नेपाली कांग्रेसको बैठकमा स्थानीय चुनावकै चिन्ता

नेपाली कांग्रेसको बैठकमा स्थानीय चुनावकै चिन्ता


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनबारे गम्भीर चासो प्रकट गरिएको बुझिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्दै सम्पन्न दुईवटा निर्वाचनमा भएका कमी कमजोरी केलाएर अबको चुनावमा करेक्सन गरी जानुपर्नेमा सहभागी नेताहरुले छलफल चलाएका थिए ।

बैठकले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको बताइन्छ । बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमजोरीलाई समीक्षा गरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो । बैठकमा स्थानीय तहको निर्वाचनको परिणाम र कांग्रेसको समग्र सांगठनिक शक्तिको परिचालनमा देखिएको कमीकमजोरीको समीक्षा गरेर आगामी चरणको निर्वाचनमा गर्नुपर्ने अख्तियारीको रणनीतिबारे छलफल सुरु भएको छ, जो भोली आइतबार पनि जारी रहनेछ ।

स्थानीय निर्वाचनको समीक्षासँगै प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पनि कांग्रेसको स्थितिलाई सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, नेताहरुले सार्वजनिक रुपमा जनतासँग लैजाने एजेण्डा तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण एजेण्डामा कांग्रेसको कौशल नेतृत्व स्थापित गर्ने ढंगले जानुपर्छ भन्नेबारे छलफल भएको बताइन्छ । बैठकमा बोल्ने सदस्यहरुले मुख्यगरी स्थानीय निकायको निर्वाचनमा कांग्रेसको यो स्थिति किन बन्यो के–के कमजोरीका कारण समस्या उत्पन्न भयो तथा निर्वाचनमा खटिने केन्द्रीय सदस्यहरुको अनुभव कस्तो रह्योलगायत विषयका साथै पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुका कारण तथा आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजान नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

मूलतः तेस्रो चरणको निर्वाचनमा अत्यधिक सिटमा विजयी हासिल गरी एक नम्बर पार्टीको हैसियत कायम गर्नेमा कांग्रेस नेतृत्व संवेदनशील भएको बताइएको छ । शनिबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्मा, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, देवेन्द्रराज कँडेल र सरिता प्रसाईले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा पार्टी पदाधिकारी एवं सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक श्रावण ८ गते आइतबार फुनः कांग्रेस केन्द्रिय कार्यालयमै बस्ने जानकारी दिइएको छ ।