रक्रियाबाहिर गएर उम्मेदवारी फिर्ता लिने कुरा आउँदैन । जारी प्रक्रिया निष्कर्षमा नपुगेसम्म काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिने कुनै सम्भावना छैन । जबसम्म संसदले यो कुरा टुंगो लगाउँदैन तबसम्म काङ्ग्रेस पछि हट्दैन ।
० माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गर्नुभएको छ नि –
– माओवादीले सरकारमा पुग्न सधैं छक्याउने र झुक्याउने राजनीति गरिरहेको छ । प्रचण्डको अभिव्यक्ति सुन्दा उहाँ मुलुकलाई अनिश्चितता र अस्थिरतातर्फ लगेर आफ्नो अन्तरि्नहीत स्वार्थ पूरा गर्ने षडयन्त्रमा हुनुहुन्छ भन्ने लागेको छ । उहाँ शान्ति प्रक्रिया र संविधान निर्माणलाई अल्झाएर खेल्न खोज्दै हुनुहुन्छ । सहमति नै गर्ने हो भने प्रचण्डले विगतमा गरेका सबै सहमतिको इमानदारीपूर्वक पालना गर्नुपर्छ । म प्रचण्डको बोलीमा विश्वास गर्दै गर्दिन ।
० एमाले अध्यक्ष झलनाथ खनालको कुरा तपाईंलाई कस्तो लागिरहेको छ –
– माओवादीको यस्तो कुरा एमाले अध्यक्ष खनालजीले किन नबुझ्नु भएको हो, मलाई अचम्म लागेको छ । अब झलनाथजीले पनि जिम्मेवारी बोध गरेर काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्छ । त्यो नै अहिलेको अपरिहार्य आवश्यकता हो । एमालेले पहिल्यै निर्णय गरिदिएको भए आज माओवादीले यसरी खेल्न पाउने थिएन । र, मुलुकमा तीन महिनासम्म कामचलाउ सरकार रहिरहने अवस्था आउने थिएन ।
० एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल त काङ्ग्रेसकै पक्षमा देखिनुभएको छ नि –
– हो, प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काङ्ग्रेसबारे दिएको अभिब्यक्ति मलाई राम्रो लागेको छ । तर, सहमतिका नाममा मुलुकलाई आलटाल र भ्रममा अल्झाएर मुलुकलाई शून्यतामा लैजाने प्रयास मुलुकका लागि घातक बन्न सक्छ । माधवजीले जुन कुरा बोल्नुभएको छ, त्यो कुरा नै पार्टीले निर्णय गर्नुपर्छ । काङ्ग्रेसको उम्मेदवारलाई जिताउन एमालेले सहयोग गर्नुपर्छ ।
० माओवादी र एमाले नेतृत्वले त काङ्ग्रेस सहमतिमा आउनुपर्छ भनिरहेका छन् नि –
माओवादी र एमालेले सहमतिको नाममा काङ्ग्रेसलाई होच्याउने प्रयास गरिरहेका छन् । प्रजातान्त्रिक पार्टीलाई यसरी होच्याउन मिल्दैन । काङ्ग्रेस विधिको शासनभन्दा बाहिर जाँदैन । सहमति के का लागि?हामी सहमतिका पक्षमा छौं तर शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन माओवादीले जिम्मेवार भूमिका निर्वाह गर्छ भने जे गर्न पनि तयार छौं । काङ्ग्रेसका लागि प्रधानमन्त्री होइन, शान्ति, लोकतान्त्रिक संविधान लेखन ठूलो कुरा हो ।
० सहमतिको सरकार बनाउने कुरालाई कसरी नराम्रो भन्ने र –
– विगतमा सहमतिका लागि समय हुँदा माओवादीले अर्घेलो थापेर सहमतिको सरकार बन्न दिएन । एमाले-माओवादी गठबन्धन नेपाली काङ्ग्रेसलाई एक्ल्याउने योजनाअनुरुप बनेको हो । त्यो कुनै हालतमा सफल हुँदैन । यदि उनीहरु मिलेर सरकार बनाउँछन् भने काङ्ग्रेस प्रतिपक्षमा बस्न पनि तयार छ ।
० तपाई. सभापति भइसकेपछि पनि पार्टीभित्र फेरि भागबन्डाको कुरा आएको छ के गर्नुहुन्छ?
– भागबन्डाको कुरा किन भइरहेको छ?मलाई अचम्म लागेको छ । महाधिवेशनमा कार्यकर्ताले मलाई म्यान्डेट दिइसकेका छन् । अब महाधिवेशनको म्यान्डेटबाहिर जाने कुरा आउँदैन । कसरी पार्टीलाई अगाडि बढाउनु पर्छ र सबैलाई कसरी समेट्नु पर्छ भन्ने कुरा मलाई थाहा छ । म सबै साथीहरुसँग छलफल गरिरहेको छु । अब काङ्ग्रेस म्यान्डेटअनुसार सशक्त र प्रभावकारी रुपमा अघि बढ्छ । म संगठन सुदृढ गर्ने देशव्यापी अभियानमा लाग्छु ।
० केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मनोनयन कसरी हुन्छ त –
– यसबारे म पार्टीभित्र छलफल गरेर निर्णय लिन्छु । कसैले यति प्रतिशत उति प्रतिशत भनेर भाग खोज्दैमा दिन सकिँदैन । अब पार्टी भागबन्डा र गुट-उपगुटबाट अगाडि बढ्दैन । पार्टीलाई संस्थागत रुपमा अनुशासित बनाएर लैजाने मेरो अभियान हो । त्यसलाई सहयोग गर्न म सबैलाई आग्रह गर्छु ।
० अर्को पक्षले त उपसभापति र महामन्त्री मागेको रहेछ नि –
– कसले के मागेको छ, मलाई थाहा छैन । अब भागबन्डा गर्ने पक्षमा म छैन । पार्टीमा जसको जहाँ आवश्यकता छ त्यसलाई उचित जिम्मेवारी दिइन्छ । अब पार्टीमा कसैलाई काखा कसैलाई पाखा गरिँदैन । तर, महाधिवेशनको म्याण्डेटलाई सबैले स्वीकार गर्नु पर्छ ।
० केन्द्रीय समितिमा शेरबहादुर देउवालाई पनि मनोनित गर्नु होला नि –
– पार्टीलाई शेरबहादुर देउवाजीको सहयोग र आवश्यकता छ । उहाँसँग पनि सरसल्लाह गरेर अघि बढ्छु । काङ्ग्रेस महाधिवेशनको सन्देश लिएर हामी गाउँ-गाउँमा पुग्नुपर्छ र पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ ।