फिफा वरियतामा एक स्थान उकासियो नेपाल

फिफा वरियतामा एक स्थान उकासियो नेपाल


विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि १७० औँ स्थानमा रहेको नेपाल १६९ स्थानमा उक्लिएको हो ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औंँ स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ औैँ तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् ।

यस्तै, जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । यसरी जर्मनी दोस्रोमा झरेको छ भने अर्जेन्टिना तेस्रो, स्वीट्जरल्याण्ड एक स्थान सुधार गर्दै चौथो तथा एक स्थान नै सुधार गर्दै पोल्याण्ड पाँचौँ स्थानमा उक्लेका छन् ।

यसैबीच एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विहिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । चौबीस सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्नेछन् । टोलीले जापानमा पाँच मैत्रीपूर्ण खेल खेल्नेछ । यही साउन २९ देखि आगामी भदौ ३ गतेसम्म नेपालले उमेर समूह, विश्वविद्यालय तथा स्थानीय क्लबको टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।