सङ्घर्षकी प्रतिमूर्ति हेलेन केलर

सङ्घर्षकी प्रतिमूर्ति हेलेन केलर


– हेमन्त खतिवडा

हेलेन केलर विश्वविख्यात लेखिका हुन् । उनले आँखाको ज्योति हराइन्, कानको सुन्ने शक्ति गुमाइन् र पनि प्रसिद्धिको चुलीमा पुगिन् अनि मार्क ट्वेनले भनेझैँ बिसौं शताब्दीको जिउँदी–जाग्दी चमत्कारी र जादुमयी व्यक्तिका रूपमा आफूलाई उभ्याइन् ।

अमेरिकास्थित अलबामाको एक सम्पन्न परिवारमा सन् १८८० मा हेलेनको जन्म भएको थियो । डेढ वर्षको उमेरमा उनी बिरामी परिन् । धेरै उपचारपश्चात उनको स्वास्थ्यमा सुधार त भयो तर उनको आँखा र कानलाई भने ठिक गर्न सकिएन ।

डेढ वर्षको उमेरमा दृष्टिविहीन बनेकी हेलेनले श्रवणशक्ति गुमाइन् । आँखा र कानबाट वञ्चित भएर पनि उनले मस्तिष्कको भने भरपुर उपयोग गरिन् । उनी जुन उचाइमा पुगिन्, त्यो सबैको लागि मार्गदर्शक र प्रेरणाको विषय थियो ।

बालिका हेलेन सुरुका दिनमा रुन्थिन्, कराउँथिन्, जतिबेला उनी सात वर्षकी थिइन् । उनको जीवनमा त्यहीबेला एनी सालिमान आइन्, एनीले धैर्यपूर्वक उनको स्याहार गरिन्, उनी ममताकी खानी थिइन् ।

सन् १८८७ को ३ मार्चमा २१ वर्षकी सुन्दरी युवती एनी सालिमान अलाबामा हेलेनको घरमा आएकी थिइन् । घरको बाटोमा उनले अस्तव्यस्त कपाल, माटैमाटो लागेको लुगा, गुलावी मैलो लुगामा रहेकी सानी हेलेनलाई देखेकी थिइन् । सानी हेलेन कपाल कोरिदिँदा कराउँथिन् मुख धोइदिँदा चिच्याउँथिन् । उनी अरुको भाषा बुझ्दिनथिन्, अरु उनको कुरा बुझ्दैनथे । यसैले उनी घरिघरि एकदम रिसाउँथिन्, असंयमित बन्थिन् ।

सुरुमा बालिकालाई शब्द नै सिकाउनुपर्छ भन्ने एनि सालिमानले जानेकी थिइन् । पछि वस्तुहरूको नाम परिचय दिलाइन् । यस कठोर साधनामा कैयौँ वर्ष बित्यो त्यसपछि क्रमिक रुपमा हेलेनलाई डा. होनको साङ्केटिक प्रणालीमा लेख्न, पढ्न सिकाइयो । उनी न्यूयोर्कमा बहिराहरूको स्कुलमा भर्ना भइन् । एनी पनि उनीसँगै जान्थिन् । हेलेनले बे्रलमा अचम्मै छिटो लेख्न र पढ्न जानिन् । एनी र हेलेन बाहिर घुम्न जान्थे, एनी वस्तुहरूको वर्णन गर्थिन् । मानिसले भनेको कुरा हेलेनलाई बताउँथिन् । एनी सालिमानको परिश्रम धैर्य र लगन देखेर मान्छेहरू आश्चर्यचकित भए ।

हेलेन दिन–प्रतिदिन शिक्षा प्राप्त गर्दै रहिन् । अब हेलेन विद्वान मानिस बन्ने क्रममा लागिन् । ग्रिह तथा ल्याटिन जस्तो कठिन भाषामा पनि उनले सिकिन् । यस अवधिमा गणित र दर्शन जस्ता महत्वपूर्ण विषयमा पनि अभ्यास प्रारम्भ गरिसकेकी थिइन् । एनी सालिमान हेलेन केलरसित लगभग पचास वर्ष वसिन् । हेलेनकी शिक्षिका सालिमान संरक्षिका र संगिनी पनि थिइन् ।

अमेरिकाको विख्यात रेड क्लिफ कलेजमा भर्ना भएर हेलेनले चार वर्षमा स्नातक गरिन् । उनका पाठ्यपुस्तकहरू बे्रल लिपिमा लेखिएका हुन्थे । उनले आफ्नी गुरुआमा सालिमानप्रति विशेष भक्ति दर्शाइन् । उनले लेखिन् पनि, ‘सुन्दर वस्तुहरूमा मेरो आनन्द कतिसम्म अन्तर्जात हो र कतिसम्म उनको प्रभाव हो म कहिल्यै भन्न सक्दिनँ । मलाई लाग्छ, उनी मेरो प्राणबाट कहिल्यै अलग हुन सक्दिनन् । मेरो हृदयका कम्पनहरू उनीभित्र नै छन् । उनको प्रिय मधुर स्पर्शले ममा सधैं आनन्दको झङ्कार पैदा हुन्छ ।’

स्नातक भएपछि हेलेन केलरले ‘मरो जीवन कहानी’ लेखिन् । उनको ‘हिस्टोरी अफ माइसेल्फ’ले संसारमा अत्याधिक बिक्री हुने कितावका रूपमा रेकर्ड राख्न सफल भयो ।

सन् १९२६ मा एनी सालिमानको मृत्यु भयो । हेलेनका निम्ति यो बज्रपात थियो । उनकी गुरुआमाको अवसानले उनी स्तब्ध बन्न पुगिन् । उनले ‘माइटिचर’मा लेखिन्– ‘म कसरी अगाडि बन सक्दथेँ, सालिमान मभित्र आशा र आस्थाका विरुवाहरू लगाएर हुर्काउन सफल नभएकी भए, म सफल हुने थिइनँ । उनले मेरो जीवन बनाउन आफ्नो जीवन खल्लो र रुखो बनाइन् । हेलेनले उत्कृष्ट कितावहरू लेखिन्, जसले संसारमा उनलाई चर्चामा ल्यायो । थुप्रै मान सम्मान उनले पाइन् ।

८८ वर्ष पुग्न लाग्दा सन् १९६८ को जुन १ मा हेलेनको अवसान भयो । त्यो दिन आकाशमा बादल लागेको थियो । सिमसिम पानी पर्दै थियो । उनको मृत्यु भए पनि उनका रचनाहरू युगानुयुग बाँचिरहेका छन् । बाँचिरहने छन् ।