दुवै हातविना जसले विमान उडाइन्

दुवै हातविना जसले विमान उडाइन्


जसको जन्मजात शरीरमा दुवै हात थिएन, उनैले १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाइन् । उच्च आत्मविश्वास र केही गरौँ भन्ने भावनाले ओतप्रोत यी पाइलट हुन् जेसिका कक्स । अमेरिकी नागरिक यिनै जेसिकालाई काठमाडौंमा सम्मान गरिएको छ ।

उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नयाँ वानेश्वरमा रहेको नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)ले जेसिकालाई सम्मान गरेको हो ।

सम्मानका क्रममा ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सदभावना दूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको अभिव्यक्ति दिइन् । सन् २००५ मा विमान उडाउन शुरु गरेकी उनले सन् २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन् ।

विमान उडान क्षेत्रमा मात्र आश्चर्यजनक कार्य गरेको नभई जेसिका अमेरिकन तेक्वान्दो एशोसिएशनकी ब्ल्याक बेल्टसमेत हुन् । एरिजोना विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् ।

सम्बन्धित क्षेत्रका विज्ञहरुले जेसिकाको जन्म नै ‘कठिन’ मध्येको एक मान्दै आएका छन् । विश्वकै लागि उदाहरणीय पात्र रहेकी जेसिकालाई सुरुमा कृत्रिम हात लगाइए पनि चौध वर्षको उमेरदेखि उनले कृत्रिम हातको सहारा छाडी खुट्टाले गाडी चलाउने गर्न थालेकी थिइन् । उनको विलक्षण क्षमताको कथा यत्तिमै सीमित छैन, उनी प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् ।