‘इन्टा’को अध्यक्षमा ओलम्पियन लामा

‘इन्टा’को अध्यक्षमा ओलम्पियन लामा


– दीपक विष्ट (अमेरिकाबाट)

इन्टरनेशनल नेप्लीज तेक्वान्दो एसोसियसन (इन्टा)को साधारणसभा अमेरिकाको पोर्टल्याण्ड ओरिगीनमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघका सदस्य तथा कीर्तिमानधारी तेक्वान्दोे खेलाडी दीपक विष्टको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त साधारणसभाले ओलम्पियन विधान लामाको नेतृत्वलाई निरन्तरता दिएको छ ।

विधान लामाले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ओलम्पिक खेलमा तेक्वान्दोमा काश्यपदक जितेका थिए । सोल ओलम्पिकमा तेक्वान्दो खेललाई प्रदर्शन खेलको रूपमा सहभागिता गराईको थियो । नेपालले ओलम्पिक खेलमा अहिलेसम्म जितेको यो नै एउटा मात्र पदक हो । लामाले अध्यक्षको जिम्मेवारी पाएलगत्तै आगामी कार्यकालको नीति तथा कार्यक्रमको घोषणा गरिएको थियो ।

सो साधारणसभाले सन् १९९८ मा थाइल्याण्डको बैङ्ककमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाउन सफल सविता राजभण्डारीलाई संघको प्रथम उपाध्यक्षमा चयन गरेको छ । सविताले एसियाडमा रजत पदक जित्दा नेपाली खेलकुद टोलीको नेतृत्व तत्कालीन खेलकुदमन्त्री तथा वर्तमान नेपाली कांग्रेसका सांसद पूर्णवहादुर खड्काले गरेका थिए । सविताले नेपालमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)मा पनि स्वर्ण पदक जितेकी थिइन् ।

त्यस्तै बैङ्कक एसियाडमा काँश्यपदक विजेता सपना मल्ल, अच्युत बास्कोटा र आठौँ साफमा स्वर्ण पदक विजेता कमल क्षेत्री उपाध्यक्षमा चुनिएका छन् । इन्टाको महासचिवको जिम्मेवारी नारायण गुरुङले पाएका छन् । गुरुङ ओलम्पियन खेलाडी हुन् । उनले सन १९९२ मा स्पेनको बार्सिलोनामा सम्पन्न ओलम्पिक खेलमा तेक्वान्दो खेलतर्फ सहभागिता जनाएका थिए । यसैगरी पाकिस्तानमा सम्पन्न नवौँ सागमा स्वर्ण पदक विजेता निर्मल श्रेष्ठले सह–महासचिवको जिम्मेवारी पाएका छन् । बैैङ्कक एसियाडका काँश्यपदकधारी तथा आठौँ साफका स्वर्ण पदकधारी किशोर श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको छ ।

त्यस्तै उक्त साधारणसभाले रेणुका मगर र रीतु जिमी राईलाई सदस्यमा चयन गरको छ । यी दुवैले सन २००२ को बुसान एसियाडमा काँश्य पदक जितेका थिए । यसैगरी वन्दना श्रेष्ठ र निरन्जन श्रेष्ठ पनि सदस्यमा चुनिएका छन । उनीहरु आठौँ र नवौँ सागमा स्वर्ण पदक जित्ने खेलाडी हुन् । अन्तर्राष्ट्रिय खेलाडी पासाङ लामा, पदमा गुरुङग, वीमा राई, पुष्प थापा मगर, कल्पना क्षेत्रीलाई सो साधारणसभाले नवनिर्वाचित कार्यसमितिको सदस्यमा चयन गरको छ ।

नवगठित कार्यसमितिको बैठकले नेपालका बाढी पीडितहरुलाई दुईलाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिले निरन्तर रूपले पीडितलाई यथासक्य राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । साथै इन्टाको सहयोगमा आयोजना हुँदै आएको माउण्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) अफिसियल जिवान प्रतियोगिता बनेकोमा खुशी व्यक्त गरिएको थियो । आगामी दिनमा पनि यस प्रतियोगितालाई सहयोग गर्ने र तेक्वान्दोको विकासमा नेपाल तेक्वान्दो संघसंग सहकार्य गर्ने निर्णय गरेको छ ।