भोग र शान्तिको कला

भोग र शान्तिको कला


– स्वामी आनन्द अर्हत

फ्रान्सका एक महान विचारक अल्वर्ट कामुको एक महत्वपूर्ण वचन छ, ‘मानिसले अरु केही गर्न नसके पनि, सबै ठाउँमा असफल भए पनि, केही उपलब्धि हात पार्न नसके पनि एक कुरामा उ सफल हुनसक्छ, त्यो हो– आत्महत्या ।’

आत्महत्याको अर्थ के हो भने आफ्नै आयोजनमा फसेर जीवन गुमाउनु । आफ्नै उर्जाले स्वयम्को विनाशको रुप लिनु । साधारणत: जीवन उर्जाको अभिव्यक्तिको दृष्टिले दुई किसिमका मानिस हुन्छ । एक बाहिरी तामझाम र आयोजनामा डुबेर आफूलाई भुलाउने उपायमा लाग्ने, भित्री विफलतालाई ढाकछोप गर्न स्वयम्बाट जति सकिन्छ टाढा जाने मानिसहरू र अर्का आफुलाई रुपान्तरणको बाटोमा डोर्‍याउने र शान्त चित्तले स्वधर्मको निर्वाह गर्ने ।

शिवपुरीबाबाको एक महत्वपूर्ण अभिव्यक्ति छ, ‘जबसम्म हामी परमात्माबोध गर्दैनौा तबसम्म हामीले गरेको आयोजन आखिरमा हाम्रै विरुद्ध जान्छ ।’ यो कथन विचारणीय छ । जीवनभरी हामीले आफैलाई जानीजानी दु:ख दिन त खोजेको हुँदैनौा । सुख हाम्रो आधारभूत खोज हो । तर एक सम्बोधिको शिखरमा अवस्थित व्यक्तिले यस्तो अभिव्यक्ति किन दिनुभयो ? ओशोको पनि एक उद्वरण छ, ‘सफतला जति असफल अरु केही छैन ।’ वास्तवमा हाम्रो सफलताको मापदण्ड हामी आफैभित्रको गहनता र गुणवत्ताले होइन कि संसारले नाप्न सक्ने र तारिफ गर्न सक्ने संख्यात्मक उपलब्धिले निर्धारण गरेको छ । तर संसारमा कोही सुखी छैन, सुखको प्रदर्शन र भुलावाका उपाय हजार छन् । यसमा हामी अहिले यति सिद्धहस्त भइसकेका छौा कि अब डिप्रेसन, चिन्ता, हतासा हाम्रो सामाजिक जीवनका चलनचल्तीका शब्दहरु नै हुन् । तर आफ्नो भित्री उपलब्धिको बाटो भने मानिस स्वयम् हो ।

मानिस एउटा केन्द्रबिना बााच्न सक्दैन । यसका दुई रूप छन्– एक, सदा परिर्वतन भइरहने केन्द्र जसको आध्यात्मिक नाम अहङ्कार हो भने अर्को प्रज्ञा थीर भएको स्थितप्रज्ञ चित्त । रुपान्तरणमा लागेको, साधनाको मार्ग पक्डेकाहरूको गति वास्तवमा अहङ्कारबाट स्थितिप्रज्ञ चित्तसम्मको यात्रा हो । संसार अहङ्कारबाट चल्छ भने मानिसको आनन्दको स्रोत उसको थीर चित्त हो । प्राय: सबै सफल र महत्वाकाङ्क्षी व्यक्तिलाई राम्रोसँग भित्र यो कुरा थाहा हुन्छ कि उसले खोजेको धन, सम्पति, कामसुख, इज्जत सबै पाए पनि एक भित्री असन्तुष्टिले भने उसलाई छाया झौ पिछा गरिरहको हुन्छ । अब आफ्नै छायाबाट कसरी मुक्ति पाउने ? संसारबाट पाएको इज्जत, कीर्तिको सुखलाई चित्तमा महसुस गर्न पनि शान्ति त चाहिन्छ । वेगसँग दौडेको गाडीमा बसेर मार्गमा देखापर्ने सबै दृश्यको आनन्द लिन खोज्नुभयो भने तपाईंलाई तुरुन्त यो बोध हुनेछ कि गाडी जति विस्तारो दौडियो त्यति राम्ररी, स्पष्ट रुपले रुख विरुवा, नदी खोलानाला, पोखरी देखिन थाल्छन् ।

सुन्दर दृश्य आयो भने हुनसक्छ तपाईं गाडी किनारा लगाएर रोकिनुहुन्छ र सुन्दर प्राकृतिक दृश्यावलोकनको आनन्द लिनुहुन्छ । यो तपाईंभित्र थीर भएर आनन्दित हुने तयारी हो । यसमा तपाईंभित्रको संवेदनशीलताले पनि अभिव्यक्ति पाएको हुन्छ । यो तपाईं र दृश्य बीचको पर्खाल मेटाई कुनै बाधा व्यबधानरहित आँखा अगाडिको दृश्यको प्रत्यक्ष बोध गर्ने तयारी हो । तर तपाईं हतारमा हुनुहुन्छ, कतै पुग्ने समय सीमा बााधिनु भएको छ भने यो सबै असम्भव हुन्छ । अस्थिर र विक्षिप्त मनको एक आधारभूत अकाट्य लक्षण के हो भने उसले सबै कुरा गर्न सक्छ तर शान्त हुन भने सक्दैन । किनभने, शान्ति कुनै अर्जीत वस्तु होइन यो कुनै तरङ्ग र छाल नभएको शान्त समुद्र जस्तो विशालता र भव्यताको उपस्थिति हो, त्यसको बोध हो ।

साधनामा एउटा अद्भूत तथ्यसँग साधकले जम्काभेट गर्नुपर्छ । त्यो हो मन । कुनै वस्तुगत मुल्य नभएको, सदा चलायमान, वर्तमानमा उपलब्ध स्थितिमा आनन्दित हुन छोडेर नभएकोमा वस्तुमा केन्द्रित भई दु:खको आभाष गर्ने, खोजेको वस्तु पाएपछि पनि त्यसमा असंतुष्ट हुने र अरुलाई पनि त्यसैको शिक्षा दिने– यो मनका केही विचित्र लक्षणहरु हुन् । तर शान्त चित्तमा चलेको मन भने सधै खराब हुँदैन । यद्यपि विक्षिप्त मनमा उत्पन्न हुने विक्षिप्त विचार भने सबै खराबै हुन् ।

किनभने, यसको पृष्ठभूमिमा शान्ति छैन । अशान्त मनबाट आएका विचारहरुले मानिसलाई भ्रमित गराइरहन्छ । त्यसैले मन जति भ्रमित हुन्छ त्यति नै त्यसलाई शान्त पार्न गार्‍हो हुन्छ । किनभने त्यो भित्री कोलाहलमा विचारहरू त हजार हुन्छन् तर त्यो विचारको अभियन्ता त्यहाँ कोही हुँदैन । मननशील हुने सम्भावना बोकेको मानिस अचेत रूपले चल्ने विचारहरुको भीडको शिकार हुन्छ ।

कसरी यो अनियन्त्रित चित्तलाई मननशील स्थितिमा फर्काउने ? शान्तिको अनुभव गर्ने ? आइन्सटाइनले भनेका छन्, ‘जुन स्थितिमा समस्या उत्पन्न भएको हो त्यही स्थितिमा रहेर त्यो समस्यालाई समाधान गर्न सकिादैन । त्यसभन्दा माथिको स्थितिमा उक्लनुपर्छ । अनि मात्र त्यसको नैसर्गिक समाधान पहिल्याउन सकिन्छ ।’ प्रत्येक सेकेण्डमा नयाँ–नयाँ रुप लिएर आउने विचार पनि वास्तवमा उर्जा कै रुप हुन् । बहुरुपी विचारमा एकरुपता आयो भने त्यो मन हाम्रो सेवक हुन्छ । ओशोको एक रोचक कथन छ, ‘यदि मन चेतनाको सेवक भयो भने त्यो सबैभन्दा सुन्दर सेवक हुन्छ तर यदि ऊ चेतनाकै मालिक बन्ने प्रयासमा लाग्यो भने त्यो खराब मालिक अरु कोही हुन सक्दैन ।’ तर हामी सधैं मनमै उर्जा प्रवाहमान भइरहने अवस्थाका शिकार हौा ।

अशान्त मनबाट आएका विचारहरुले मानिसलाई भ्रमित गराइरहन्छ । त्यसैले मन जति भ्रमित हुन्छ त्यति नै त्यसलाई शान्त पार्न गार्‍हो हुन्छ । किनभने त्यो भित्री कोलाहलमा विचारहरू त हजार हुन्छन् तर त्यो विचारको अभियन्ता त्यहाँ कोही हुँदैन । मननशील हुने सम्भावना बोकेको मानिस अचेत रूपले चल्ने विचारहरुको भीडको शिकार हुन्छ ।

मनको संवेगलाई कम गर्ने र चित्तको नैसर्गिक अवस्थालाई प्राप्त गर्ने उपायहरूको सबैभन्दा राम्रो उपाय ध्यान हो । तर ध्यान भन्ने वित्तिकै चुपचाप बसेर मनमा केही विचार आउन नदिने आयोजन भन्ने बुझ्ने गरेको पाइन्छ । तर त्यो केही विचार आउन नदिने विचार पनि विचारै हो । त्यसैले यस्तो अवस्थामा तनाव अरु बढ्छ । अन्तद्र्वन्द्व बढेर जान्छ । मनको यो अन्तद्र्वन्द्व राम्ररी बुझेका र ध्यानमा इमान्दारीपूर्वक अभ्यस्त व्यक्ति सिधै विचारप्रति साक्षी हुन सक्छन् र चेतनाको शुन्य अवस्थाको बोध गर्न सक्छन् । तर प्रारम्भिक ध्यानको अभ्यासमा ध्यानमा सिधै बस्नु भन्दा केही व्यायाम गरेर शरीरका प्रत्येक कोषलाई प्राण उर्जाले अरु जीवन्त पार्न सकियो भने हाम्रो समग्र उर्जाको स्थिति बढ्छ जसले चित्तको यान्त्रिकतालाई तोड्छ । चित्तको यान्त्रिकता तोडिएपछि शरीरको यान्त्रिकता पनि तोडिन्छ । शरीर हल्का, उर्जावान् बन्छ । चित्त र शरीर वास्तवमा उर्जाका दुई आयाम हुन् । एउटामा परिवर्तन आएपछि अर्कोमा पनि स्वत: रुपान्तरण शुरु हुन्छ । यो स्थिति ध्यानको प्रारम्भिक प्रयोगमा उपयोग हुनसक्छ । मनले शरिरलाई नियन्त्रित गर्ने र शरिरमा उत्पन्न संवेग र प्रतिक्रियाले मनको दशालाई पनि परिवर्तन गर्ने मन र शरीरको यो अनुपम अन्तर्सम्बन्धलाई मनोवैज्ञानिकहरूले साइको–सोम्याटिक भनेका छन् ।

यो सन्तुलनलाई हामीले विस्तारै संयोजन गर्दै गयौा भने हाम्रो जीवनमा एक संगति आउँछ । हामी आफ्ना उल्झिएका वृत्तिहरु विस्तारै सुल्झाउन सक्छौा । चिन्ता, तनाव, भयको कारण आफैभित्रको अशान्ति र अस्तव्यस्तताको कारणले हो भन्ने समझ र समाधान पैदा हुन्छ । यो समाधान सुखमय, आनन्ददायक र सृजनात्मक हुन्छ । तपाई शान्त र सुखी हुनुभयो, तपाई अरुलाई पनि भागिदार बनाउन सक्नुहुन्छ । अशान्त व्यक्तिले जतिसुकै समृद्धि जम्मा गरोस् त्यो अन्तिममा स्वयम्कै शोकको कारण बन्छ । शान्त चित्तवान् व्यक्तिले त्यो समृद्धिलाई स्वयम् पनि भोग्छ र अरुलाई पनि भागिदार बनाउाछ । जीवनलाई रास, नृत्य र संगीतको एक अभिव्यक्ति बनाउँछ । त्यसैले शान्त चित्तमा भोग र भोगमा शान्त चित्त दशा– यो अद्भूत कला नै संसार र परमात्मालाई प्रतिष्ठित बनाउने एक मात्र उपाय हो । मानव जीवनको शोभा र गौरव यसैमा छ । ओशो देशनाको सार पनि यही हो ।

(लेखक ओशो तपोवनका आवासीय ध्यान प्रक्षिशक हुन् ।)