नेपाली राजनीतिमा युवा आरक्षणको सवाल

नेपाली राजनीतिमा युवा आरक्षणको सवाल


– चन्द्रभुषण साह

हरेक नीतिको मुल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ, तर यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मुल संगठनमा युवाहरुको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग शुन्य छ भन्दा खासै आपत्ति नहोला । विगतदेखि वर्तमानसम्म देशका हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी सक्रिय सहभागितादेखि बलिदानीमा समेत युवा शक्ति परिवर्तनको मुल सम्वाहकको रुपमा आफ्नो भूमिका अग्रपंक्तिमा दर्ज गराएका छन्, तर परिवर्तित अवस्थाको व्यवस्थापक युवा नै भएको उदहारण विरलै पाइन्छ । चाहे त्यो क्रान्तिकारी आन्दोलन अधिकार, पहिचान, विकाश र समृद्धि जेसुकैको नाममा किन नहोस् ?

वर्तमान समयमा नेपालमा आरक्षण शब्दसंग नै एलर्जी हुने विद्वान, सामन्ती र शोषक मित्रहरुलाई भन्नु खासै केही छैन तर काम गर्ने कालु मकै खाने भालु भनेजस्तै रास्ट्रका सच्चा पहरेदार, परिवर्तनका हिम्मायती, जोश र जाँगरले भरिपूर्ण, क्रियाशील, आधुनिकीकरणलाई अँगाल्न सक्ने र भविष्यलाई नयाँ सोच एवम् कार्य दिशा प्रदान गर्न सक्ने देशको अग्रगमनको लागि कुल क्रियाशील जनसंख्याको लगभग ८५ प्रतिसत भन्दा बढी रहेको उर्वर युवा शक्तिलाई राष्ट्रनिर्माणको मुल प्रवाहमा नल्याई उज्ज्वल भविष्यको परिकल्पना गर्नु मुस्किल मात्र हैन लगभग असम्भव नै देखिन्छ ।

नेपालमा अध्यक्षमुखी राजनीतिक पार्टी, जनवर्गीय संगठनको रुपमा युवाको प्रयोग र विगतदेखि वर्तमानसम्मको संसदीय अभ्यासलाई नजिकबाट विचारगर्दा रास्ट्रको माथिलो (उच्च) ओहदामा जस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, संसद जस्ता गरिमामय, जिम्मेवार, अधिकारसम्पन्न, अर्थपूर्ण र प्रभावशाली क्रियाशील पदहरुमा युवालाई खुलेआम घोषित रुपमा नै निषेध गरेको तीतो यथार्थ हामीसामु छरप्रस्ट नै छ । पछिल्ला केहि वर्ष यता तुलनात्मक रुपमा झिनो युवाको सहभागितामा भएको अभिबृद्धिको मुख्य कारण विभिन्न आन्दोलनहरुको माग, चर्को जनदबाब, युवाहरुको सोच र कार्यशैलीप्रतिको बढ्दो लोकप्रियेता र जनविश्वास अनि पार्टीहरुको संगठन निर्माणमा भएको विवशतालाई सकारात्मक सुरुवातको रुपमा भने लिन सकिन्छ तर यसबाट सन्तुष्ट भने कदापि हुन मिल्दैन ।

नेपाली राजनीतिमा युवा आरक्षणको आवश्यकता महसुस हुनुका मुख्य कारण भने हाम्रो पुराना परम्परागत सोच (चिन्तन) र अभ्यासको फलस्वरुप उत्पन्न वास्तविक समाजिक र राजनीतिक परिस्थिति र घोषित तथा अघोषित राजनीतिक निषेध नै रहेको पाइन्छ । किनभने, हाम्रो परम्परागत सोच (चिन्तन)को अभ्यास भएको समाजमा युवालाई एउटा अदक्ष, कमसल (कमजोर), पिछ्लग्गु, अपरिपक्व, होश नभएको, सोझो-तुच्छ जनावर (भेडा-बाँदर) अनुकुलताअनुसारको संज्ञा दिँदै युवामा त्रास र चिन्ता पैदा गराएर युवाको सोच (चिन्तन), शक्ति र सामर्थ्यलाई मोनोपोलाइजेसन गरी सङ्कुचित र कमजोर बनाइन्छ । तर, वास्तविकतामा त्यसको ठिक विपरीत केहि अपवादबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्नो जीवनको उदेश्यको सोच युवा अवस्थामा नै तय गरेको तथा केहि प्रतिकुल अवस्थाको बावजुद नयाँपनको प्रयोग गरी केहि युवा उदहारणीय कार्यबाट विश्वलाई चकित तुल्याउन सफल भएका छन् भने कैयन युवा समाजको मोनोपोलाइजेसन, साथ-सहयोग-सदभाव र विश्वासको कमीले गर्दा पछिल्लो समयसम्मको निरन्तरताले आफूलाई बुढेसकालमा सहि सावित गर्न सफल भएका छन् । यस्तै, केहि युवा पुर्ण रुपमा मोनोपोलाइजेसनमा परि आफ्नो नवीन सोच र सामर्थ्यको भ्रुण हत्या गर्न बाध्य भएको अतीतलाई समाजले खासै लेखाजोखा राख्ने नगरेको कुण्ठित यथार्थ हामीसामु छ ।

उदहारणका लागि हाल नेपाललगयत विश्वका केही अवसर पाएका वास्तविक युवा नेता र उद्यमीलाई मात्र लिएता पनि तिनीहरुले आफ्नो कार्यप्रतिको लगाव, इमान्दारिता, राष्ट्रप्रेम, सहअस्तित्व, सदाचार र सदभाव, आधुनिकीकरणको प्रयोग, आफ्नो सोचमा आफ्नै नेतृत्वदायी भूमिकाको अवसर र नयाँपनको कारण युवा उमेरमै उदहारणको रुपमा स्थापित हुन सफल भएका छन् । जस्तै, गगन थापा (नेपाली कांग्रेस), प्रभु साह (माओवादी केन्द्र), राजकिशोर यादव (राजपा) गोकर्ण विष्ट (नेकपा एमाले), मार्क जुकरवर्ग (फेसवुक), स्टेभ जेभ्स (एप्पल) आदि इत्यादि ।

नेपाली राजनीतिलाई थप कार्यक्रममुखी (क्रियाशील) बनाउनको निम्ति, युवा जमातलाई अपनत्व (आफ्नोपन) महशुस गराउनको निम्ति तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनकालागि समेत यसको अपरिहार्य छ । किनभने, राजनीतिमा युवाहरुको आधुनिकीकरणको प्रयोग जस्तैः अंकगणितीय, तथ्यांकशास्त्रीय, ज्यामितीय तथा अन्य वैज्ञानिक उपकरणहरुको प्रयोगले केहि हदसम्म अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिप्रतिको समाजिक मोह र आदर्शलाई माथि उठाउनका लागि समेत यसको आवश्यकता देखिन्छ ।

यसो भन्दै गर्दा वृद्धहरुको योगदानलाई भने अवमूल्यन गर्न मिल्दैन, किनभने आजको कुनै पनि आबिष्कार र उपलब्धि विगतको संचित उपलब्धिमाथिको एउटा थप (अतिरिक्त) उपलब्धि हो । २१औं सताब्दीका विश्वप्रशिद्ध व्यक्तित्वहरुको जन्म ५औं शताब्दीमा भएको भए यही स्तरको आविष्कारपरिवर्तन गर्ने असक्षम हुन्थे होला ठिक त्यसैअनुसार आजको युवा आफ्ना अग्रजहरुको औला समातेर हिँड्न सिकेका कारण उहाँहरुमा रहेका विद्यमान गुण-विशेषता, कार्यकुशलता, अतीतका अनुभव, सोच र चिन्तनका बारेमा जानकार भइसकेको छन् र थप नयाँपना तथा आधुनिकीकरणसंगको अभ्यासबीचको अनुपम संयोगिक योगबाट भविष्यलाई नयाँ कार्यदिशा प्रदान गर्नसक्ने क्षमता र विचारको भण्डारको रुपमा नेपाली राजनीतिमा युवा आरक्षणको माध्यमले युवाको शक्ति र सामर्थ्यको यथोचित सदुपयोग गर्न सकिन्छ ।

नेपाली राजनीतिलाई थप कार्यक्रममुखी (क्रियाशील) बनाउनको निम्ति, युवा जमातलाई अपनत्व (आफ्नोपन) महशुस गराउनको निम्ति तथा युवाको भावना र कुशल विचारको माध्यमले युवाको भविष्य युवाकै हातबाट सुन्दर, सबल र सशक्त बनाउनकालागि समेत यसको अपरिहार्य छ । किनभने, राजनीतिमा युवाहरुको आधुनिकीकरणको प्रयोग जस्तैः अंकगणितीय, तथ्यांकशास्त्रीय, ज्यामितीय तथा अन्य वैज्ञानिक उपकरणहरुको प्रयोगले केहि हदसम्म अनिश्चिततामा निश्चितता प्रदान गर्न तथा राजनीतिप्रतिको समाजिक मोह र आदर्शलाई माथि उठाउनका लागि समेत यसको आवश्यकता देखिन्छ ।

वर्तमान राजनीतिक परिस्थिति र पृष्ठभूमिलाई मध्यनजर गर्ने हो भने राजनीतिक रुपमा मोनोपोलाइज र सङ्कुचनमा परेका, अर्थिक रुपमा कमजोर, समाजमा क्षमताप्रतिको आशंका, घृणित खेलको रुपमा स्थापित राजनीतिप्रतिको युवा आदर्श र धारणा, अभिभावकको अपेक्षा र प्रचलन जस्ता आधारभूत कारणले गर्दा आमयुवालाई बिना आरक्षण राजनीतिमा न्यायोचित सहभागिता केहि वर्षसम्मको लागि लगभग असम्भव नै देखिन्छ । त्यसकारण आज र अहिल्यैबाट यस पुनित कार्यमा तपाईंहामी लगायत देशको सम्पूर्ण राजनीतिक दल, व्यक्ति, निर्वाचन आयोग, विभिन्न संघसंस्था, बुद्धिजीवी, नागरिक समाज, पत्रकारलगायतका सरोकारवाला व्यक्ति तथा निकायहरुले नेपाली राजनीतिमा युवा आरक्षण विषयमा इमान्दारितापुर्वक खुलेर बहस प्रारम्भगरी यसको न्यायोचित, व्यवहारिक एवम् वैज्ञानिक प्रयोगमाथि जोड दिने बेला भएको छ । किनभने, मुख्यतः बृद्धको अनुभव र युवाको आँकलन तथा वृद्धको होश र युवाको जोशबीचको शक्ति सन्तुलनको निम्ति समेत वर्तमान राजनीतिमा युवाहरुको उच्च नेतृत्व र निर्णय शक्तिकेन्द्रहरुमा पहुँच आवश्यक देखिन्छ ।

(लेखक राजपा नेपालनिकट विद्यार्थी नेता हुन् ।)