बेलायतवासी नेपाली समुदायबीच मौलिक संस्कृति प्रर्दशन (फोटो-फिचरसहित)

बेलायतवासी नेपाली समुदायबीच मौलिक संस्कृति प्रर्दशन (फोटो-फिचरसहित)


– प्रकाश के.सी. (लण्डन)

बेलायतको लण्डनस्थित केम्प्टन रेसकोर्श पार्कमा हरेक वर्षजस्तै यो वर्ष पनि उत्तिकै उल्लासपूर्ण वातावरणमा नवौँ नेपाली मेला सम्पन्न भएको छ । बेलायतको सबैभन्दा ठूलो संस्था तमू धीं यूकेले आयोजना गरेको हिजो आइतबारको सो कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट नेपालीहरूको सहभागिता रहेको थियो ।

तमू धीं यूकेका अध्यक्ष ज्ञामबहादुर गुरुङको सभापतित्व र बेलायतका लागि नेपाली दूतावासका राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतीथ्य तथा गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्ष शेष घलेको विशेष आतीथ्यलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतीथ्यमा कार्यक्रमको औपचारिक चरण सम्पन्न भएको थियो ।

नेपालीका आ–आफ्ना मौलिक संस्कृतिको जगेर्ना गर्ने र सोको प्रदर्शनी गर्ने तथा विविध सांस्कृतिकताको प्रदर्शनी भेषभुषालगायत खानपिन पस्कने मूल ध्येय राखिएको नेपाली मेलाको नवौं संस्करणमा व्यापारिकताको ज्यादा प्रदर्शनी खासगरी मौलिक खानपिनको बेचबिखन गरिने स्थानमा देखिएको थियो । नेपालीहरूको भौगोलिक विविधताले ल्याएको विविध सांस्कृतिकताको प्रदर्शनी एकअर्कालाई देखाउने तथा हेर्ने खालको प्रतिस्पर्धा लाग्ने खालले पनि झाँकीहरु देखिएका थिए, जसलाई अवलोकन गर्न आम स्थानीय समुदायबाट दर्शकको सहभागिता नहुनु दुःखद पक्ष थियो भने, बेलायती आमनेपाली समुदायमा जातजाति तथा क्षेत्रगत रुपले विविधता जनाउने धेरै पक्षहरुको कार्यक्रममा सहभागिता देखिएको थिएन । सहभागी दर्शकहरुले नेपाली संस्कृतिको प्रदर्शनीमा मुख्यगरी नेपालको पश्चिमी क्षेत्रहरु मात्रै र गुरुङ संस्कृतिहरु नै ज्यादा देखिनुमा आफ्नो संस्कृतिको प्रवर्धन गर्न विशेषगरी गुरुङ समुदायहरु मात्रै ज्यादा सम्वेदनशील रहेको आभास भएको थियो ।

लगभग दशौं हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको भए पनि आधाभन्दा कम दर्शकको सहभागिता भएको अनुमान गरिएको उक्त कार्यक्रममा कार्यक्रमपूर्व हल्ला फिँजाइएअनुसारका विशिष्ट व्यक्तित्वहरुको त्यत्तिको सहभागिता थिएन । तमू धीं यूकेबाट आयोजित नेपाली मेला, गुर्खा कपपछिको विशाल कार्यक्रम हो र संधैकै जसरी यस कार्यक्रम पनि सफल रहेको छ ।

नेपाली समुदायहरुको बेलायतमा बसोबास भएको दशकौं बितेको छ । यहाँ पारम्परिकतामा खासगरी नयाँ पुस्ताहरु पूर्ण रुपमा घुलिएका छन् तर नेपाली मेलामा स्थानीय समुदायहरुबाट एक परिवार वा आआफ्ना साथीसंगीहरु पनि ल्याउन नसक्नुमा मूलधारसँग नेपालीहरुको घुलमिल अझै नभएको, वा आआफ्नै मौलिक परम्परा वा साँस्कृतिकताको साँघुरो दायराभित्र नै नेपालीहरु हराउने क्रमले निरन्तरता लिएको या बेलायती नेपाली युवापुस्ताहरुको सहभागिता नेपाली मेलामा नगन्य रहेको हो भन्ने छुट्याउनु पर्ने बेला आएको छ । नत्र साँस्कृतिकताको मौलिकताको जगेर्नाको प्रयासमा नयाँ र पुराना पुस्ताहरुबीचको समन्वयमा व्यापक दुरी आउने सम्भावना प्रवल देखिएको छ ।