निर्वाचन क्षेत्र भेटिएपछि प्रचण्ड प्रसन्न

निर्वाचन क्षेत्र भेटिएपछि प्रचण्ड प्रसन्न


सुरक्षित निर्वाचन क्षेत्र नपाएर छटपटिएका प्रचण्ड भरतपुर महानगरमा आफ्नी छोरी रेणु दाहाललाई प्रमुख बनाउन सफल भएपछि निकै प्रसन्न हुनुभएको छ । छोरीले निर्वाचनमा विजय हात पारेकोभन्दा पनि उहाँको खुसीको कारण बेग्लै भएको जानकारीमा आएको छ । रोल्पालाई केन्द्र बनाएर हिंसात्मक सङ्घर्ष चलाउने प्रचण्ड खुला राजनीतिमा आएपछि काठमाडौंको कीर्तिपुरबाट संविधानसभाको निर्वाचन लडेर विजयी बन्नुभएको थियो । दोस्रो निर्वाचन (२०७० मङ्सिर) मा कीर्तिपुर र सिराहाबाट चुनाव लड्दा उहाँ कीर्तिपुरमा पराजित भए पनि सिराहाबाट विजयी बन्नुभएको थियो । सिराहामा पनि उहाँको विजयलाई स्वाभाविक मानिँदैन, विशेष प्रपञ्च रचेर उहाँलाई विजयी बनाइएको भन्ने अपुष्ट समाचार त्यतिबेलै सार्वजनिक भएको थियो ।

प्रचण्ड प्रदेश र संसद्को निर्वाचन गराएर आफ्नो चाहनाबमोजिम प्राप्त उपलब्धिहरू संस्थागत गर्न चाहनुहुन्छ र आगामी माघ ७ गतेको समयसीमाभित्रै प्रदेश र संसद्को निर्वाचन गराउन उहाँ कटिबद्ध हुनुहुन्छ । निर्वाचन आउने समय छोटिँदै जाँदा प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्र पहिचान गर्न नसकेर छटपटिनुभएको थियो । भरतपुर महानगरमा काङ्ग्रेसलाई हँसिया–हथौडा चिह्नमा मतदान गर्न ‘बाध्य’ पारेर छोरीलाई विजयी तुल्याएपछि अहिले प्रचण्डको मनोबल निकै बढेको बुझिन्छ । प्रचण्डले अबको संसदीय निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने अब निश्चित भएको छ । ज्ञातव्य छ, प्रचण्ड संसदीय निर्वाचनमा पनि काङ्ग्रेससँग चुनावी तालमेल गर्ने पक्षमा हुनुहुन्छ र चितवनमा उम्मेदवार बन्दा काङ्ग्रेसले समेत आफूलाई मतदान गर्ने विश्वास उहाँमा बढेको पाइएको छ । छोरी महानगर प्रमुख भएकोले चुनाव जित्न अझै सजिलो हुने ठम्याइ प्रचण्डको छ । त्यसैले प्रचण्ड छोरीको विजयले भन्दा आफूले सुरक्षित निर्वाचन क्षेत्र पाउने भएकोले ज्यादा प्रसन्न हुनुभएको छ ।

यसरी निर्वाचन क्षेत्र सुरक्षित तुल्याउने सफलता पाएर प्रचण्ड खुसी हुनुभएको भए पनि माघ ७ गतेभित्र चुनाव गराउन सकिन्छ या सकिँदैन भन्ने विषयलाई लिएर भने उहाँ चिन्तित हुनुभएको बताइन्छ । तराईकेन्द्रित दलहरूलाई चुनावमा सहभागी गराउन संविधान संशोधन हुनुपर्ने अवस्था रहेको, तर संविधान संशोधनको सम्भावना भने तत्काल नरहेकोले चुनाव हुनेमा आशङ्का उत्पन्न भएको हो । प्रचण्ड संविधान संशोधनलाई थाती राखेर भए पनि चुनावमा जाने मानसिकतामा हुनुहुन्छ । तर, तराईकेन्द्रित दलहरू संविधान संशोधन नभएसम्म कुनै हालतमा चुनावमा सहभागी नहुने भएका छन् । तराईकेन्द्रित दलहरूलाई उपेक्षा गरेर चुनाव गराउन कठिन देखिँदै छ र संविधान संशोधन गर्दा हिन्दूराष्ट्रको एजेण्डालाई पनि सम्बोधन गर्नुपर्ने अवस्था आउने कुराबाट प्रचण्ड झनै चिन्तित बन्न पुग्नुभएको छ । निर्वाचनको विषयमा चिन्ता लिएको देखिए पनि आफ्ना लागि चुनाव क्षेत्र भेटिएकोले तत्कालका लागि भने उहाँ निकै प्रसन्न रहनुभएको छ ।