उदयपुरमा भाइरल बिरामीको चाप

उदयपुरमा भाइरल बिरामीको चाप


एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा भर्ना गराउन आउने गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ । पचास श्ययाको अस्पताल रहेको जिल्ला अस्पताल उदयपुरमा अहिले बिरामीको चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर अन्यत्र र भुइँमा समेत राखेर उपचार गर्न बाध्य हुन परेको कुरा जिल्ला अस्पताल मेडिकल शाखाका प्रमुख डा विशाल देवले बताउनुभएको छ ।

दैनिक बिरामीको संख्या बढ्दै जान थालेको र बेड खाली नभएपछि अहिले बिरामीलाई व्यवस्थापन गर्न नै हम्मे पर्ने गरेको समेत डा देवले बताउनुभयो । इमरजेन्सी ९आकस्मिक० फाँटदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिभराउ भएपछि अन्य उपचारका लागि आएका बिरामीलाई समेत बेड व्यवस्थापन गर्न समस्या रहेको समेत अस्पताल प्रशासनले समेत बताएको छ ।

अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिकासहित सुनकोशी र रौतामाई तथा उदयपुरगढी गाउँपालिका क्षेत्रमा समेत व्यापक भाइरल ज्वरो फैलिन थालेपछि जिल्ला अस्पताल उदयपुरमा बिरामीको चाप ह्वात्तै बढेको कुरा अस्पताल प्रशासनले बताएको छ । भाइरलका कारण अधिकांश बिरामी शुरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने र एक्कासि ज्वरो आउने गरेपछि धमाधम जिल्ला अस्पतालमा उपचारका लागि आउन पर्ने बाध्यता भएको उदयपुरगढी गाउँपालिका–५ का एक बिरामीका आफन्त कुमार गिरीले बताउनुभयो ।

वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन र वर्षाको कारण बाढीले फोहरवस्तु बगाउने र दुर्गन्ध फैलने गरेको कारण पनि अहिले भाइरलको प्रकोप फैलिन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भाइरलको प्रकोप बढ्दै गएपछि अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अस्पतालभित्र, भुइँमा, बेडमा र बाहिर चौरभरिसमेत भाइरलबाट प्रभावित बिरामीले नै भरिभराउ गर्न थालेको छ । रासस