झापामा आयुर्वेद उपचारमा आकर्षण बढ्दै

झापामा आयुर्वेद उपचारमा आकर्षण बढ्दै


पछिल्लो समय झापामा आयुर्वेद उपचारमा आकर्षण बढ्दै गएको पाइएको छ । आयुर्वेदिक औषधिले रोग ढिलो निको भए पनि दीर्घकालीन रूपमा स्वास्थ्यमा असर नपर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डाक्टर केकिन राईले बताउनुभयो ।

आयुर्वेदको महत्व बुझ्दै गएपछि आकर्षण बढ्दै जाने राईले बताउनुभयो । झापामा आर्थिक वर्ष ०७३÷७४ मा ३४ हजार १६ जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा तीन हजार ६ सय ४७ ले बढी हो । आर्थिक वर्ष ०७२÷७३ मा जिल्लामा ३० हजार ३ सय ६९ जनाले उपचार सेवा लिएका थिए भने आव ०७१÷७२ मा २६ हजारले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले जनाएको छ ।

झापामा सातवटा आयुर्वेद स्वास्थ्य औषधालय रहेका छन् भने जिल्लाको बाहुनडाँगी, बुधबारे, शनिश्चरे, दुधे, बैगुनधुरा, चकचकी र शरणामतीमा आयुर्वेद औषधालय र लखनपुर, सुरुङ्गा र खुदुनाबारीमा गाउँघर क्लिनिक सञ्चालनमा रहेको छ । त्यस्तै, स्तनपायी आमा (मातृशिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क स्वास्थ्य आयुर्वेद स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम र घुम्ती शिविरबाट नौ हजार ८५ जनाले सेवा लिएको कार्यालयका तथ्याङ्क शाखाका मनोजकुमार पण्डितले जानकारी दिनुभयो ।
– रेजिना गौतम