जुद्धशमशेरले यसरी गरेका थिए विपत्तिको सामना

जुद्धशमशेरले यसरी गरेका थिए विपत्तिको सामना


वि.सं. १९९० माघ २ गतेका दिन, सवा दुई बजे नेपाल अधिराज्यभर साथै भारततर्फ पनि अकस्मात् करिब पाँच मिनेटसम्म ७.५ रेक्टरको एकनाससँग ‘महाभूकम्प’ गयो । त्यसपछि पनि सोही दिन र पछि पनि पटकपटक सानो–सानो भूकम्प गइ नै रह्यो । भूकम्पले गर्दा बाटो–घाटो, तार, टेलिफोन सबै बन्द भए । त्यस समयमा ठूलाठूला दरबारहरूमा मात्र ‘रेडियो’ थियो, तर सो पनि बिजुली बत्ती नभइिदनाले ‘चार भञ्ज्याङ’ विश्वदेखि अलग्गै भयो ।
भूकम्प गएको दिन काठमाडौंका तीनै सहरमा जताततै हाहाकार हुन थाल्यो । एकनासको ठूलो स्वर गुन्जिएको सुनिन्थ्यो, आकाशमा बादलझैँ धूलो उडेर साँझ परेझैँ हुन थाल्यो । सबै आतङ्क मानी दौडधुप गरेको मात्र देखिन्थ्यो । श्री ३ जुद्ध सिकारका लागि तराईतर्फ गएका थिए तसर्थ महाभूकम्प साम्य हुना साथै रुद्रशमशेर तुरुन्त टुँडिखेल पुगी खरीको बोटको चौताराबाट विगुल फुक्न लगाए, कारण धरहरा ३ टुक्रा भई भत्कनाले हो ।

भाइ–भारदार, जङ्गी, निजामतीलाई सक्दो सामेल गराई ठाउँठाउँमा अफिसर र सेनाका जवानको टोली बनाउँदै तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरतर्फ भूकम्पमा पर्ने र पुरिने, थिचिनेहरूलाई उद्धार गर्ने, लास झिक्ने, घाइतेहरूलाई हस्पिटल अथवा उद्धार शिविरमा पु¥याउने कार्यको निमित्त खटाई धमाधम पठाउन थाले । टुँडिखेल जनतालाई बस्नका लागि छाडिदिए । आफ्नो चारबुर्जा दरबार हाल ‘निर्वाचन आयोग भवन’को साथै भाइ, छोरा, भतिजाहरूलाई आ–आफ्ना कम्पाउन्ड जनताका लागि बस्न छाडिदिन आग्रह गरे, साथै जनताका निमित्त सक्दो रसदको व्यवस्था र बच्चाहरूको निमित्त दूधसमेतको सक्दो प्रबन्ध मिलाए । छाप्रोझैँ गरी बनाएर बस्नका लागि जनतालाई सरकारी टिन (कर्कटपाता) जरुरतअनुसार बाँडिदिए । उपस्थित सबै भाइ–भारदारलाई पनि टिन (कर्कटपाता) को साथै सक्दो रसद, दूध इत्यादि जे–जे सकिन्छ जनतामा वितरण गर्न अनुरोध गरे । रातमा चोरी गर्ने र नाजायज फाइदा उठाएको सूचना पाएकाले ‘कफ्र्यु’ लगाए, साथै प्रहरीलाई शङ्का लागेमा गोली चलाउनु भन्ने उर्दीसमेत दिइयो ।

केही सेनाका जवानले आफ्ना आमा–बाबु, जहान बच्चाहरू भूकम्पबाट पुरिएकाले अथवा मृत्यु भई किरियाकर्मका लागि जान पाऊँ भनी बिदा मागेकाले त्यस्तालाई रुद्रशमशेरले बिदा दिई छोडिदिए । तर, पछि पद्मशमशेरले यस्तो महामारीको अवस्थामा बिदा दिई छोडिबक्सन हुँदैन भनी विरोध गरेकाले प्रधानसेनापति ‘मुख्तियार’ रुद्रशमशेरले पनि जङ्गीतर्फ अर्थात् सेनातर्फका सम्पूर्ण कार्य जङ्गीलाठ पद्मशमशेरकै जिम्मा लगाइदिए, अब सेनाका जवानहरूमध्ये जो पहिले बिदा पाउनेहरूले बिदा पाए पछि बिदा माग्नेहरूले बिदा पाएनन्, यस कार्यको नीतिले गर्दा पद्मशमशेरलाई सेनाका जवान अफिसरहरू धेरैले घृणाको दृष्टिले हेर्न थाले ।

श्री ५ महाराजाधिराजको नारायणहिटी राजदरबार भत्केर श्री ५ त्रिभुवनका दुई राजकुमारीको मृत्यु भयो भने श्री ३ जुद्धका नातिनी कर्णेल विक्रमशमशेरकी छोरीको पनि भूकम्पबाट मृत्यु भयो । उपरोक्त सबै मृतकको समेत व्यवस्था मिलाई सिकार सवारीतर्फ गएका श्री ३ जुद्धलाई महाभूकम्प विषयको यथार्थ सूचना लेखी, आफूले गरेको सम्पूर्ण कार्य व्यवस्थासमेतको जानकारी दिएर पत्र लेखी पठाउन रुद्रशमशेरलाई समय लाग्यो ।

(पुरुषोत्तम शमशेर जबराको ‘श्री ३ हरुको तथ्य वृत्तान्त’बाट)