सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध

सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध


– किशोर बुढाथोकी (सिन्धुपाल्चोक)

अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाको महभिरमा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । गएरातीको वर्षाका कारण भोटेकोशी बाढीले कटान गरेको स्थानमा चार फिट सडक भासिँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा काठमाडांै–बाह्रविसे आवागमन रोकिएको छ ।
सडक भासिएको स्थानमा माथिबाट पनि साना पहिरो खसिरहेका छन् । विहानदेखि बाटो अवरुद्ध हुँदा सवारी चल्न नपाएर यात्रु अलपत्र परेका प्रहरीले जनाएको छ । ‘बाटो खोल्न स्काभेटर बोलाएका छौँ,’ इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रम्ख इन्सपेक्टर पञ्चकुमार बाखुले भने, ‘दिउँसोसम्म सडक सुचारु गर्ने गरि काम गर्नेछौँ ।’

गत वर्षको भोटेकोशी बाढीले कटान गरेको सडक मर्मत गरिसकिएको थियो । अहिले फेरि सडक भासिने र पहिरो जाने क्रम नरोकिँदा सडकयात्रामा व्यवधान आइपरेको छ । भूकम्पले हल्लाएर कमजोर बनाएको भूभाग हल्का वर्षा हुँदा पनि झर्ने गरेको बाखु बताउँछन् । भोटेकोशी बाढीले नदि किनारमा कटान गरेर सडकमुनि पनि कमजोर बनाएकाले बेला–बेलामा सडक अबरुद्ध हुने गरेको बताइन्छ ।