चिनौं काङ्ग्रेसका प्रत्याशीहरू

चिनौं काङ्ग्रेसका प्रत्याशीहरू


ओमकारप्रसाद श्रेष्ठ, ललितपुर
वि.सं. १९९७ सालमा जन्मेर ०१२ सालमा नेपाली काङ्ग्रेसको सदस्यता ग्रहण गर्नुहुने ओमकारप्रसाद श्रेष्ठ पुराना, अनुभवी र एक निष्ठावान काङ्ग्रेस नेताका रूपमा सुपरिचित हुनुहुन्छ । ०१४ सालमा भद्रअवज्ञा आन्दोलनमा सक्रिय सहभागिता जनाएपछि सोही वर्ष पार्टीको सक्रिय सदस्यता हासिल गर्नुहुने ओमकारले ०१५ सालको आमनिर्वाचनमा विशेष सक्रियता दर्शाएर पार्टीको ध्यान आफूतिर खिच्नुभयो भने ०१६ सालमा डेमोक्र्याटिक सोसलिस्ट युथ लिगको गठन गरेर राजनीतिमा थप सक्रियता दर्शाएपछि ०१७ देखि ०१९ सम्म उहाँ भूमिगतसमेत हुनुपर्‍यो । भूमिगतकालमा समेत पञ्चायती निरङ्कुशताको विरोधमा अनेक कार्यक्रम सञ्चालन गरेका कारण ०१९ सालमा उहाँ पक्राउ पर्नुभयो । निरङ्कुश पञ्चायतले उहाँलाई आजन्द कैदको घोषणा गर्‍यो ।
पटकपटक गरी १४ वर्ष जेलजीवन भोगेका नेता ओमकारप्रसाद श्रेष्ठले पार्टीजीवनमा प्रशस्त कष्ट, यातना त भोग्नुभएकै छ, अनेक रोचक-रोमाञ्चल किस्साहरू पनि उहाँसँग जोडिएर आउँछन् । जीवनभर प्रजातान्त्रिक आन्दोलन र पार्टीकै लागि मरिमेट्न तत्पर रहिआएका नेता श्रेष्ठले ०३७ देखि ०५६ सम्म लगातार १९ वर्ष ललितपुर काङ्ग्रेस सभापतिका रूपमा सङ्गठन निर्माण तथा विस्तार कार्य गर्नुभयो भने पटक-पटक केन्द्रीय सदस्यको जिम्मेवारीसमेत उहाँले निर्वाह गरिसक्नुभएको छ । ०३६, ०४२, ०४६ सालका राजनीतिक घटनाक्रमहरूमा सक्रिय नेतृत्वदायी भूमिका निभाउनुहुने नेता ओमकारले पार्टी विभाजनका बेला पनि संस्थापन पक्षमै रही पार्टी एकताका लागि महत्त्वपूर्ण भूमिका खेलेर पार्टीमा आफ्नो अलग स्थान निर्माण गर्नुभएको छ ।
० बाह्रौं महाधिवेशनमा तपाईं केका लागि उम्मेदवारी दिँदै हुनुहुन्छ –
– नेपालको प्रजातान्त्रिक आन्दोलन सुदृढ गराउनका लागि नेपाली काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ । काङ्ग्रेस बलियो बनाउनु नै मेरो उम्मेदवारीको पहिलो र्सत हो । काङ्ग्रेसमा कुनै बेला फुट आए पनि फेरि एक भयो, तर भावनात्मक एकता अझै हुन नसकेको अनुभूति गरिएको छ । अब भावनात्मक रूपमै एक गराउन हामी लाग्नुपर्छ ।
० उम्मेदवारको बाढी आएको छ, यसले भावनात्मक एकतालाई बल पुर्‍याउँछ कि विभाजनलाई बढवा दिन्छ त –
– प्रजातन्त्रको सौर्न्दर्य भनेकै निर्वाचनबाट नेतृत्वको छनोट हुनु हो । त्यसो भएपछि त उम्मेदवार जतिजना भए पनि विभाजनलाई बढवा दिने भन्ने त कुनै आउँदैन नि † कसैलाई हटाउने नभई आफ्नो जिम्मेवारी पो खोजेको हो त यो ।
० तपाईं कुन प्यानलबाट लड्दै हुनुहुन्छ –
– २५ जना खुला कोटाबाट केन्द्रीय सदस्यमा लड्दै छु । मेरो प्यानल हो- नेपाली काङ्ग्रेस ।’
० कोइराला, देउवा र तामाङमध्ये कसलाई समर्थन गर्नुहुन्छ सभापतिमा –
– पार्टीलाई यी तीनै नेता आवश्यक छन् । निर्वाचनमा जो जितून् तर सबैलाई मिलेर अघि बढ्न पहल गर्ने, घच्घच्याउने हो हामीले ।
० सम्भव छ यो –
– किन नहुने – एकजना जित्दैमा पार्टीमा अरूको जिम्मेवारी र भूमिका समाप्त हुने हो र –
० माओवादीलाई हेर्ने दृष्टिकोण के हुन्छ अब काङ्ग्रेसको –
– हामीले दिनेजति दिइसक्यौँ, माओवादीलाई बाँकी केही छैन दिनका लागि, बाँकी भए अझै दिन्थ्यौँ । अब उनीहरूले राष्ट्रका लागि निर्वाह गर्नुपर्ने कर्तव्य र भूमिका निर्वाह गरून् । त्यसो गर्दैनन् भने उनीहरूलाई अब कसरी हेर्नुपर्छ, पार्टीले तय गर्नछ ।
० यति धेरै उम्मेदवार किन लाइन लागेका होलान् काङ्ग्रेसमा यसपटक –
– पार्टीप्रति नयाँ पुस्ताका युवाहरू पनि आकरि्षत भएका छन्, काङ्ग्रेसको युवापुस्ताले ‘हामी पनि केही गर्न सक्छौँ र गर्छौं’ भनेर अग्रसर भएका हुन् । यसले गर्दा उम्मेदवार बढेकोे हो, यसले केही घाटा पर्दैन ।

शंकर भण्डारी, तनहुँ
०३८ सालदेखि मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पूर्ण निष्ठाका साथ सरिक हुँदै आउनुभएका युवा नेता शंकर भण्डारी काङ्ग्रेसको युवापुस्तामा लोकप्रिय नाम हो भने नेतृत्व तहले पनि कदर गरेको एक जुझारु व्यक्तित्वका रूपमा उहाँ परिचित हुनुहुन्छ । ०४२ सालको सत्याग्रहमा सक्रिय सहभागी भई ०४६ सालको जनआन्दोलनमा उहाँले प्रहरी हिरासतमा रहेर पनि आन्दोलनलाई अघिबढाउन दिलोज्यान लगाएको कुरा सहकर्मी काङ्ग्रेसजनहरू स्मरण गर्दछन् । यसैगरी जनआन्दोलन ०६२/६३ मा नेपाली काङ्ग्रेस, तरुण दल र नेविसङ्घलगायत विभिन्न भ्रातृ संस्था एवम् शुभेच्छुक संस्थाहरूले आयोजना गरेका कार्यक्रमहरूमा उहाँले खेल्नुभएको भूमिका पनि उल्लेख्य छ ।
प्रजातन्त्रका लागि ६ दशकभन्दा बढी योगदान गरेको पार्टीलाई कसरी जीवन्त बनाउने – आमयुवावर्ग र तरुणहरूलाई कसरी नेतृत्व तहमा पुर्‍याउने – नेपाली काङ्ग्रेसको नेतृत्वबाट देश, जनता र प्रजातन्त्रलाई कसरी सुदृढ, सक्षम र अग्रगामी बनाउने भन्ने नै आजको प्रमुख सवाल हो भन्ने मान्यता आफूले आत्मसात् गरेको बताउने युवानेता भण्डारीले नेपाली काङ्ग्रेसको १२औँ महाधिवेेशनमा केन्द्रीय सदस्य -खुल्ला) तर्फ उम्मेदवारीको घोषणा गर्नुभएको छ । उहाँले राज्यका सबै निकायमा युवावर्गको पहुँच पुर्‍याउनेलगायतका महत्त्वपूर्ण एजेण्डाहरू अघि सार्नुभएको छ ।

ठाकुरप्रसाद पुडासैनी, गोरखा
जननायक बीपी कोइरालाको पे्ररणाबाट ०३० सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा होमिनुभएका युवानेता ठाकुरप्रसाद पुडासैनीले युवापुस्ताको प्रतिनिधित्व गर्दै काङ्ग्रेस बाह्रौं महाधिवेशनमा गण्डकी अञ्चलबाट केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा आफूलाई खडा गर्नुभएको छ । ०३९ मा बीपीको उपचार्रखर्च जुटाउने अभियानमा सक्रियता दर्शाउँदा प्रहरी हिरासतमा परेपछि पार्टी सङ्गठनको काममा झन् हौसिएर लागिपर्नुहुने युवानेता पुडासैनी ०४२ सालको सत्याग्रह, ०४६ को आन्दोलन आदि प्रजातान्त्रिक आन्दोलनहरूमा विशेष सक्रियताका साथ लागिपर्ने अग्रपङ्क्तिका युवाका रूपमा परिचित हुनुहुन्छ ।
पार्टीभित्र देखिएको गुटगत राजनीतिको अन्त्य, राजनीतिमा ‘ठेकेदारी प्रथा’ उन्मूलन, युगसुहाउँदो परिवर्तनलाई आत्मसात् गरी पार्टीलाई जीवन्त र गतिशीलता प्रदान गर्ने, नेपाली पानी र नेपाली युवाको पसिनालाई मूल सम्पदा ठान्दै त्यसको व्यवस्थापन गरी आर्थिक प्रगतितर्फ लम्काउने, राजनीतिक आस्थाका कारण तुल्याइएका नेपालभित्र र बाहिर रहेका समस्त काङ्ग्रेसजनको हित संरक्षणको अगुवाइ गर्नेजस्ता चुनावी एजेण्डाहरू नेता पुडासैनीले अगाडि सार्नुभएको छ ।

हरि अधिकारी, धादिङ
०११ सालमा धादिङमा जन्मनुभएका हरि अधिकारी नेपाली काङ्ग्रेसका एक कर्मठ, इमानदार र प्रतिबद्ध नेता हुनुहुन्छ । स्कुल पढ्दादेखि नै प्रजातान्त्रिक विचारधाराबाट प्रभावित भई राजनीतिक सक्रियता दर्शाउनुहुने उहाँ अध्ययनका लागि ०३९ सालमा बनारस पुगेपछि प्रवासमा रहेका काङ्ग्रेस नेताहरूसँगको सङ्गतले प्रजातान्त्रिक आन्दोलनमा झनै समर्पित हुनुभयो । धादिङलगायत देशका विभिन्न जिल्लाका काङ्ग्रेस सङ्गठनको निँब राख्ने श्रेयसमेत बोक्नुहुने उहाँ पार्टीभित्र नयाँ र पुराना पुस्ताको सम्बन्ध सेतूको भूमिकामा आफू उभिएको बताउनुहुन्छ । पार्टीभित्र पुराना, इमानदार कार्यकर्ताको कदर र योग्यताको उपयोग हुनुपर्ने धारणाका पक्षपाती नेता हरि अधिकारीले काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा आफूलाई खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउनुभएको छ ।

गमप्रसाद गुरुङ, लमजुङ
०२८ सालमा जन्मनुभएका नेपाली काङ्ग्रेसका युवा नेता गमप्रसाद गुरुङ ०४२ सालको सत्याग्रह आन्दोलनदेखि नै काङ्ग्रेस राजनीतिमा जोडिँदै आएनुभएको छ । ०४६ को जनआन्दोलनमा सक्रिय सहभागिता, ०५० मा शिक्षक सङ्घको जिल्ला कार्यसमितिका सदस्य, ०५३ मा लमजुङ जिल्ला काङ्ग्रेसको सदस्य, ०५४ देख ०५९ सम्म जिल्ला विकास समितिको सदस्य, ०५८ मा प्रजातान्त्रिक नेपाली काङ्ग्रेस जिल्ला समिति सचिव र ०६२ मा उपसभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका युवा नेता गुरुङ हाल विभिन्न सामाजिक कार्यहरूमा पनि संलग्न हुनुहुन्छ । लमजुङ क्षेत्र नै २ बाट महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा निरि्वरोध निर्वाचित गुरुङले आफूलाई आदिवासी जनजातिका निम्ति आरक्षित सिटबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउनुभएको छ । प्रजातान्त्रिक समाजवाद नमुना गाउँ भन्ने अभियान पचहत्तरै जिल्लामा सञ्चालन गर्ने, आर्थिक-सामाजिक रूपान्तरणका लागि नीतिगत खाका स्पष्ट गर्ने र आचरण शुद्धीकरण अभियान सञ्चालन गर्ने नेता गमप्रसाद गुरुङका चुनावी एजेण्डाहरू हुन् ।

दिलमान पाख्रिन, धादिङ
नेकाका जुझारु व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ दिलमान । २०१८ सालमा धादिङमा जन्मनुभएका पाख्रिनले आसन्न नेका बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । २१औं शताब्दी सुहाउँदो दृष्टिकोण र वैचारिक नेतृत्व दिई साङ्गठनिक रूपमा पार्टीलाई एकढिक्का बनाई जनताप्रति उत्तरदायी बनाउन, युवा आवाजलाई पार्टीमा सशक्त रूपमा उर्ठाई नेकालाई ‘क्याडर बेस’मा लैजान, नेका नेतृत्वपङ्क्तिलाई जनताका घरदैलामा पुर्‍याई पार्टीको दिर्गाे साखलाई पुनर्स्थापित गर्न एवम् नेकाको समावेशीकरणको अवधारणलााई व्यवहारमा लागू गराउनेलगायतका आफ्नो वैचारिक दृढतासाथ चुनावी मैदानमा उत्रनुभएका पाख्रिन जनजाति नेताका रूपमा प्रस्तुत हुनुभएको छ । २०२७ सालमा बाल्यकालमै बाबुरामसँग भारत प्रवासमा बस्नुपरेका पाख्रिनलाई २०३३ सालमा देशद्रोहीको कथित मुद्दामा तात्कालीन पञ्चायती शासकले सर्वस्वहरण गरेको थियो । २०५६ सालमा संसदीय चुनावमा भाग लिनुभएका उहाँ २०६४ मा संविधान सभासद् धादिङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको थियो ।

जगन्नाथ पौडेल, चितवन
नेविसङ्घका संस्थापक सदस्यसमेत रहनुभएका नेपाली काङ्ग्रेसका बौद्धिक नेता जगन्नाथ पौडेल एक प्रतिबद्ध, जुझारु र इमानदार व्यक्तित्वका रूपमा सुपरिचत हुनुहुन्छ । ०३१/०३२ को विद्यार्थी आन्दोलनको नेतृत्व गरेका र प्रजातन्त्रको पक्षमा भएका प्रत्येक आन्दोलनमा सहभागी हुँदा पटक-पटक गरी लगभग साढे तीन वर्ष जेल पर्नुभएका उहाँ ०५४ देखि ०६० सम्म राष्ट्रियसभाका सदस्य हुनुहुन्थ्यो ।
सर्वोच्च बार, एमनेष्टी इन्टरनेसनल, राष्ट्रिय मानवाधिकार सङ्गठन आदि संस्था/निकायहरूमा समेत आबद्धता जनाउँदै आफ्नोतर्फबाट सक्दो योगदान पुर्‍याउँदै आउनुभएका जगन्नाथ पौडेलले नारायणी अञ्चलको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

रघुनाथ पौडेल, तनहुँ
२००९ सालमा तनहुँमा जन्मनुभएका रघुनाथ पौडेल काङ्ग्रेसको बाह्रौँ महाधिवेशनामा गण्डकी अञ्चलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्नुभएको छ । ०२४ सालमा इन्टरकलेज कुन्छाको स्ववियु सदस्यको जिम्मेवारीबाट राजनीति सुरु गर्नुहुने तनहुँ काङ्ग्रेसका सभापति पौडेल ०२८ मा गण्डकी छात्र समितिको सदस्य हुँदै ०२९ सालको विद्यार्थी आन्दोलनमा सक्रियता देखाउँदा काठमाडौंबाट गिरफ्तार भई काराबासको सजाय पाएका पुराना नेता हुनुहुन्छ । ०४२ सालमा पार्टीको क्रियाशील सदस्यता लिनुभएका उहाँ ०३३ सालमा जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो भने ४३ सालमा जिल्ला समितिको सहसचिव हुँदै ०४८ सालमा उपसभापतिको जिम्मेवारी सम्हाल्नुभयो । ०५३ देखि हालसम्म तीन कार्यकाल जिल्ला सभापतिको जिम्मेवारीमा रहनुभएको नेता पौडेल प्रत्येक प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रहनुभयो भने पार्टीको केन्द्रीय कार्यसमितिले दिएका विभिन्न जिम्मेवारीसमेत उहाँले पुरा गर्दै आउनुभएको छ ।

नरेशबहादुर सिंह, बझाङ
२०४४ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्दै काङ्ग्रेस- राजनीतिमा होमिनुभएका काङ्ग्रेसका युवा नेता नरेशबहादुर सिंहले सेती अञ्चलबाट बाह्रौँ महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउनुभएको छ । ०४८ मा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, त्यसपछि सांसद, सहायक मन्त्री र राज्यमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्ने अवसर पाइसक्नुभएका युवा नेता सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेसको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको तर बीपीको विचार र सिद्धान्तलाई पछिल्लो समयमा बिर्सन लागेकोमा पार्टीले मौलिकता गुमाउने खतरा पैदा भएकोमा चिन्तित हुनुहुन्छ । ०४६ पछि १२-१३ वर्ष पार्टी सत्तामा रहेर पनि गरिब जनताको हितमा खासै केही गर्न नसकेकोले मुलुकमा कम्युनिस्ट बढेको र साम्यवादी प्रभावलाई कम गर्नकै लागि पनि काङ्ग्रेसलाई आमजनतामुखी बनाउनु आवश्यक रहेको विचार व्यक्त गर्नुहुन्छ ।
वरिष्ठ नेता देउवाको निकट रहेर पार्टी सङ्गठनमा काम गर्दै आउनुहुने नेता सिंह काङ्ग्रेस पार्टीप्रति युवा आकर्षण बढ्नुलाई सुखद् सङ्केत र पार्टीको भविष्य उज्ज्वल रहेको बताउनुहुन्छ । भिजन र विचार ठूलो कुरो भएकोले पार्टीमा उमेरको होइन क्षमताको कदर हुनुपर्छ भन्ने धारणाका पक्षपाती नरेशबहादुर सिंह नेतृत्व तहमा विजयी बनेमा मूलतः मुलुकमा बढिरहेको सँम्यवादी प्रभावलाई घटाउन काङ्ग्रेसको सङ्गठन, नीति र कार्यक्रमलाई चुस्त-दुरुस्त राख्न आफू कटिबद्ध रहने बताउनुहुन्छ ।

रामपल्टन साह, धनुषा
०२२ सालमा मिथिलेश्वर मौवाही-८ धनुषामा जन्मनुभएका रामपल्टन साह ०३७ सालदेखि नेविसङ्घको राजनीतिमा सक्रिय भई निरन्तर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएका युवानेता हुनुहुन्छ । काङ्ग्रेसका स्थानीयदेखि विभिन्न माथिल्ला तहका जिम्मेवारीहरूमा आफूलाई खरो उतारेर एक अब्बल काङ्ग्रेस कार्यकर्ताको पहिचान बनाउनुहुने उहाँ हाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । पटक-पटकका आन्दोलनहरूमा गिरफ्दारीमा परेर यातना भोग्नुभएका रामपल्टन साहले मधेस अस्मिता, राष्ट्रिय एकता र सार्वभौमिकता, अहिंसा, लोकतन्त्र र समाजवादको संरक्षण एवम् आत्मनिर्भरतामा आधारित जाति- धर्मनिरपेक्ष सङ्घीय राज्य संरचनाको निर्माण तथा किसान केन्द्रीय योजना तथा उत्पादनमुखी ग्रामीण अर्थतन्त्रको विकासको नारासहित मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

रामबहादुर विष्ट, अछाम
२००९ सालमा जन्मनुभएका अछामका रामबहादुर विष्ट नेपाली काङ्ग्रेसभित्र अत्यन्त इमानदार, सिद्धान्तनिष्ठ, अनुशासित र प्रतिबद्ध नेताका रूपमा परिचित हुनुहुन्छ । ०३३ सालमा मेलमिलापको नीति लिएर बीपी स्वदेश र्फकनुभएपछि विद्यार्थी राजनीतिमार्फत काङ्ग्रेस राजनीतिमा होमिनुभएका उहाँले पार्टीको अगुवाइमा भएका प्रत्येक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ । आन्दोलनका दौरानमा पटकपटक गरी अढाइ वर्ष जेल पर्नुभएका नेता विष्ट कुनै बेला नेविसङ्घको नेतृत्वमा हुनुहुन्थ्यो भने लामो समय अछाम जिल्ला कार्यसमितिमा सचिवको जिम्मेवारीसमेत उहाँले निर्वाह गर्नुभएको छ । दुईपटक सांसद र संसदीय दलको सचेतकको भूमिकासमेत निर्वाह गरिसक्नुभएका रामबहादुर विष्टले आफूलाई सेती अञ्चल प्रतिनिधिका रूपमा बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनाउनुभएको छ । पार्टीमा इमानदार कार्यकर्ताको कदर हुनुपर्ने मान्यता राख्नुहुने उहाँ सङ्गठनलाई चुस्त-दुरुस्त तुल्याउन, बीपीको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै समाजवादको परिभाषा आमतप्कामा प्रस्ट्याउनु, युवा वर्गको भूमिकालाई स्थापित गर्दै नयाँ शैली-सोचमा पार्टीलाई अघि बढाउनका लागि
आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको प्रस्ट पार्नुहुन्छ ।

सुदेशकुमार चौधरी, धनुषा
०२२ सालमा बल्हागोठ, धनुषामा जन्मनुभएका सुदेशकुमार चौधरीले ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक-पटक थुनामा परेका र अनेक यातना भोगेका युवा नेता चौधरी ०६३ सालको जनआन्दोलनमा एक महिना काराबास पर्नुभएको थियो । नेपाली काङ्ग्रेसका तर्फबाट गाविस अध्यक्षसमेत रहिसक्नुभएका उहाँले ०६० मा धनुषा जिल्ला कार्यसमिति सदस्य र ०६३ देखि कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । बाह्रौं महाधिवेशनमा जनजातिका तर्फबाट केन्द्रीय समितिको सदस्यमा उम्मेदवारी दिनुभएका नेता चौधरीले पार्टीलाई पूर्ण समावेशी-लोकतान्त्रिक बनाउने, मुलुकमा बढ्दै गएको साम्यवादी जनमतमाथि दार्शनिक हस्तक्षेप गर्न वैचारिक रूपमा पार्टीलाई सबल तुल्याउनेजस्ता चुनावी एजेण्डा अघि सार्नुभएको छ ।

पूर्वका आदिवासी/जनजाति नेता आनन्दसन्तोषी राई
नेपाली काङ्ग्रेसका नेता आनन्दसन्तोषी राईले आसन्न काङ्ग्रेस महाधिवेशनमा केन्द्रीय समितिको आदिवासी/जनजाति सिटमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
२१ वर्षअघिदेखि लगातार नेपाली काङ्ग्रेसको महाधिवेशन तथा महासमिति सदस्यमा निर्वाचित हुँदै आउनुभएका पूर्वका चर्चित आदिवासी/जनजाति नेता राईले आसन्न महाधिवेशनले नेपाली काङ्ग्रेसको साङ्गठनिक स्वरूपमा आमुल परिवर्तन गरी पुनर्जीवन दिन, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडिएको वर्ग, जातजाति, भाषाभाषी र धर्म-संस्कृतिका सबै नेपालीको आस्था, निष्ठा र भरोसायुक्त बनाई सबैको साझा पार्टीको रूपमा स्थापित गराउन आफूले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । उहाँले पार्टीको बाह्रौँ महाधिवेशनलाई सुदृढ एकता र नयाँ नेपाल बनाउने नयाँ उत्साहसहित र अनुभवले परिपक्व नेतृत्व निर्माण गर्ने ऐतिहासिक महाधिवेशन बनाउने उद्घोष गर्नुभएको छ ।
आनन्दसन्तोषी राईले आफू ट्रेड युनियन काङ्ग्रेसको जिल्ला अध्यक्ष, नेपाल किसान सङ्घको केन्द्रीय उपसभापति, आदिवासी जनजाति सङ्घका केन्द्रीय सचिवालय सदस्य र नेपाली काङ्ग्रेस सङ्गठन विभागका केन्द्रीय सदस्य, राज्य पुनर्संरचना समितिका सदस्य, नेपाल बार एसोसिएसन धनकुटाका अध्यक्ष, राष्ट्रिय जनजाति विकास समितिको कार्यकारी निर्देशकसमेत भई काम गरी अनुभव सङ्गालेकाले आफू केन्द्रीय सदस्यका लागि योग्य भएको दाबी गर्दै मुलुकभरका महाधिवेशन प्रतिनिधिसँग सहयोगका लागि अनुरोध गर्नुभएको छ ।

चिरञ्जीवीनिधि तिवारी, काठमाडौं
वि.सं. २००१ मा काठमाडौंमा जन्मनुभएका चिरञ्जीवीनिधि तिवारीको राजनीतिक जीवन ०२३ मा सरस्वती क्याम्पसका स्ववियु सभापतिमा प्रजातान्त्रिक समूहबाट निर्वाचित भएपछि सुरु भएको हो । एक उद्यमी व्यवसायीका रूपमा समेत ख्याति आर्जन गर्नुभएका काङ्ग्रेस नेता तिवारी बाह्रौं महाधिवेशनको आर्थिक समितिका सदस्यसमेत हुनुहुन्छ । ०४२ सालको सत्याग्रहदेखि ०४६ को प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन, ०६२/०६३ को जनान्दोलन आदि पार्टीका प्रत्येक कार्यक्रममा सहभागिता जनाउँदै आउनुभएका नेता चिरञ्जीवीनिधिले पार्टी केन्द्रीय समितिले खटाएअनुसार विभिन्न जिम्मेवारीहरू पनि निर्वाह गर्दै आउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्यसमेत रहनुभएका तिवारीले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सुशीला उप्रेती, चितवन
०३१ सालदेखि नेपाली काङ्ग्रेसको साधारण सदस्यता लिएर पार्टी-राजनीति सुरु गर्नुभएकी काङ्ग्रेसनेतृ सुशीला उप्रेती आफूलाई जन्मसिद्ध काङ्ग्रेसी कार्यकर्ता मान्नुहुन्छ । ०३६ सालको जनमतसङ्ग्रहमा बहुदलको पक्षमा प्रचारमा उत्रिएपछि सम्पूर्ण रूपले आफूलाई पार्टीको काममा समर्पित गर्नुभएकी अत्यन्त जुझारू महिलानेतृ सुशीला ०४२ को सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा सक्रियता प्रदर्शन गर्दा परिवार नै भूमिगत हुनुपरेको स्मरण गर्नुहुन्छ । चितवनमा सम्पन्न काङ्ग्रेसको आठौँ महाधिवेशनदेखि पार्टीले विभिन्न जिम्मेवारी प्रदान गरेको र महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिको सदस्य, चितवन जिल्ला महिला सङ्घको उपसभापतिका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका तारिफयोग्य रहेको छ । ०६३ को आन्दोलनकी घाइतेसमेत रहनुभएकी उहाँले आफूलाई महिलाका निम्ति आरक्षित कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउनुभएको छ । बीपीको समाजवादी भावना काङ्ग्रेसले बिर्सन लागेकोले समावेशी र समाजवादी भावनालाई पुनर्जागृत तुल्याउँदै मुलुकलाई नाजुक स्थितिबाट पार लगाउने अभियानमा पार्टीलाई नेतृत्वदायी भूमिकामा अग्रसर गराउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।

सुवासकुमार पोखरेल, खोटाङ
०२८ सालमा खोटाङ खार्पामा जन्मनुभएका सुवासकुमार पोखरेल तत्कालीन नेकपा मालेबाट नेपाली काङ्ग्रेसमा प्रवेश गरी आफ्नो अलग्गै स्थान बनाउन सक्षम युवानेता हुनुहुन्छ । ०५१ मा काङ्ग्रेस खोटाङ जिल्ला कार्यसमितिमा सचिवको जिम्मेवारी पाउनुभएका पोखरेल ०५३ देखि निरन्तर महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यका रूपमा क्रियाशील हुनुहुन्छ । संविधानसभा सदस्यका प्रत्याशीसमेत रहिसक्नुभएका नेता पोखरेल निरङ्कुश शाही शासनविरुद्धको आन्दोलनमा तीन महिना जेल पर्नुभएको थियो । उहाँले सगरमाथा अञ्चल प्रतिनिधिका रूपमा बाह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

बालकृष्ण दाहाल, ओखलढुङ्गा
०२७ मा बरुणेश्वर, ओखलढुङ्गामा जन्मनुभएका बालकृष्ण दाहाल सहिद लीलानाथ दाहालका सुपुत्रका रूपमा मात्र नभई नेपाली काङ्ग्रेसका एक सम्भावना बोकेका युवानेताका रूपमा पनि परिचित हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेर लामो समय सेवा पुर्‍याउनुहुने नेता दाहालले प्रजातान्त्रिक आन्दोलनमा पनि उत्तिकै योगदान दिनुभएको छ । जनआन्दोलनका क्रममा पटक-पटक जेल पर्नुभएका दाहाल विभिन्न सङ्घ-संस्थामा आबद्ध भई सामाजिक सेवामा पनि संलग्न हुनुहुन्छ । नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा बालकृष्ण दाहालले आफूलाई खुला २५ सिटबाट उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ ।

टेकप्रसाद गुरुङ, चितवन
०२८ सालदेखि तत्कालीन तरुण दलको सदस्यका रूपमा सक्रिय राजनीतिक यात्रा सुरु गर्नुहुने चितवनका टेकप्रसाद गुरुङ नेपाली काङ्ग्रेसका अत्यन्त जुझारू, प्रतिबद्ध, इमानदार, अनुशासित कहलिने नेताको कोटिमा पर्नुहुन्छ । ०३३ सालदेखि चितवन जिल्ला कार्यसमितिको सदस्य रहनुभएका नेता गुरुङ लगातार ०५३ सालसम्म सो जिम्मेवारीमा रहनुभएको थियो भने त्यसयता तीन कार्यकाल जिल्ला सभापतिका रूपमा सक्षम नेतृत्व उहाँले प्रदान गर्नुभएको छ । तीन कार्यकाल जिविस सभापति चलाएर अनुभव बटुल्नुभएका नेता गुरुङ प्रजातान्त्रिक आन्दोलनमा देखाउने सक्रियताका कारण पटकपटक जेल पर्नुभएको छ । पार्टीमा लामो समय काम गरेको अनुभवका आधारमा बाह्रौं महाधिवेशनमा खुलातर्फबाट आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा उभ्याउनुभएका टेकप्रसाद गुरुङले सङ्गठन सुदृढीकरणका लागि प्रशिक्षण, माओवादी ज्यादतीविरुद्ध वैचारिक एवम् भौतिक प्रतिकार भन्दै पीडितलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल गर्नेलगायतका चुनावी एजेण्डा अघि सार्नुभएको छ ।

रमेश धमला, धादिङ
०२३ मा साङ्कोष, धदिङमा जन्मनुभएका नेपाली काङ्ग्रेसका युवा नेता रमेश धमलाले विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक धारको राजनीति सुरु गर्नुभएको हो । ०४२ सालको सत्याग्रहदेखि राजनीतिक यात्रालाई झनै गहिरो ढङ्गले अपनाएका धमला ०५३ मा पार्टीको क्षेत्रीय -क्षेत्र नं. २) कमिटीका सचिव, ०५५ मा गाविस महासङ्घका केन्द्रीय सदस्य, ०५५ मा धादिङ जिल्ला कार्यसमितिका सदस्य, ०६२ मा केन्द्रीय विदेश विभागका सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ । पार्टीमा युवा नेतृत्वको आवश्यकता महसुस गरी आफूले खुल्लातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उहाँको कथन छ ।

कर्माछिरिङ शेर्पा, काठमाडौं
०४५ सालदेखि नेविसङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका कर्माछिरिङ शेर्पा काठमाडौं काङ्ग्रेसका एक जल्दाबल्दा जुझारू नेता हुनुहुन्छ । ०२६ सालमा जन्मनुभएका शेर्पा नेविसङ्घको नेतृत्व सम्हाल्दै तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरिसक्नुभएका कारण युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।
नेपाल फुटबल सङ्घका उपाध्यक्ष रहेका शेर्पाले आदिवासी जनजातिका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । शान्ति र संविधानका लागि बोल्ने काम धेरै भयो, अब काम गर्ने समय आएकोले त्यसकै लागि आफू प्रतिबद्ध रहने उहाँको कथन छ ।

निमा ग्याल्जेन शेर्पा, सिन्धुपाल्चोक
०४४ सालदेखि नेविसङ्घको माध्यमबाट प्रजातान्त्रिक आन्दोलन एवम् काङ्ग्रेस राजनीतिमा होमिनुभएका निमा ग्याल्जेन शेर्पा ०२८ सालमा सिन्धुपाल्चोकमा जन्मनुभएको हो । ०५४ सालमा जिल्ला विकास समितिको सदस्य र ०५९ मा पार्टी जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएका युवा नेता निमा ग्याल्जेन गत संविधानसभाको निर्वाचनमा सिन्धु-३ बाट प्रत्याशी हुनुहुन्थ्यो ।
जनजाति कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएका युवा नेता शेर्पाले आफ्नो चुनावी एजेण्डाका रूपमा जनजातिहरूको आफ्नो पार्टी भनेको नेपाली काङ्ग्रेस हो भन्ने आभास दिलाउने, काङ्ग्रेस पार्टीलाई पनि जनजाति भनेका आफ्ना हुन् भन्ने विश्वासको वातावरण सिर्जना गराउने, काङ्ग्रेसका कार्यकर्तालाई गाउँगाउँसम्म पुर्‍याएर साङ्गठनिक रूपमा पार्टीलाई सुदृढ बनाउने मुद्दाहरू अघि सार्नुभएको छ ।

राजेन्द्रप्रसाद चौधरी, चितवन
चितवन जिल्लाबाट महासमिति सदस्य निर्वाचित राजेन्द्रप्रसाद चौधरी ०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सरिक हुँदै आउनुभएका काङ्ग्रेसी नेता हुनुहुन्छ । बीपीको सपना साकार पर्ने अभियानलाई तीव्रता दिन, समावेशी भई व्यावहारिक राजनीतिलाई बढावा दिन, माओवादीले हर्ुकाएको जातीय राजनीतिबाट निम्तिन सक्ने खतरनाक अवस्थाबाट मुलुकलाई जोगाउन आफूले आदिवासी/जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको नेता चौधरीको कथन छ । ०५६ देखि जिल्ला कार्यसमितिको सदस्यका रूपमा नेतृत्व प्रदान गर्दै आउनुभएका उहाँले ०६३ सालको जनआन्दोलनमा संयोजकको दायित्व कुशलतापूर्वक निर्वाह गरेका नेता राजेन्द्रप्रसाद बीपीको सपना साकार पार्नु भनेको मुलुक समृद्ध तुल्याउनु हो भन्दै पार्टीको कमी-कमजोरी औंल्याएर सही दिशामा अघि बढाउन पनि आफूले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिनुपरेको बताउनुहुन्छ ।

चन्द्र भण्डारी, गुल्मी
नेपाली काङ्ग्रेसभित्र चन्द्र भण्डारी अलग्गै चिनाइरहनुपर्ने नाम होइन । ०३३ देखि प्रजातान्त्रिक आन्दोलन एवम् काङ्ग्रेस राजनीतिमा होमिनुभएका प्रखर युवानेता चन्द्र भण्डारी पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा अग्रपङ्क्तिमा रहेर लड्दै आउनुभएका जुझारू, इमानदार, निष्ठावान र नेतृत्वक्षमताका धनी व्यक्तित्व हुनुहुन्छ । ०४८ सालमा नेविसङ्घको महामन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुअघि नै विद्यार्थी वर्ग र पार्टीपङ्क्तिमा समेत मौलिक पहिचान बनाउन सफल नेता भण्डारीले गुल्मी, पाल्पा, काठमाडौंका जेलहरूमा साढे पाँच वर्ष बन्दीजीवन गुजार्नुभएको छ ।
नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार बन्नुभएका चन्द्र भण्डारीले अव्यावहारिक तथा अव्यवस्थित सङ्घीयता, विदेशमुखी गणतन्त्र, अन्योलमा परेको शान्ति र संविधान, अराजकतातिर जान लागेको लोकतन्त्रलाई ठीक बाटोमा लगाउन, विदेश पलायन हुन थालेका युवाहरूलाई रोजगारीका अवसर सिर्जना गरेर स्वदेशमै संरक्षण गर्न, माओवादी द्वन्द्वका कारण विस्थापितहरूको घाउमा मल्हम लगाउने उपायहरूको खोजी र कार्यान्वयनका साथै पार्टीलाई समय सुहाउँदो सोच र शैलीबाट अघि बढाउनुपर्ने अपरिहार्यतालाई व्यवहारमा उतार्न आफूले उम्मेदवारी दिनुपरेको बताउनुभएको छ ।

गजेन्द्रकुमार लामा, काठमाडौं
लामो समय सामाजिक सेवा र राजनीतिलाई सँगसँगै अगाडि बढाएको व्यक्ति कुनै उद्देश्य, सिद्धान्त र लक्ष्यबिना पूर्णकालीन राजनीतिमा होमिँदैन, यस अर्थमा म समावेशी काङ्ग्रेसले समाजले अहिले झेलिरहेको सामाजिक द्वन्द्व जस्तै, क्षेत्रीय, जातीय, भाषिक, लैङ्गिकलाई अन्त्य गर्न सक्छु भन्ने मान्यतामा छु । म काङ्ग्रेसलाई सामाजिक आन्दोलनको अगुवा पार्टी बनाउन चाहन्छु, बीपी कोइरालाको सिद्धान्त पनि यही थियो । राजनीतिक आन्दोलनको नेतृत्वले मात्र अब काङ्ग्रेस जनताको घरघर र मनमनमा बस्न सक्दैन भन्ने मलाई लागेको छ ।
बेलायतबाट सामाजिक अध्ययनमा एमएसम्मको अध्ययन, सन् १९८२ मा नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एड नेपालको स्थापना, तामाङ प्राज्ञ समाज, प्रजातान्त्रिक विचार समाज, जनप्रशासन सङ्घमा आबद्ध रही विभिन्न कल्याणकारी काममा लाग्दै अहिले नेपाल अपाङ्ग सङ्घको अध्यक्षका रूपमा मैले जे जति अनुभव हासिल गरेँ र सिकेँ त्यसलाई अब राजनीतिक पार्टीभित्र रहेर प्रयोग गरौँ भन्नेबाहेक मेरो व्यक्तिगत स्वार्थ केही छैन, उम्मेदवार बन्नुमा । म ०३६ सालको विद्यार्थी राजनीतिदेखि कुनै न कुनै रूपमा राजनीतिमा क्रियाशील रहेँ । ०४६ को जनआन्दोलनमा भूमिका खेलेँ, काठमाडौंको राजनीतिमा सधंै क्रियाशील छु । यद्यपि सामाजिक र राजनीतिक कार्यकर्ता हुँदा समय मिलाउन कठिन
भइरहेको थियो । तर, अब म पूर्णकालीन राजनीतिमा लाग्दैछु ।

त्रैलोक्यप्रताप सेन ओली, गुल्मी
०२७ सालमा अमृत साइन्स कलेज पढ्दादेखि नै काङ्ग्रेस राजनीतिको चस्का लागेपछि परिवारमै एकप्रकारको विद्रोह गरेर काङ्ग्रेस राजनीतिमा होमिनुभएका त्रैलोक्यप्रताप सेन ओली नेपाली काङ्ग्रेसका होनहार नेता हुनुहुन्छ । ०३६, ०४२, ०४६ लगायतका प्रत्येक चर्चित आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने ओलीले ०४८ सालदेखि ०५८ सम्म दुई कार्यकाल गुल्मी जिल्ला काङ्ग्रेसको सभापतिका रूपमा पार्टीलाई नेतृत्व दिनुभयो भने पार्टीको केन्द्रीय तहका विभिन्न जिम्मेवारीहरू पनि उहाँले अत्यन्त कुशलताका साथ निर्वाह गरिसक्नुभएको छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले अनेक हण्डर र यातना, जेल आदि कैयनपटक भोग्नुभएको छ । लुम्बिनी अञ्चल प्रतिनिधिका रूपमा बाह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका नेता ओलीले पार्टी शुद्धीकरण र सशक्तीकरणको मुद्दालाई चुनावी एजेण्डा बनाउनुभएको छ ।

केशवराज कँडेल, चितवन
२००३ सालमा जन्मिएर ०२२ सालमा त्रिचन्द्र कलेज पढ्दादेखि ‘पोलिटिकल एसोसिएसन’को कोषाध्यक्षका रूपमा राजनीतिमा प्रवेश गर्नुभएका केशवराज कँडेल त्यसयता निरन्तर नेपाली काङ्ग्रेस पार्टीमा आबद्ध रही प्रजातान्त्रिक आन्दोलनमा होमिँदै आउनुभएको छ । पटक-पटक गिरफ्तारीमा परे पनि प्रजातन्त्र र पार्टीप्रति झन्झन् आस्था बढाउँदै आउनुभएका काङ्ग्रेस नेता कँडेल बीपीको लाइन बिर्सेर पार्टीलाई अर्कै धारमा लैजाने काम भएकोमा असन्तुष्ट हुनुहुन्छ । यसरी बीपीको मार्गबाट काङ्ग्रेसलाई च्यूत गराउने जुन काम भएको छ, बीपीको समाजवादी विचारलाई तोडमरोड गर्ने जुन काम भएको छ, त्यसलाई सच्याउन आफूले खुलातर्फबाट उम्मेदवार दिएको स्पष्ट पार्नुहुन्छ ।

अर्जुनबहादुर खड्का, उदयपुर
वि.सं. १९९५ मा उदयपुरमा जन्मनुभएका नेपाली काङ्ग्रेसका पुराना नेता अर्जुनबहादुर खड्काको राजनीतिक जीवन २०१५ सालदेखि सुरु भएको हो । प्रजातन्त्र स्थापना पुनर्स्थापनाको ५२ वर्षे लामो यात्रामा नेता खड्काले मुलुक र प्रवासमा रही अनेक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको छ भने पटकपटक गरी ९ वर्ष जेलजीवन भोग्नुभएको छ । ०३० सालदेखि २ कार्यकाल प्रतिबन्धित अवस्थामा र तेस्रो कार्यकाल खुला रूपमा उदयपुर काङ्ग्रेसको सभापतिका रूपमा जिम्मेवारी सम्हाल्नुहुने नेता खड्का ०४८ देखि निरन्तर पार्टीको महासमिति सदस्य रहँदै आउनुभएको छ । केन्द्रीय कार्यसमिति निर्वाचनमा खुला २५ बाट केन्द्रीय सदस्य उम्मेदवारी दिनुभएको नेता अर्जुन खड्काले महाधिवेशनमा भएको युवाहरूको प्रतिनिधित्वलाई प्रशिक्षित पार्दै जिम्मेवार बनाउने, समावेशी प्रतिनिधित्वलाई उचित व्यवस्थापन गर्ने र न्यूनतम आवश्यकता पर्ूर्तिको पर्खाइमा बसेका लाखौँ नेपाली घर-आँगनमा समाजवादी कार्ययोजनाहरू पुर्‍याएर नेपाली काङ्ग्रेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समाजवादी पार्टीको पहिचान दिलाउनेलगायतका एजेण्डा अघि सार्नुभएको छ ।

किरण पौडेल, बाग्लुङ
०२३ सालमा बाग्लुङ बलेवामा जन्मनुभएका नेपाली काङ्ग्रेसका युवानेता किरण पौडेल ०३६ सालदेखि नेविसङ्घको सदस्यता लिएर सक्रियतापूर्वक प्रजातान्त्रिक आन्दोलनमा होमिएका अत्यन्त जुझारू र प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा दर्जनौँपटक प्रहरी हिरासत र जेलयात्रा एवम् यातना भोग्नुभएका नेता पौडेलले नेविसङ्घको महामन्त्रीलगायत पार्टीसम्बद्ध अनेक निकायमा रही कुशलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको छ । ०६० देखि महासमिति सदस्य रहँदै आउनुभएका उहाँ प्रजातान्त्रिक समाजवादलाई नै आफ्नो मुख्य लक्ष्य ठान्नुहुन्छ । मुलुकभरका तरुण युवाहरूको आग्रहअनुसार आफूले धौलागिरी अञ्चल प्रतिनिधिका रूपमा पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उहाँको कथन छ भने पार्टीले अघिसारेका नीति तथा कार्यक्रमहरू नै उहाँका चुनावी एजेण्डा हुन् ।

राजेन्द्रलक्ष्मी सिवाकोटी, दोलखा
नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनको केन्द्रीय सदस्यको महिला कोटामा दोलखाकी महिलानेतृ राजेन्द्रलक्ष्मी सिवाकोटीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । विद्यार्थीकालमा ०३० देखि नेविसङ्घमा आबद्ध रहनुभएकी सिवाकोटी उच्च शिक्षा अध्ययन गर्नेबेलामा पद्मकन्या र ताहाचल क्याम्पसमा पनि नेविसङ्घको राजनीतिमा क्रियाशील रहनुभएको थियो । ०४८ सालदेखि नेपाल शिक्षक सङ्घमा क्रियाशील रहनुभएकी सिवाकोटी नेपाल महिला सङ्घ हुँदै नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । ०४८ सालदेखि नेपाली काङ्ग्रेसको सक्रिय सदस्यता लिनुभएकी राजेन्द्रलक्ष्मी सिवाकोटी १२औँ महाधिवेशनका लागि दोलखाबाट महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ । एमनेष्टी इन्टरनेसनल दोलखाको संयोजक रहनुभएकी सिवाकोटी ग्रामीण महिला सशक्तीकरण सङ्घको संस्थापक पनि हुनुहुन्छ । तीन दशकदेखि राजनीति, समाजसेवा र शिक्षाक्षेत्रमा सक्रिय सिवाकोटीले केन्द्रीय सदस्य महिला कोटामा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

अजितनारायणसिंह थापा, धनकुटा
कोसी अञ्चल प्रतिनिधिका रूपमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने अजितनारायणसिंह थापा नेपाली काङ्ग्रेसका पुराना, बौद्धिक तथा विविध क्षेत्रका अनुभवी व्यक्तित्व हुनुहुन्छ ।
पार्टी सङ्गठनको सुधारका लागि नयाँ ढङ्गले लागिपर्ने, नेपाली काङ्ग्रेसको अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार गर्दै पार्टीको छवि उठाउनेलगायतका चुनावी एजेण्डाहरू उहाँले अघिसार्नु भएको छ ।