नक्कली भ्याटबिल छानविन गर्दा प्रमुखकै सरुवा

नक्कली भ्याटबिल छानविन गर्दा प्रमुखकै सरुवा


नक्कली मुल्य अभिबृद्धि कर (भ्याट) विल प्रयोग गरि कारोबार गर्ने माथी छानविन सुरु गर्दा राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई अन्नेत्र सरुवा गरिएको छ । विभागले नक्कली भ्याटबिल प्रकरणमा अनुसन्धान गरिरहेका बेला सरकारले महानिर्देशक रामकृष्ण सुवेदीको सरुवा गरेको हो । सरकारले सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।
सो छानविनमा घरानिया व्यवसायीहरु नै पहिलो सूचीमा कारबाहीमा पर्ने भएपछि व्यापारिकै योजनामा सुबेदीलाई गृहमा सरुवा गरेको नाम नलेख्ने सर्तमा विभागका एक अधिकृतले भने । उनले भने,‘विभागले नक्कली भ्याटविल प्रयोग गर्नेहरुको सूची तयार गरेर छानविन गर्दा सो छानविनलाई निस्तेज बनाउनकैलागि महानिर्देशकको सरुवा गरियो ।’ भ्याटविल प्रयोग गरि कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले छानविन सुरु गरेको छ । अवैध कार्यामा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा विभागले छानबिन गर्न थालेको थियोे ।

नक्कली विल प्रयोग गरि करोडौंको कारोबार गर्ने दर्जनौं व्यापारिक फर्म तथा संस्थाले यस प्रकारको प्रयोग गदै आएका छन् । विभागमा परेको उजुरीका आधारमा नक्कली भ्याटबिल छानबिन कार्य अघि बढाइएको हो । महानिर्देशक सुबेदीले गरेका कामको विवरण सार्वजनिक गर्दै आइतबार भने,‘ अहिलेसम्मकै दोस्रो ठूलो नक्कली भ्याट बिल प्रकरणमा छानविन सुरु गरेको हो ।’ विभागका महानिर्देशक सुवेदीका अनुसार नक्कली भ्याटबिल प्रकरण निकै ठूलो भएकाले सो बारे सत्यतथ्य के हो र यदि प्रयोग गरेकै भए कारबाही गर्ने बताउदै छानविन सुरु गरेको समेत दाबी गरेका छन् ।

 

ठूलो व्यापारिक समुहले नक्कली विल प्रयोग गर्ने गरेको र सो बारे आफ्नो कार्यालउमा उजुरी समेत परेकाले छानविन प्रकृयाले लामो समय लिने महानिर्देशक सुबेदीले बताएका छन् । विभागमा बसेर आफुले गरेका कामको विवरण सार्वजनिक गर्नेक्रममा उनले सो कुरा बताएका हुन । नक्कली भ्याटबिल प्रकरणमा संलग्न फर्महरूबारे भने प्रमाण फेरबदलल गर्ने भएकाले पहिरचान भने गोप्य राखिएको छ । विभाग स्रोतकाअनुसार केही ठूला व्यापारिक घराना तथा संस्थाको फाइल समेत नियन्त्रणमा लिइएको छ । भने केहीको अनुसन्धान भइरहेको छ ।

भ्याटबिल प्रकरणमा ठूला व्यापारिक घराना, ट्रेडिङ कम्पनी तथा हुन्डीको कारोबार गर्नेको सूची लामो रहेको समेत विभागले जनाएको छ । हुन्डीको कारोबार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा नक्कली भ्याटबिल प्रयोग गरेको पाइएको र यो प्रकरण निकै ठूलो खालको भएकाले अनुसन्धान गर्न केही समय लाग्ने विभागको अनुमान रहेको छ । नक्कली भ्याटबिल प्रकरणमा संलग्नहरूको बारेमा अनुसन्धान भइरहेकाले यसबारेमा अहिले विस्तृत बताउन नमिल्ने भन्नै पत्रकारहरुलाई जानकारी भएमा सूचना दिन समेत महानिर्देशक सुबेदीले आग्रह गरेका छन् ।

अहिलेको भ्याटबिल प्रकरण हालसम्मकै ठूलो देखिएको छ, यो बाहिर आउन केही समय लाग्नेछ । हुन्डीको कारोबारमा नक्कली भ्याटबिलको प्रयोग भएको पाइएपछि विभागले अनुसन्धान सुरु गरेको हो । यसअघि आन्तरिक राजस्व विभागले पनि नक्कली भ्याट बिलको अनुसन्धान गरेको थियो । विभागले पाँच वर्ष पहिले गरेको नक्कली भ्याटबिल प्रकरणमा ३ सयभन्दा बढी फर्म दोषी पाइएका थिए । त्यतिखेर दोषी फर्मलाई करिब ७ अर्ब रूपैयाँ कर निर्धारण गरिएको थियो ।