नेपाली कलाले रङ्गिँदै बेल्जियममा नेपाली महोत्सव

नेपाली कलाले रङ्गिँदै बेल्जियममा नेपाली महोत्सव


– डिल्लीराम अम्माई, बेल्जियम

नेपाली कला र मातृभूमिप्रति सम्मानभावले ओतप्रोत हुँदै बेल्जियमको आन्तोर्पेनमा नेपाल फेस्टिबल सम्पन्न भएको छ । मातृभुमिप्रति मनोवैज्ञानिक मोह जगाउने सो फेस्टिबलमा आफ्ना लालाबालासहित बेल्जियमबासी नेपालीहरूको भब्य उपस्थिति रहेको थियो भने नेपाली आतिथ्यलाई स्वीकार गर्दै हजारौँ बेल्जिक नागरिकको समेत उपस्थिति रहेको थियो ।

यो फेस्टिवल एनआरएनए बेल्जियमको इतिहाससँग जोडिएकोले पनि यसको महत्व अधिक रहेको छ । पहिलो नेपाल महोत्सव २००८, २१ जुन शनिबार र २२ जुन आइतबार पर्यटकलाई नेपाल जान उत्प्रेरित गर्ने कार्यक्रमसहित दुई दिनसम्म उत्सवको रुपमा सम्पन्न भएको थियो ।

तत्कालिन एनआरएनए बेल्जियमका प्रथम अध्यक्ष युवराज गुरुङ संयोजकत्वमा नेपाली दूतावास बेल्जियम र बेल्जियमस्थित विभिन्न संघसंस्थाको सहकार्यबाट बेल्जियममा प्रथम नेपाल फेस्टिवलको आयोजना गरिएको थियो । बेल्जियमका अग्रज रविन्द्रमान श्रेष्ठ, तत्कालिन उपाध्यक्ष गंगाधर गौतम, बालेन्द्र तमु, जानकी गुरुङलगायत धेरै नेपालीहरुको त्यो महोत्सवमा अतुलनिय योगदान थियो ।

त्यसबेलाको नेपाल फेस्टिबल पनि आन्त्वेर्पेनकै बर्गर्हाउटमा भएको थियो । पुनः यही सुन्दर नगरी आन्त्वेर्पेनमै नेपाल महोत्सवको बेनेलक्सका महामहिम लोकबहादुर थापाले पानसमा बत्ति बालेर उद्घाटन गर्दा प्रवासमा नेपाली राष्ट्रियता र अपनत्वले नेपाली दर्शकहरुलाई तालीको गड्गडाहट रोक्न मुस्किल बनायो ।

समयको अन्तरालमा यो महित्सबले आफ्नो निर्दिष्ट लक्ष्य पूरा गरिरहेको छ वा परम्परा मात्र धानेको हो, त्यो त समीक्षाको विषय होला, तर पनि बेल्जियमको अर्को पुस्ता र बेल्जियन नागरिकलाई नेपाल चिनाउँदै सदभावपूर्ण भ्रमणको उत्प्रेरणा जगाउन यो महोत्सवले दीर्घकालिक र गहन भूमिका निर्वाह गरिरहेको छ भन्ने कुरामा शंका छैन ।

ज्ञातव्य छ, पहिलो नेपाली महोत्सवमा पनि आकर्षक नेपाली भेषभुषाको प्रदर्शनी गर्दै बेल्जियम र नेपालको राष्ट्रिय गान गाइएको थियो। नेपालमा पर्यटनको विकाशका लागि डकुमेन्ट्रीहरू देखाइएको थियो । नायिका वर्षा खड्काद्वारा दोस्रो चरणमा नृत्य प्रदर्शन गरिएको थियो भने निर्माता अमृत लामाको चलचित्र झाँक्रीको पनि प्रदर्शन गरिएको थियो।

पहिलो महोत्सवका यी प्रक्रिया पुन दोहोरिएका छन् । किरात समाज, पाशा पुचः , तमु समाज लगायतका आफ्ना भेषभुषामा सजिएका सांस्कृतिक झाँकीहरुसहित नेपाली परम्परागत बाद्यवादनले बेल्जियमको मुटु इतिहासमा जस्तै हिजो पनि पुनः ब्युँझाइदिएको छ ।

यस पटक पनि स्थानीय कलाकारहरुको नृत्य तथा गायनले दर्शकलाई नचाउन सफल भएको थियो । त्यसैगरी नेपाली वाद्यवादनका सामानहरुको परिचयका साथै नेपाली मौलिक धुनहरुले कार्यक्रमको रौनकता झनै थपेको थियो।

बेल्जियन तथा नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको सो नेपाल फेस्टिवलमा बिभिन्न नेपाली सँघसंस्था, नेपाली दूतावास, ट्राभल एजेन्टलगायत बेल्जियन सँघसंस्थाहरुले पनि नेपालीपन झल्कने स्टल लगाएका थिए।

त्यस्तै, २०१४ को अक्टोबर २, ३, ४ र ५ मा बेल्जियमको पर्यटकीय शहर सोदफोन्टेनमा भएको कार्यक्रम पनि नौमती बाजाको धुनले स्मरणयोग्य र भब्य रहेको थियो । ‘सानो नेपाल’ नामक उक्त चार दिने महोत्सवले पनि नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो इतिहास कायम गरेर समापन भएको थियो ।

यो महोत्सबको सांस्कृतिक महत्व जति धेरै छ त्यत्तिकै पर्यटकीय महत्व पनि रहेको छ । त्यसैले यो कार्यक्रमको दिर्घकालिन महत्वलाई कसैले इन्कार गर्न सक्दैन । अहिलेलार्इ, बेनेलक्सका निम्ति नेपाली राजदुत लोकबहादुर थापासहित दुतावास परिवार र एनआरएनएका अध्यक्ष गंगाधर गौतमसहित एनआरएन परिवारको साझा प्रयासले कार्यक्रम भव्य रुपमा सफल भएको छ । प्रमुख अतिथि राजदुत थापाबाट नेपाल भ्रमणको लागि सम्पूर्ण बेनेलक्सका नागरिकहरुलाई खुल्ला आह्वान गर्दै महोत्सबको समाप्ति भयो । सबै बोल्ने बक्ताहरुले नेपाल प्रति सदभाव देखाए । आयोजक संगठनका अध्यक्ष गंगाधर गौतमको अध्यक्षता र महासचिव लोक दाहालको संचालनमा सम्पन्न औपचारिक मेलामा बेल्जियमका सभासद र उच्च पदस्थहरुको समेत उपस्थिति रहेको थियो ।