राप्रपाको आग्रहमा मन्त्रिमण्डल विस्तार रोकियो

राप्रपाको आग्रहमा मन्त्रिमण्डल विस्तार रोकियो


राष्ट्रिय प्रजातन्त्र पार्टी सहित अन्य दलको सहभागीतामा मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा कठिन भएको छ । राप्रपाभित्र चर्केको विवाद र मधेशबादी दललाई समेत सहभागी गराउने उदेश्यले अब अर्काे साता मात्रै गरिने तयारी गरेको प्रधानमन्त्री कार्यलयले जनाएको छ । सत्तारुढ दल कांग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति मंगलबार नै भएको थियो ।

तर, प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने वा नहुने भन्ने राप्रपाको निर्णय पर्खिएपछि मन्त्रिपरिषद् विस्तार अर्काे सातामात्रै हुने सम्भाबना रहेको छ ।  राप्रपाको काठमाडौंमा जारी केन्द्रीय समिति बैठक शुक्रबारमात्रै सकिने भएकाले प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न केही दिन कुर्ने निर्णयमा पुगेका हो । राप्रपाले संविधान संशोधन र सरकारमा सहभागी हुनेबारे औपचारिक निर्णय गरेपछिमात्रै मन्त्रिपरिषद विस्तार गरिने तयारी गरिएको छ ।

राप्रपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवाले संविधान संशोधनका पक्षमा ३७ जनै सांसदको ग्यारेन्टी खोजेका थिए । राप्रपाले केन्द्रीय समितिको बैठकसम्म कुर्न भनेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार केही दिनका लागि स्थगित गरेका हुन । प्रधानमन्त्री देउवालाई भेटेर राप्रपा अध्यक्ष कमल थापाले पार्टीभित्रको आन्तरिक विवाद मिलाएर सरकारमा सहभागी हुने बताएका थिए । राजपा नेपाललाई पनि निर्वाचनमा सहभागी गराउन संविधान संशोधन प्रस्ताव पारित गर्नु पर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले राप्रपाका सबै ३७ जनै सांसदले पक्षमा मतदान गर्दा दुई तिहाई पुग्ने भएकाले पनि केही ढिलाई गरेको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेसबाट सम्भावित मन्त्री ?

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न धेरैले आकंक्षा देखाएका छन् । कांग्रेसले पाउने १३ मन्त्रालयमध्ये देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४, खुमबहादुर खड्काकृष्ण सिटौला पक्षलाई १–१ वटा मन्त्रालय दिएर बाँकी आफूसँग राखेका छन् । देउवा समुहबाट भिष्मराज आङदम्बे, मिन विश्वकर्मा, भरत शाह, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेत, वीरबहादुर बलायर, बहादुरसिंह लामा, अर्जुनप्रसाद जोशी मन्त्रीको दौडमा रहेका छन् । यसैगरी, पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, बद्रि पाण्डे, किरण यादव, सरिता प्रसाइँ मध्येबाट महेश आचार्य, रामकृष्ण यादव, जीवन परियार र बलबहादुर केसीलाई पठाउने तयारी गरेको स्रोतको दाबी रहेको छ । सिटौला समूहबाट भिमसेनदास प्रधानको नाम यसअघि नै प्रधानमन्त्री देउवालाई दिइसकेको छ भने खुमबहादुर खड्का समूहबाट मोहन बस्नेत मन्त्री बन्ने लगभग पक्का भएको छ ।

माओवादीबाट मन्त्री

माओवादी केन्द्रले गिरिजामणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, आशा खनाल र शिवकुमार मण्डलको मान टुंगो लगाएको छ । यसअघि माओवादीबाट सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी भएका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन । जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह शहरी विकास मन्त्री बनिसकेका छन् ।

भागबण्डामा परेको मन्त्रालय

३० मन्त्रालयमध्ये कांग्रेसले १३, माओवादीले ९, नेपाल लोकतान्त्रिक फोरमलाई ३ तथा नेकपा संयुक्तलाई एउटा मन्त्रालय दिने र बाँकी ४ मन्त्रालय राप्रपाका लागि छुट्याउने सहमति भएको छ ।  सहमति अनुसार अर्थ, शिक्षा, श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको कांग्रेसले भौतिक पूर्वाधार, रक्षा, सञ्चार, सिँचाइ, समान्य प्रशासन, महिला बालबालिका, खानेपानी तथा सरसफाइसहितका मन्त्रालय पाउनेछन । माओवादी केन्द्रले परराष्ट्र, गृह, सहरी विकाससँगै कानुन, उर्जा, स्वास्थ्य, कृषि विकास, पशुपन्छी सहितका मन्त्रालय पाउनेछ । यसैगरी, लोकतान्त्रिक फोरमले स्थानीय विकाससँगै पर्यटन र भूमिसुधार मन्त्रालय पाउने छ । नेकपा संयुक्तलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिने र बाँकी चार वटा मन्त्रालय भने राप्रपालाई दिने सहमति दुई दलबीच भएको छ ।