छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा


रुपन्देहीमा विवाहित भएर पनि अर्के युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै एक युवतीलाई कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । रुपन्देहीको मर्चवारी सम्मरीमाई गाउँपालिका–६ को डिहुली गाउँमा विवाहित भएर पनि अर्के युवकसँग प्रेम गरेको भन्दै युवती मिना यादवमाथि निर्घात कुटपिट भएको थियो ।

मिनाको दिनेश लोधसँग प्रेम सम्बन्ध रहेको भन्दै उनलाई परिवारले निर्घात कुटपिट गरेका थिए । उक्त युवतीका श्रीमान भने उनलाई माइतमा राखेर विदेश गएका छन ।  यो घटना असार १९ गतेको हो । निर्धात कुटपिट भएको भिडियो सार्वजनिक भएपछि हिजो बिहीबार मात्र घटना बाहिर आएको थियो ।

महिलामाथि कुटपिटमा संलग्न भएको भन्दै रुपन्देही प्रहरीले पाँजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको र एक प्रहरी निरीक्षकलाई विभागीय कारबाही गरेको रुपन्देहीका एसपी रविन्द्र धानुकले जानकारी दिनुभयो ।

कुटपिटमा संग्लन युवतीका बुवाका इन्नर यादव, १८ वर्षका दिनेश यादव, ५५ वर्षका लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले २५ वर्षका युवक पशुपति कोइरीसहित ५ जना विरुद्ध मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति प्रहरीले घरैबाट पक्रिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । घटना भएका क्षेत्र इलाका प्रहरी कार्यालय मर्चवारीको भएको र त्यस प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयसिंह सिंजापतिले घटनाको जानकारी नगराएको भन्दै उनलाई विभागीय कारबाही गरेको धानुकले बताउनुभयो ।

प्रहरी निरीक्षक सिजापतीलाई जिल्ला प्रहरी कार्यालमा तानिएको छ । युवतीलाई कुटपिट गरेपछि स्थानीय जनप्रतिनिधि र गाउँले मिलेर युवतीको परिवारलाई एकलाख रुपैयाँ जरिवान तिराएका थिए ।