भीष्मको बेलायत अनुभव-दीपकमणी ‘दाजुभाइ’

भीष्मको बेलायत अनुभव-दीपकमणी ‘दाजुभाइ’


भीष्म निकै राम्रो कविता लेख्छ ।
उसका कवितामा प्रकृति र जीवनको सुन्दर चित्र हुन्छ । कतिपटक उसले कवितामा प्रकृतिको ल्यान्डस्केप नै उतारेको छ । जीवन भीष्मको प्रिय विषय हो । कवितामा ऊ अक्सर जीवनको पक्षमा उभिन्छ ।
निबन्धको कुरा गर्नुपर्दा भीष्मले निकै सबल निबन्ध लेखेको छ । निबन्धमा ऊ शब्दहरूलाई अनुभूतिको गहिराइमा डुबाउँछ । अनि अनुभूति मिसिएको शब्दलाई संवेदनाको लेप लगाएर ऊ निबन्धमा उतार्छ । त्यही भएर पनि भीष्मका निबन्ध अनुभूतिका स्वर हुन् ।
सन्दर्भ हो भीष्मको नयाँ नियात्रा घर र्फकने दिनको ।
किताबको नाम नै कति सशक्त ।
मानिसको अन्तिम नियति यही हो । घर र्फकनुको विकल्प नै कहाँ छ र हामीसँग – घर फर्किनका लागि या घरमा रहनका लागि नै हो – मानिसका यी भागदौड । मानिसका यावत् मिहिनेत र प्रयासहरू घरसँग नै जोडिएका हुन्छन् । भौतिक घरभन्दा पर यो अनुभूतिको घर हो । संवेदना र आफ्नोपन मिसिएको घरको सन्दर्भ हो- घर र्फकने दिन ।
भीष्म नियात्रामा पनि कविताको प्रयोग गर्छ । उसले कविता र निबन्धलाई पटक-पटक एकसाथ पाठकसामु पस्केको छ । यो सिलसिला घर र्फकने दिनमा पनि कायम छ । त्यसो त भीष्मका नियात्रा आफैंमा कविताजस्ता लाग्छन् । ऊ कवितात्मक शैलीमा निबन्ध लेख्छ । त्यही भएर पनि उसका निबन्धहरू प्ाठनीय बनेका छन् । यस सङ्ग्रहमा भने भीष्मले निबन्धलेखनकै क्रममा उब्जिएका कविता अझ तत्काल प्रस्फुटित भएका कवितालाई पस्किएको छ । यसले सङ्ग्रहमा विशिष्टता थपेको छ ।
नाङ्गो हुनु नै पर्‍यो भने
समुद्रजस्तै हुन परोस्
शालीन नग्नता ।
भीष्मले बेलायतमा सङ्गालेका अनुभूतिलाई घर र्फकने दिनमा समेटेको छ । नियात्राकार उप्रेतीको पछिल्लो कृति घर र्फकने दिनभित्र बेलायत अध्ययनका अनुभूतिहरूलाई सिङ्गो कृतिमा स्थान दिइएको छ । चौध विभिन्न शीर्षकका रचनाले लेखकको काव्यिक भाव र भाषालाई पनि प्रतिविम्बित गरेका छन् । नयाँहरूको साता नामक शीर्षकबाट सुरु भएको लेखन घर र्फकने दिनमा आएर टाङ्गिएको छ । अर्थात् आफ्नो अध्ययनका लागि देश छोडेर विदेश पुगेको प्रसङ्गपछि बेलायत घुमाएर पुनः आफू र पाठकलाई पनि स्वदेशमा भित्र्याई वा घर फर्काएर भीष्मले यात्राको विराम गराएको छ ।
भीष्मले बेलायत बसाइमा देखे-भोगेका यथार्थ दृश्यवर्णन मार्मिक लाग्छ । विगत र वर्तमानको तुलना, प्रगतिको फड्को, यसबीचमा भएका उतार-चढाव, व्यवस्थित काम, व्यावसायिक स्थिति, नीति र नियमको पालना, आधुनिकतामा पनि भेटिने अनुशासन, प्रविधिको उच्चतम प्रयोगलगायतका अनेकौँ पक्षमा नियात्राकारले राम्रो चित्रण गरेको छ । उसलाई के थाहा छ भने नियात्रामा पाठक पनि सँगै यात्रा गरिरहेको हुन्छ । त्यही भएर भीष्मले प्रत्येक निबन्धमा पाठकलाई साथमा राखेको छ । उसले हरेक सन्दर्भमा पाठकलाई प्रस्ट तस्बिर दिएको छ । शब्दहरूको तस्बिर । प्रत्येक निबन्ध पढिरहँदा पाठकले दृश्य महसुस गर्न सक्छन् । हामीलाई लाग्छ- भीष्मको सफलता पनि यही नै हो ।
घर र्फकने दिन वर्तमानको बेलायतको सहज तस्बिर हो । यो अनुभूतिको मात्र होइन अनुभव र यथार्थको पनि सङ्ग्रह हो । त्यही भएर यो ज्ञानबर्धक पनि छ । बेलायतका बारेमा जान्न चाहनेका लागि यो कृति उपलब्धिमूलक हुनेछ ।
डा. ताना शर्माबाट सुरु भएको बेलायतलाई शब्दमा उतार्ने क्रम अझ रोकिएको छैन । प्रत्येकले केही न केही नयाँ दिने गरेका छन् । बेलायतका बारेमा धेरै किताब आइसकेका पनि छन् । तर, बेलायत सधैं नयाँ र नौलो नै छ । यसको कारण हो लेखकको अनुभूति र शिल्प । भीष्मले पनि यस कृतिमा नयाँ बेलायत पस्केको छ ।
उसले भोगेको बेलायत उही हो तर भोगाइ पृथक छ । त्यही पृथक भोगाइलाई उसले सहज रूपमा, कवितात्मक रूपमा र भाषिक विशिष्टताका रूपमा उतारेको छ । भीष्म शब्दलाई घुमाउँदैन । बरु शब्दलाई सामान्यीकरण गर्छ । जसले गर्दा आमपाठकका लागि कृति पढनीय बन्छ ।
भीष्मका धेरै नियात्राका किताब छन् । तीमध्ये यस कृतिमा बेलायतको तस्बिर छ । तर भाषा र शैली उही र उस्तै छ । यही भीष्मको कमजोरी हुन सक्छ । त्यसो त यो भीष्मको पहिचान पनि हो । आफ्ना कृति र शैलीमा एकरूपता ल्याउनु पनि ठूलै कुरा हो । भीष्म क्रमशः उचालिएको लेखक हो । ह्वात्त आएको लेखक होइन । त्यही भएर पनि उसमा सहजता र विनम्रता छ । त्यो लेखनमा पनि छ । उसका प्रत्येक लेखन विनित छन् । ऊ पाठकलाई सर्वोपरि ठान्छ ।
त्यसो त भीष्मको आफ्नै सीमा छ । ऊ चित्रण गर्ने क्रममा कहीँ-कतै भावुक पनि बन्छ । कतै सम्झनाका नाममा असान्दरि्भक प्रसङ्गहरू पनि उब्जाउँछ । कतै-कतै आवश्यकताभन्दा बढी आदर्श पनि लेख्छ । र, पनि भीष्मले लेखनमा कहीँ-कतै बेइमानी गरेको छैन । उ, जस्तो छ त्यही लेख्छ । यही नै उसको असल पक्ष हो । हामी उसको लेखनमा रहने यही इमानदारिताको कदर गर्छौं ।