वर्षाको झोलीमा किन भएन फिल्मको वर्षा ?

वर्षाको झोलीमा किन भएन फिल्मको वर्षा ?


‘मलाई चलचित्रमा काम गर्ने खासै चाहना थिएन’ भन्दै मोडलिङमा कमाएको ख्याति भजाएर फिल्मी दुनियाँमा प्रवेश गरेकी सुन्दरी हुन् वर्षा सिवाकोटी । तर, अनुहार सुन्दर र नाम वर्षा भए पनि उनको पोल्टामा फिल्मी अफरको वर्षा भने हुन सकेन । दुई–तीन वर्षको अन्तरालमा जम्माजम्मी त्यति नै सङ्ख्याको चलचित्रमा काम गरेको अनुभव बटुल्न सकेकी छिन् वर्षाले । कुनै पनि सक्रिय एवम् महत्वाकाङ्क्षी नायिकाको निम्ति यो चिन्ताकै विषय हो ।
दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरेर सफल मोडलको छवि बनाएकी वर्षामा आखिर के कुराको कमी रह्यो होला, जसले फिल्मी प्रतिस्पर्धामा उनलाई पछि पारिरहेको छ ? हुन त सच्चा कलाकारका लागि सङ्ख्या ठूलो कुरा होइन, उसको अभिनय महत्वपूर्ण पक्ष हो । नाइँ नभन्नू ल, पशुपतिप्रसाद र सुब्बा साबजस्ता फिल्ममा छोटा–मोटा भूमिका निर्वाह गरेकी वर्षाका लागि भावी दिनमा पछिल्तिर फर्कनुपर्ने अवस्था आइनपर्ला भन्ने विश्वास र कामना उनीसँग काम गरेका सिनेकर्मी र प्रशंसकहरूको पनि रहिआएको हो । तर, भाग्यले कसैको अनुहार र व्यवहार हेर्दोरहेनछ । कमसेकम वर्षाको हकमा यस्तै टीकाटिप्पणी गर्न थालेका छन् उनका सहयात्रीहरू ।

सानैदेखि डान्समा अत्यन्त रुचि राख्ने वर्षा उनको त्यही प्रतिभाकै कारण पनि म्युजिक भिडियोहरूमा जमेकी हुन् । तर, त्यस क्षेत्रमा गुटबन्दी अत्यधिक हुन थालेपछि उनको मन मर्दै गयो र ठूलो पर्दातिर आकर्षित हुन पुगिन् । आयआर्जनको हिसाबले त म्युजिक भिडियो नै उनका लागि फलिफापयुक्त थियो । तर, चलचित्रको कलाकारका रूपमा पाइने ‘हाइट’ म्युजिक भिडियोमा जतिसुकै जमे पनि पाइँदोरहेनछ भन्ने बुझाइले उनलाई चलचित्रतिर तान्यो । म्युजिकल मोडलकै रूपमा आफ्नो स्तर मेन्टेन गर्न खोज्दा उनलाई घमण्ड प्रदर्शन गर्न खोजेको आरोप लगाएर किनारा लगाउन खोजियो । यस्तै–यस्तै तिक्त अनुभूति सँगाल्दै चलचित्रकी नायिका बनेर चम्किने सपना बोकी वर्षा सेल्युलाइड स्क्रिनतर्फ आकर्षित भएकी थिइन् ।

सोचेजस्तो सफलता हात नलागेको भए पनि आफ्नो स्तर घटाउन हुँदैन भन्ने धारणाले जरा गाडेको छ यतिबेला वर्षाको मनमा । कलाकार भएपछि स्टारडम मेन्टेन गर्नुपर्छ, आफ्नो फेस भ्यालु घटाउनुहुँदैन । बाहिर पनि जता पायो त्यता गएर बस्नुहुँदैन, दर्शकका लागि सधैँ कुतूहलमा रहनुपर्छ भन्ने ब्रह्मज्ञानलाई मन्त्र नै ठानेर मनमा गमिरहन्छिन् आजभोलि वर्षा । जतिसुकै खाली बस्नुपरे पनि सेलेक्सन गरेरै काम गर्ने उनको सोच छ, अन्यथा रहे–भएको करिअरमा नै घाटा पुग्ने उनको बुझाइ छ । फाल्टु गफ गरेर समय बिताउने कुराको प्रवल विरोधी वर्षा आफ्नो कमजोरी थाहा दिएर मानिसलाई खेल्ने ठाउँ दिनुहुँदैन पनि भन्छिन् । यस बुझाइलाई व्यवहारमा उतार्दा उनी घमण्डी कहलिएकी छिन् । कहीँ न कहीँ आफ्नो यही स्वभावले काम दिनेहरूले कन्जुस्याइँ गरेको लख पनि काट्छिन् उनी । तर, नभएको क्षमता प्रदर्शन गरेर हाइफाई लाइफ बाँच्नेहरूको चकचकी बढेको परिवेशमा आदर्शको कुरा गरेर वर्षाको झोलीमा कसरी फिल्मको वर्षा होला त ? उनको प्रशंसकका लागि यो प्रश्नले चाहिँ घोचिरहने नै देखियो ।