एनआरएनए नेतृत्वका लागि कांग्रेसनिकट प्रवासी नेपालीको छुट्टै समूह मैदानमा

एनआरएनए नेतृत्वका लागि कांग्रेसनिकट प्रवासी नेपालीको छुट्टै समूह मैदानमा


पुरुषोत्तम ढकाल (लसएन्जलस) । गैरआवाशीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न काठमाडौं विश्व शिखर सम्मेलनमा कांग्रेसनिकट रहेका प्रजातन्त्रवादी प्रवाशी नेपालीहरुले संघको २०१७-१९ कार्यकालअन्तर्गतको केन्द्रिय नेतृत्वका लागि सम्पूर्ण पदमा उम्मेदवारी दिने भएका छन् । संघको नेतृत्वमा रहेकाहरुले आफ्नो लगानी सुरक्षित गर्दै व्यापारिक उद्देश्य पूर्तिका लागि संघ उपयोग गर्दै आएको र विदेशमा बसोबास गरिरहेका नेपालीहरुको मुद्धामा संघ स्थापनाको १५ वर्ष पुग्दासम्म कुनै नीति र योजना सार्वजनिक गर्न नसकेको भन्दै नेपाली कांग्रेसनिकट प्रवासी प्रजातन्त्रवादीहरुको तर्फबाट संघको केन्द्रिय नेतृत्व दाबी गर्दै सम्पूर्ण पदमा उम्मेदवारी दिने तयारी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत महिना नेपाली जनसम्पर्क समितिका नेताहरुसंगको भेटमा एनआरएनएको केन्द्रिय नेतृत्वको लागि सर्वसम्मत उम्मेदवार चयन गर्न निर्देशन दिएको स्रोतको दाबी छ । संयुक्त अरब इमिरेट्स (युएई)मा बसोवास गर्दै आएका नेपाली कांग्रेस महासमिति सदस्य चित्र केसीका अनुसार एनआरएनए अभियानमा सहभागी प्रवासी नेपालीहरुमध्य ७० प्रतिशत नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिका नेता कार्यकर्ता रहे पनि संघको नेतृत्वमा ब्यापारी र कम्युनिष्टहरुले नेतृत्व हत्याउँदै आएको हुँदा यसपटक एनआरएनएको केन्द्रिय नेतृत्वको लागि नेपाली कांग्रेस निकट प्रवासी प्रजातन्त्रवादीहरुको समूहले सम्पूर्ण पदमा उम्मेदवारी दिने आन्तरिक तयारी पुरा भैसकेको छ ।

प्रधानमन्त्री देउवाले पार्टीको तर्फबाट एनआरएनएको केन्द्रिय नेतृत्वको लागि उम्मेदवारी तय गर्ने जिम्मेवारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रिय सदस्य प्रकाशशरण महत, नेपाली जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ, अमेरिकाका अध्यक्ष आनन्द विष्ट र चित्र केसीलाई दिएका छन् । स्रोतले दिएको जानकारी अनुसार मध्यपूर्व, मलेसिया, जापान, बेलायत र बेल्जियमबाट माओवादी केन्द्रनिकट प्रवाशी नेपालीको समेत प्रतिनिधत्व हुने हुँदा नेतृत्वमा उनीहरुलाई समेत समेटिने गरी नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी प्रवासी नेपालीहरुको समूहबाट संघको केन्द्रिय नेतृत्वमा उम्मेदवारी तय गरिएको छ ।

भरपर्दो स्रोतले दिएको जानकारी अनुसार राष्ट्रसंघीय महासभामा भाग लिन आगामी महिना सेप्टेम्बरमा अमेरिका आउने तयारीमा रहेका प्रधानमन्त्री देउवाले न्युयोर्कमा रहँदा पार्टीको तर्फबाट एनआरएनएको केन्द्रिय नेतृत्वको लागि सम्भावित उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिनुहुनेछ ।

नेपाली कांग्रेसका एक केन्द्रिय नेताका अनुसार प्रधानमन्त्री देउवाले कांग्रेसनिकट रहेका प्रजातन्त्रवादी प्रवासी नेपालीहरुको तर्फबाट संघको केन्द्रिय नेतृत्वका लागि अमेरिकानिवासी कानुन ब्यवसायी खगेन्द्र जिसीको नेतृत्वमा युरोप, अमेरिका, मध्यपूर्व, एशिया र अष्ट्रेलिया समेट्ने गरी उम्मेदवारी चयन गर्न निर्देशन दिएका छन् । हामीलाई प्राप्त खवर अनुसार खगेन्द्र जिसीको नेतृत्वमा संघको केन्द्रिय नेतृत्वको उम्मेदवारीका लागि उपसभापतिमा बेलायतबाट हेमराज शर्मा वा लक्ष गुरुङ र महिला सभापतिमा बेल्जियमबाट जानुका गुरुङको नाम चर्चामा रहेको छ भने महासचिवमा, बलराम श्रेष्ठ (जापान), सुरेन्द्र श्रेष्ठ (बेलायत), माओवादी केन्द्रको तर्फबाट विश्व आदर्श पण्डित (बेलायत), केशव पौडेल (अमेरिका), चित्र केसी (दुबई) र रन्जु थापा (अष्ट्रेलिया)को नाम चर्चामा रहेको छ ।

यसैगरी सचिव पदका लागि चिरिन्जीवी ढकाल बेलायत, चिरन्जीवी थापा जापान र सोम सापकोटा डेनमार्कको नाम अगाडि सारिएको छ भने कोषाध्यक्ष पदका लागि कुल गुरुङ हंगकंगको नाम चर्चामा रहेको छ । यसैगरी महिला संयोजकमा जानुका सापकोटा बेल्जियम र युवा संयोजकमा हरेन्द्र ओनेम सम्भावित उम्मेदवारको सूचीमा परेका छन् । यसैको तयारीस्वरुप सभापति देउवाले अमेरिका निवासी खगेन्द्र जिसीलाई नेपाल सरकारको गैरआवाशीय मामला सल्लाहकार नियुक्त गरेको स्रोतको दावी छ ।

उता संस्थापक एवं ब्यापारीहरुको समूहबाट नेकपा एमालेले यसपटक संघको केन्द्रिय नेतृत्वको लागि कमल थापाको राप्रपा नेपालनिकट जापान निवासी भवन भट्टको नेतृत्वमा कामरेड कुमार पन्त उपाध्यक्ष, वर्तमान अध्यक्ष शेष घलेकै श्रीमती जमुना घले महिला उपाध्यक्ष, सोनाम लामा उपाध्यक्ष कमरेड बद्री केसी महासचिव र शेष घलेनिकट त्रिलोक गुरुङलाई कोषाध्यक्ष र कमरेड अर्जुन श्रेष्ठ सचिव रहेको समूह तयार गरेको छ ।

स्मरण रहोस्। आफ्नो लगानी र ब्यापारलाई सुरक्षित गर्न रसियामा रहेका ब्यापारीहरुको समूहले एमालेसंगको सहकार्यमा सिन्डिकेटमा चलाउँदै आएको संघको नेतृत्वलाई संस्थापनकै सहयोगमा नेतृत्वमा उदाएका अष्ट्रेलियाका धनाढ्य शेष घलेले नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिको समर्थनमा चुनौती दिने कोशिस गरेको भए पनि यसपटक भने नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समितिको पहलमा प्रजातन्त्रवादी समूहको प्यानल नै संघको आगामी नेतृत्वका लागि चुनावी दौडमा उतार्ने भएको छ ।