यसकारण भारतीय बजार पुग्छ नेपाली दूध

यसकारण भारतीय बजार पुग्छ नेपाली दूध


नेपाली बजारमा भन्दा भारतीय बजारमा दूधको मूल्य बढी पाउने भएपछि दक्षिणी झापाका दूध व्यवसायी दूध बिक्रीका लागि भारतीय बजारमा पुग्ने गरेका छन् । कृषकबाट ४० रुपैयाँमा खरिद गरेको दूध डेरीमा दिँदा ३८ देखि ३९ रुपैयाँ मात्र पाइने तर त्यही दूध भारतीय बजारमा पु¥याउँदा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा बिक्री हुने दुग्ध व्यवसायी पुण्यप्रसाद पौडेलको भनाई छ ।

किसानले उत्पादन गरेको दूध संकलन गरी दैनिक १५० लिटर दूध आफूले भारतीय बजारमा लगी बिक्री गर्ने गरेको झापा गाउँपालिका–६ का पौडेलले बताए । कनकाई नगरपालिकाको सुरुङ्गास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थालेका हुन् ।

झापाको दक्षिणी भारतसँग सीमा जोडिएका घेरावारी, शरणामती, कुमरखोद, केचना, बनियानीलगायत कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् ।

झापामा आर्थिक वर्ष ०७२/७३ मा चार अर्ब ५० करोड रुपैयाँ बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए भने उत्पादित दूधको ८० प्रतिशत जिल्लामै खपत हुने गरेको जानकारहरु बताउँछन् ।

– रेजिना गौतम