एनआरएनए अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा

एनआरएनए अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा


पुरुषोत्तम ढकाल (लसएन्जलस) । मिति तोकिएर पनि स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आगामी साता हुने भएको छ । संघको अमेरिकास्थित निर्वाचन समितिले आगामी महिना (सेप्टेम्बर)को ५ र ६ तारिखका दिन अधिवेशन तथा मतदान कार्यक्रम तोकिएको सार्वजनिक गरेको छ ।

अदालतबाट पत्र प्राप्त भएलगत्तै उम्मेदवारको संशोधित र अन्तिम सूची पनि सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी गराएको छ । समितिले यसपटकको निर्वाचनमा अनलाइन प्रणालीमार्फत मतदान गर्ने व्यवस्था गरेको छ ।

यसअघि एनआरएनए अमेरिकाको निर्वाचन मिति अगष्टको दोस्रो साता तोकिएको थियो तर उम्मेदवारको विवादका कारण अध्यक्ष उम्मेदवार गौरीराज जोशी र महासचिव उम्मेदवार पूर्ण बानियाँले मुद्धा दायर गरेपछि टेनेसी अदालतले तत्काल निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेससँगै निर्धारित मितिको निर्वाचन स्थगन भएको थियो । अदालतमा दायर गरिएको मुद्धा वादी पक्षले फिर्ता लिएपछि स्थगित भएको निर्वाचन कार्यक्रम निर्वाचन समितिले हिजो बुधबार सार्वजनिक गरेको हो ।

अनलाइन मतदानबाट निर्वाचन सम्पन्न हुने भएकोले मतदानलगत्तै निर्वाचन नतिजा सार्वजनिक गरिने समितिले जनाएको छ ।