कारवाहीमा परेका राणा भन्छन्- सरकारमा गइन्छ !

कारवाहीमा परेका राणा भन्छन्- सरकारमा गइन्छ !


नयाँ पार्टी गठन गरेलगत्तै आफ्नो पार्टी सरकारमा सहभागी हुने धारणा सार्वजनिक गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणा पार्टीबाट निष्कासनमा परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा वरिष्ठ नेताको हैसियतमा रहेका नेता राणालाई कमल थापा नेतृत्वको राप्रपाले निष्कासनको घोषणा गरेको हो । राणासहित ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई पनि पार्टीबाट निष्कासन गरेको राप्रपाले जनाएको छ ।

पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको थापा नेतृत्वको राप्रपाका प्रवक्ता भुवन पाठकले बताएका छन् । यसअघि पनि सो पार्टीले अन्य १९ नेतालाई कारबाही गरिएको जनाएको थियो ।

अकस्मात विभाजनको चोट ब्यहोरेको राप्रपाले आगामी भाद्र मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णय गरेको छ । भदौको पहिलो साता काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता पाठकले जनाए । उनका अनुसार पार्टीले भ्रष्टाचारविरुद्ध विभिन्न तहमा संघर्ष गर्ने छ भने प्रदेश नं २ को स्थानीय तह निर्वाचन तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरिएको छ ।

उता नयाँ पार्टी गठन गरी राजनीतिक तरंग पैदा गरेको राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपालेचाहिँ मुलुकको दीर्घकालीन हितका लागि संविधान संशोधनको पक्षमा रहेको जनाएको छ । मधेशी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेशकेन्द्रित दललाई निर्वाचनमा सहभागी गराउनुपर्ने धारणा समेत अध्यक्ष राणाले अघिसारेका छन् । वर्तमान सरकारलाई समर्थन दिने पार्टी नीति रहेकोले आफूहरु सरकारमा सहभागी हुने राणाको भनाई छ ।