चार खेलाडीलाई बंगलादेशमा स्वर्णपदक

चार खेलाडीलाई बंगलादेशमा स्वर्णपदक


सार्क राष्ट्र बंगलादेशमा आयोजित कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका म्याग्दीका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले आफ्नै घरेलू मैदानमा नियमित प्रशिक्षण पाएका बंगालका अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका छन्।

‘निकै उत्साहित छौँ, हामीले गरेको अभ्यासबाट पनि विदेशी भूमिमा उपाधि जित्न सकिने रहेछ’, चन्द्र बुढाले बंगलादेशबाट भने। उनले नयाँ किसिमको कराँते खेल भए पनि आफूहरुले सिकेका आधारमा खेलेको बताए। म्याग्दीमा विद्यालयमा प्रशिक्षणसहित अभ्यास गरेरसमेत राष्ट्रिय तथा सार्कस्तरीय खेलमा उपाधि जितेका बुढाले विदेशमा खेलेको सीपलाई व्यक्तिगत लगानीमा समेत नियमित गर्नुपर्ने बताएका छन् ।

प्रतियोगितामा सहभागी हुन पुगेका बूढाले ६७ केजी, गौरव घर्तीले ६०, प्रज्वल शेरचनले ५० र मार्सल गर्बुजाले ३५ केजी तौल समूहका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । ‘सार्कस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ’, बुढाले भने।

गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलस्तरीय कराँते खेलका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित बुढाले विदेशी खेलाडीसँग खेल्नेक्रममा सिकेको सीपलाई आफूले समेत प्रशिक्षणमा प्रयोग गर्ने बताए। ‘खेलमा सहभागी चारजना खेलाडीले स्वर्णपदक जित्नुलाई जिल्लाको ठूलो उपलब्धिका रुपमा लिएको छु’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उल्लेख गरे ।