मुख्य प्रशिक्षक गुरुङलाई ज्यान मार्ने धम्की

मुख्य प्रशिक्षक गुरुङलाई ज्यान मार्ने धम्की


नेपाल तेक्वान्दो संघका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले आफुलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । गुरुङले आफुलाई उक्त धम्की विदेशबाट आएको खुलासा गरेका छन् ।

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङका विरुद्धमा विभिन्न संगीन आरोप लगाउँदै राष्ट्रिय खेलकुद परिषदमा उजुरी दर्ता गराएपछि आफुलाई ज्यान मार्ने धम्की आएको प्रशिक्षक गुरुङको दाबी छ ।

विदेशबाट बारम्बार फोन गर्ने ती व्यक्तिले दीपराज गुरुङको विरुद्धमा कुनै कदम नउठाउन चेतावनी दिँदै अन्यथा गरिए त्यसको नराम्रो परिणाम भोग्नुपर्ने धम्की दिएको प्रशिक्षक गुरुङले बताए । ती व्यक्तिले फोनमार्फत दीपराज गुरुङको विरुद्धमा राखेपमा दिएको उजुरी फिर्ता नगरे हात–खुट्टा भाँचेर नदीमा फ्याँकिदिने बताएको गुरुङले जानकारी गराएका छन् ।

आफुलाई बारम्बार ज्यान मार्ने धम्की आएपछि आफ्नो ज्यान खतरामा परेको कुरा परिवारलाई जानकारी दिए पनि प्रहरीमा भने खबर नगरेको उनको भनाई छ । ‘अब मेरो ज्यान तलमाथि भयो भने त्यसको जिम्मेवारी महासचिव दीपराजले लिनुपर्ने छ, किनकि मैले राखेपमा उनीविरुद्ध उजुरी गरेपछि यस्तो ज्यान मार्ने धम्की आएको हो’, गुरूङले भने ।

स्मरणरहोस्, प्रशिक्षक गुरुङले दीपराजविरुद्ध उजुरी दिएपछि राखेपले देवकुमार अधिकारी (बद्री) को अध्यक्षमा गत साता पाँच सदस्यीय छानविन समिति गठन गरिसकेको छ । सो समितिलाई १५ दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाउन राखेपले निर्देशन दिएको छ ।