बाढी-पहिरो देखाएर २५ प्रतिशत मूल्यवृद्धि

बाढी-पहिरो देखाएर २५ प्रतिशत मूल्यवृद्धि


भारी वर्षापछि देशभर गएको पहिरो र बाढीका कारण राजमार्ग बन्द भएको मौका छोप्दै केही व्यापारीले कृत्रिम अभाब पैदा गर्नुृको साथै आफुखुशी मुल्यबृद्धि गरेका छन् । व्यापारीले सिन्डीकेट गरेका कारण बजारमा उपभोक्ताले थेग्नै नसक्नेगरी मुल्य बढेको छ । वर्षाले बाटो भत्किएर बजारमा सामान नआएको भन्दै व्यापारीले रातारात मुल्यबृद्धि गरि तरकारी लगायत अत्याबश्यक सामान बिक्री वितरण गर्न थालेका हुन ।

बिक्रीमा राखिएका तरकारीमध्ये आलु प्रतिधार्नी १०० रुपैयाँ, गोलभेडा ठूलो प्रतिकेजी १०० रुपैयाँ, घिउसिमी प्रतिकेजी १ सय २० रुपैयाँँ, बन्दा प्रतिकेजी ६०, घिरौला प्रतिकेजी १०० रुपैयाँ, तिते करेला प्रतिकेजी ६०, लौका प्रतिकेजी ८०, पाकेको फर्सी प्रतिकेजी ७०, मूला प्रतिकेजी ४०, स्कुस ६५ र काँक्रो प्रतिकेजी ९० रुपैयाँ मूल्य तोकी बिक्री वितरण हुदै आएको छ ।

तर उपभोक्ताहरुले बजारमा सहजै उपलव्ध सामाग्रीको पनि बाढी पहिरोको कारण देखाई व्यापारीले आफुखुशी मुल्यबृद्धि गरेको आरोप लगाएका छन् ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा बजारमा दैनिक ८ सय ५० टनको हाराहारीमा तरकारी भित्रिने गरेकोमा शनिबारदेखि दैनिक करिब ३ सय टन मात्रै तरकारी भित्रिएको छ । उपत्यकावासीको मागको ७० प्रतिशत कम मात्रै तरकारी आयात हुनु र आएको तरकारी पनि पानीले बिग्रेका कारण मुल्य आकासिएकोे दाबी गर्दै समितिले व्यापारीकै पक्षपोषण गरेको छ ।

समितिले सार्वजनिक गरेको तथ्याङक अनुसार दुई साताको बीचमा तरकारीको मुल्यमा १ सय ४० प्रतिशतसम्म महँगिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले देशैभरि लगातारको वर्षापछि आएको बाढी र पहिरोले सडकमा क्षति पुगेपछि काठमाडौँमा तरकारी आपूर्ति घटेर भाउ आकासिनु कुनै नौलो कुरा नभएको बताएका छन् ।

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आइरहेको छ ।  व्यवसायीले बजार मुल्य बढ्नुमा बजारमा माग अनुसार आपुर्ति हुन नसक्नुलाई देखाउदै मुल्यबृद्धि गर्नु परेको दाबी गरेका छन् । खुद्रा व्यापार संघका अनुसार खाद्यान्नमा २५ प्रतिशतसम्म मुल्य बढेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले उपभोक्ताले थग्नै नसक्ने गरी महंगी बढेको बताएका छन् । बजारमा अस्वाभाविक रुपमा मुल्यबृद्धि हुँदापनि सरकारी निकायले भने सो सम्बन्धमा कुनै चासो राखेको छैन । अस्वाभाविक बढेको मुल्यबृद्धि नियन्त्रण गर्न सरकारी निकायमा उजुरी गर्दा त्यसको सुनुवाई हुन नसकेको तीतो अनुभब मर्हजनले पोखेका छन् । कालाबजारी, कृत्रिम अभाव, मिसावट गर्ने व्यापारीलाई तत्काल कारबाही नहुँदा बजार व्यवस्थित बन्न सकेको छैन ।