रहनुभएन किसुनजीकी भाउज्यू

रहनुभएन किसुनजीकी भाउज्यू


नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी)की जेठी भाउज्यू शारदादेवी भट्टराईको देहावशान भएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार कांग्रेसका संस्थापकहरु मध्येकै स्व. गोपालप्रसाद भट्टराई र किसुनजीकी जेठी भाउज्यू शारदादेवी भट्टराईको ९० वर्षको उमेरमा यही साउन २४ गते मंगलबार विहान विराटनगर कन्चनबारीस्थित आफ्नै निवासमा देहावशान भएको हो ।

शारदादेवीको निधनको जानकारी दिँदै स्व. गोपालप्रसाद भट्टराईका सुपुत्र विनोदकुमार भट्टराईले आफ्ना काका कृष्णप्रसाद र पिता गोपालप्रसादले सधैं ‘ठूली भाउज्यु’ भनी सम्बोधन गर्दै आउनुभएको सुने-देखेकोले पछिल्लो पुस्ताका सबैले आफ्नी ठूलीआमालाई ‘ठूली भाउज्यू’ भनी पुकार्ने गरेको सन्दर्भ खुलाउनुभयो ।

स्वर्गीय शारदादेवी भट्टराई परिवारका अघिल्लो पुस्ताका चार दाजुभाइ बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसादमध्ये जेठा बटुकप्रसाद भट्टराईकी अर्धाङ्गिनी हुनुहुन्थ्यो । वहांको देहावशानपछि भट्टराई परिवारको अघिल्लो पुस्ताको एक मात्र जीवित धरोहरले पनि विश्राम लिएको भन्दै भट्टराईले शोक व्यक्त गर्नुभएको छ ।

किसुनजीले आफ्नो जीवनी पुस्तकमा ‘ठूली भाउज्यू’को बारेमा पनि उल्लेख गर्नु भएको छ । ठूली भाउज्यूले आफूपछाडि एक छोरा (अशोक) र दुई छोरीहरु (मीना र उषा), तीन नाति, पाँच नातिनीहरु तथा पाँच पनातिनीहरु छाडेर जानुभएको भट्टराईले जनाउनुभएको छ ।