डडेल्धुराका काङ्ग्रेस सभापति भन्छन् : प्रधानमन्त्रीज्यूका मान्छेले भट्टीबाट टिकट बाँडे

डडेल्धुराका काङ्ग्रेस सभापति भन्छन् : प्रधानमन्त्रीज्यूका मान्छेले भट्टीबाट टिकट बाँडे


काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काङ्ग्रेस पराजयको कारण स्वयम् देउवाको कार्यशैली र व्यवहार भएको निष्कर्ष उक्त जिल्लाका काङ्ग्रेस सभापति कर्ण मल्लले निकाल्नुभएको छ । निर्वाचन परिणाम आइसकेपछि राजधानी आइपुग्नुभएका सभापति मल्लसँग गत सोमबार अपराह्न घटना र विचारले डडेल्धुरा र प्रधानमन्त्री देउवामा केन्द्रित रहेर कुराकानी गर्दा उहाँले भन्नुभयो, ‘मैले दिएको सुझाव र सिफारिसअनुसार केन्द्रीय सभापतिज्यूले गरिदिनुभएको भए डडेल्धुराका सबै गाउँपालिका र नगरमा काङ्ग्रेसको विजय निश्चित थियो ।’ मल्लले अगाडि भन्नुभयो, ‘सभापतिज्यूले खटाएका मान्छेले भट्टीबाट टिकट बाँडे ।’

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र उहाँको गृहजिल्ला डडेल्धुराका काङ्ग्रेस सभापतिको जिम्मेवारीमा रहेको तपाईं निकै इनर्जेटिक युवा नेताको रूपमा चिनिनुहुन्छ, तर डडेल्धुराकै सदरमुकाममा समेत एमाले विजयी बन्यो, यसमा कमजोरी देउवाको मात्र हो कि तपाईंको पनि भन्ने हाम्रो जिज्ञासामा मल्लको जवाफ थियो, ‘पार्टीको जिल्ला सभापति भएको नाताले यसको लागि मेरो भागमा जे–जति जिम्मेवारी आइपर्छ त्यो लिन म तयार छु । तथापि, वर्तमान केन्द्रीय सभापति सम्माननीय प्रधानमन्त्रीको गृहजिल्लासमेत रहेको डडेल्धुरामा पार्टीका सबै साथी मरिमेटेर लागेका हुन् । तर, टिकट दिँदा स्थानीय कार्यकर्ताको भावनाअनुरूपभन्दा पनि पार्टी सभापति देउवाज्यूकै चाहनाअनुसार दिइयो । परिणाम एमालेको पक्षमा जानुको मूल कारण यही हो भन्ने लाग्छ मलाई ।’

० देउवाजीले टिकट दिँदा जिल्ला समिति या तपाईंहरूको सिफारिसलाई आधार बनाउनुभएन ?

– बनाउनुभएन । हामीले नौपटक मिटिङ ग¥यौँ, उहाँले जो–जो मानिससँग भेट भन्नुभयो, उहाँहरूलाई भेट्यौँ । जस्तो कि उहाँले रमेश लेखक र एनपी सावदलाई खटाउनुभएको थियो । यस्तै जिल्लामा मेरा प्रतिस्पर्धी भनेर चिनिएका दुईजना साथीलाई खटाउनुभएको थियो । सभापतिज्यूको निर्देशनबमोजिम उहाँहरूसँग पटक–पटक भेटेर जिल्लाको यथार्थ राख्यौँ । एउटा निवेदनसमेत दिएका थियौँ हामीले केन्द्रीय कार्यालयमा । सभापतिज्यूको गृहजिल्ला भएकोले जिल्लाका उम्मेदवार बन्न आकाङ्क्षी साथीहरूलाई एक ठाउँ राखेर छलफल गराई टुङ्ग्याइदिन त्यस निवेदनमा सभापतिसँग आग्रह गरिएको थियो । पटक–पटक उहाँ स्वयम्लाई भेटेर पनि आग्रह ग¥यौँ, तर त्यो पहलकदमी उहाँले गरिदिनुभएन । जिल्लाका २ सय ७४ स्थानमध्ये १ सय १९ स्थानमा निर्विरोध उम्मेदवार छानिएका र बाँकी स्थानका लागि छनोट गर्न गाह्रो परेपछि गत जेठ २५ गते नै मैले यसरी टिकट दिँदा राम्रो हुन्छ भनेर कारण र सुझावसहित केन्द्रीय सभापतिज्यूलाई आग्रह गरेको थिएँ । नम्बर एक, गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखका लागि गाउँ तहबाट या स्थानीय स्तरबाट जसको नाम सिफारिस भएर आएको छ त्यसैका आधारमा सभापतिज्यू या केन्द्रले चयन गरिदिए सबैको लागि मान्य हुन सक्छ, दोस्रो– दाबेदारी गर्नेहरूमध्येबाट बहुसङ्ख्यक साथीहरू जसको पक्षमा छन् उनीहरूलाई दिँदा पनि उपयुक्त र प्रभावकारी हुन्छ भनेर मैले आग्रह गरेको थिएँ । तेस्रो– वडाध्यक्ष र सदस्यहरूको हकमा चाहिँ पार्टीको सम्बन्धित वडाको सभापति र त्यो वडाबाट यदि जिल्ला नेतृत्वमा आएको साथी छ भने उहाँहरू दुईजनाको सल्लाहअनुसार टिकट वितरण गरिदिएमा हामी असाध्यै राम्रो ढङ्गले चुनावमा जान सक्छौँ भन्ने सल्लाह–सुझाव लिखित रूपमै केन्द्रीय कार्यालयमा सभापतिज्यूलाई भेटेरै उहाँको हातमा मैले कपी नै दिएर आग्रह गरेको थिएँ । तर, हामीले भनेबमोजिम उहाँले गरिदिनुभएन ।

० तपाईंको सुझाव या सिफारिस त कार्यान्वयन गरिएनछ, देउवाजीले कसको आधारमा टिकट बाँड्नुभएको होला त ?

– उहाँ स्वयम् संसद्मा पाँचपटक निर्वाचित भएको जिल्ला डडेल्धुरा भएकोले उहाँलाई त्यहाँको भूगोल, रीतिथिति, त्यहाँको धर्म, संस्कृति, त्यहाँको समस्या र त्यहाँका सबै साथीभाइका बारेमा असाध्यै राम्रो ज्ञान छ भन्नेमा म द्विविधामा छैन । उहाँले सबै साथीभाइलाई हेर्नुभयो होला, अनि आफूलाई उपयुक्त लागेकालाई टिकट दिनुभयो ।

० सबैको बारेमा ज्ञान थियो भने तपाईंको सिफारिस कार्यान्वयन गर्न हुँदैन भन्ने सोचचाहिँ कसरी आयो होला त उहाँलाई ?
– यतिबेला डडेलधुराका आमकाङ्ग्रेस कार्यकर्ता यसबारे अत्यन्त गुमराहमा परेका छन् । त्यसैले यो प्रश्न हाम्रा सभापतिज्यूलाई नै सोधेर जवाफ दिलाइदिनुभएमा मलगायत जिल्लाका तमाम साथीहरूले ठूलो ज्ञान पाउँथे, सभापतिज्यूबाट आउने जवाफ हाम्रो लागि ठूलै कोसेलीसरह हुने थियो ।

० तपाईं डडेल्धुरा काङ्ग्रेसको जिल्ला सभापति हुनुहुन्छ, यदि तपाईंको सुझावअनुसार टिकट वितरण गरिएको भए त्यहाँ कति सिटजति काङ्ग्रेसको पोल्टामा पथ्र्यो होला त ?
– यो प्रश्नको जवाफ स्वयम् हाम्रा सभापतिज्यूको सामुन्ने रहेर दिन पाएको भए मेरा लागि अत्यन्त मिठासपूर्ण हुन्थ्यो भन्ने लाग्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा होमिने पार्टीको निर्णयसँगै हाम्रो पार्टीको पहिलो आमसभा ७ नम्बर प्रदेश धनगढीमा भएको थियो । त्यो आमसभाभन्दा ठीक अघि जिल्लाका सबै साथीहरू मसँग सहमत राख्ने र विमति राख्नेसहित सबै मिलेर केन्द्रीय सभापतिज्यूले हस्ताक्षर गरेको सदस्यता कार्ड वितरण गरेका थियौँ जिल्लाभर घुमेर । त्यसलगत्तै हुन लागेको उक्त आमसभाको दिन बिहानै मैले सभापतिज्यूसँग झन्डै सवा घण्टाजति भेटघाट र कुराकानी गर्ने अवसर पाएको थिएँ । सो क्रममा मैले जिल्लाको समग्र वस्तुस्थिति जानकारी गराएँ, उहाँले जानकारी लिनुभयो । त्यतिबेला उहाँले मेरो कुरा ‘ह्याप्पीली एग्री’ (खुसीसाथ स्वीकार) गर्नुभयो । त्यतिबेला मैले उहाँसग दाबीसाथ के भनेँ भने, ‘मैले भनेअनुसार टिकट वितरण गर्न सभापतिज्यू सहमत हुनुभयो भने र मैले बनाएको रणनीतिअनुसार चुनाव अभियान सञ्चालन गर्न हजुरले अभिभावकत्व दिनुभयो भने सकभर त २ सय ७४ वटै स्थान, नभए पनि सातवटा प्रमुख र उपप्रमुख गरी चौधसहित कम्तीमा अढाइ सय स्थानमा जिताएर देखाउन सकिनँ भने भविष्यमा हजुरबाट म राजनीतिक रूपमा कुनै अपेक्षा राख्नेछैन, मलाई पार्टीगत रूपमा जस्तो व्यवहार गर्नुपर्छ गरे हुन्छ, म जिल्ला सभापति पदबाटै राजीनामा दिन तयार हुनेछु !’ मेरो कुरा सुनेपछि उहाँले ‘हुन्छ’ पनि भन्नुभएको थियो । तर, त्यसको झन्डै डेढ महिनापछि जेठ २९ गते उहाँले आफूखुसी हस्ताक्षर गरेर टिकट बाँड्ने निर्णय लिनुभयो । जिल्ला सभापतिका नाताले मैले अपमानित महसुस गर्नुपर्ने फैसला केन्द्रीय सभापतिज्यूबाट आउँदा जिल्लाका साथीहरू पनि निराश भए । तर, आदरणीय देउवाज्यूको सामीप्य मैले बच्चैदेखि पाए पनि म किसुनजीबाट राजनीतिक रूपमा दीक्षित कार्यकर्ता भएकोले पार्टीका सबै साथीहरूलाई मैले आफू अपमानित भए पनि पार्टीलाई अपमानित हुन दिनु हुँदैन भनी सम्झाउँदै सभापतिज्यूले दिनुभएको लिस्टअनुसारकै उम्मेदवार बोकेर मलगायत तमाम साथीहरू चुनावमा होमिएका हौँ ।

यसपालि त यतिसम्म दुर्भाग्य भयो कि जेठ ३० गते जिल्लामा रहँदा मलाई एपेन्डिसाइटको समस्या भएर अप्रेसन गर्नुपर्ने अवस्था आइप¥यो र म फर्केर काठमाडौं आउनुप¥यो । अप्रेसन गराएर म हस्पिटलाइज्ड हुँदा उम्मेदवारका टिकटहरू केन्द्रीय कार्यालयबाट कसलाई बुझाउने, कोमार्फत दिने भन्नेसम्म पनि मलाई एकपटक सोधिएन । तथापि, सम्माननीय प्रधानमन्त्रीज्यू मेरो स्वास्थ्यवस्था बुझ्न अस्पताल आउनुभएको थियो । उपचारको बन्दोबस्तीका लागि उहाँले विशेष पहलकदमी नै लिनुभएकोमा उहाँप्रति म आभारी पनि छु । तर, म जिल्ला सभापति अप्रेसन गराई पार्टी कार्यालयनजिकको अस्पतालको बेडमा रहँदा निर्णय भएका चौध र बाँकी दुई सय साठीवटा टिकट कसको माध्यमबाट जिल्ला पठाउने भनी केन्द्रीय कार्यालयबाट सोधिएन । मसँग जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका पूर्वसभापति रघुवर भट्ट र महासमिति सदस्य गोविन्द बोहरालाई त्यो जिम्मा लगाइएको रहेछ । उहाँहरूमध्ये बोहराजी मलाई भेट्न आई भन्नुभयो कि निर्णय भइसकेका टिकट हामी लिएर जाँदैछौँ, बाँकी तलका टिकट के गर्ने ? केन्द्रीय सभापतिकै निर्देशनअनुसार भट्टजी, बोहराजी र म गरी तीनजनाबीच पटक–पटक बैठक हुन्थ्यो । तलका दुई सय साठीमध्ये एक सय उन्नाइस निर्विरोध भइसकेका छन्, बाँकी स्थानमा तपाईं–हामीबीच जे निर्णय भएको छ त्यसैअनुसार टिकट वितरण गर्नुहोला भनी मैले उहाँहरूसँग आग्रह गरेँ । तपाईंहरू सोझै जिल्ला पार्टी कार्यालय जानुहोला, जिल्ला उपसभापतिसँग समन्वय गर्नुहोला, सबै साथीहरूलाई बोलाएर सम्झाउने प्रयत्न गर्नुहोला, विधिवत् तवरले डडेल्धुरा बसपार्कमा एउटा आमसभा गरेर टिकट वितरणको निर्णय गर्नुहोला भनेर उहाँहरूलाई मैले सुझाव दिएको थिएँ । तर, केन्द्रीय सभापतिज्यूको प्रतिनिधिका रूपमा उहाँहरू जिल्ला जानुभयो र आफ्नै ढङ्गले टिकट बाँड्नुभयो । म कस्तो ‘भाग्यमानी’ जिल्ला सभापति परेछु कि २ सय ७४ वटा टिकट बाँड्दा एक वचन मलाई सोधिएन, एक कल फोनसम्म पनि गरिएन । उहाँहरू पार्टी कार्यालयसम्म जाने कष्ट पनि नगरी घरैबाट टिकट बाँड्नुभएछ । सही ठाउँमा सही मानिसलाई उम्मेदवार नबनाइनु, समयमै टिकट उपलब्ध नगराइनु, टिकट बाँड्ने जिम्मेवारी केन्द्रीय सभापतिज्यूबाट पाएकाहरूले भट्टीमा बसेर, सडकमा उभिएर, चिया पसलमा बसेर बाँडे । टिकट नपाएका साथीहरूलाई विश्वासमा लिने प्रयास पनि उहाँहरूबाट भएन । तीन–चार वर्षयता सम्माननीय शेरबहादुर देउवाज्यू डडेल्धुराका सीमित साथीहरूको मात्र नेता रहनुभएको व्यवहार प्रस्तुत भइरहेको छ । त्यसबेला म बिरामी परेकोले परामर्श नगरिएको भनौँ भने पार्टीको डडेल्धुरा जिल्ला सभापतिको वडामा कसलाई टिकट दिइँदै छ भन्ने उपसभापति स्वयम्लाई समेत पनि जानकारी नदिई वितरण गरिएछ ।

० यसबाट डडेलल्धुरा जिल्ला सभापतिको त केही हैसियत नै रहेनछ भन्ने सन्देश त गएन जिल्लाका आमकार्यकर्ता साथीहरूमा ?
– स्थानीय निर्वाचनको टिकट वितरणको क्रममा भएका यी घटनाक्रमका अलावा अन्य यस्ता थुप्रै सन्दर्भ पनि छन्, र यसबारे जिल्लाका काङ्ग्रेस कार्यकर्ता मात्र नभई हाम्रा आममतदातासमेत पूर्ण रूपले जानकार छन् । उहाँहरूले म र मेरो पोजिसन राम्रैसँग बुझ्नुभएको छ र के हुनुपर्ने अनि के र किन भइरहेको छ, त्यो पनि बुझ्नुभएको छ ।

० डडेल्धुराको सदरमुकाम रहेकै नगरपालिकामा काङ्ग्रेस पराजित हुन पुगेको छ, यसले त्यहाँको राजनीतिमा अब कस्तो प्रभाव पार्ला ?
– वर्तमान केन्द्रीय सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आममतदाताले हेर्ने दृष्टिकोण एउटा छ, त्यो दृष्टिकोण सकारात्मक छ । तर, उहाँको नामबाट दुई–चार वर्षयता डडेल्धुरामा जुन गतिविधि भइरहेका छन्, यस गतिविधिका कारण आमकार्यकर्ता अत्यन्त नैराश्यपूर्ण अवस्थामा पुगेका छन् ।

० देउवाजीको नामबाट त्यस्तो गतिविधि गर्नेचाहिँ को हुन् त, पहिचान गर्नुभएको छैन ?
– त्यो स्वयम् केन्द्रीय सभापतिज्यूलाई पनि थाहा छ र आमकार्यकर्ता साथीहरूलाई पनि थाहा छ ।

० तर, हामीलाई त थाहा छैन नि, जानकारी दिन मिल्दैन र ?
– जवाफ दिनैपर्दा सभापतिज्यूले विश्वास गर्नुभएका, पत्याउनुभएका व्यक्तिहरू नै हुन् ती, अहिलेलाई यत्ति मात्र भन्न सकिन्छ ।

० अन्त्यमा, थप केही भन्नुहुन्छ ?
– नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशनबाट आदरणीय शेरबहादुर देउवाज्यूलाई पार्टीको सभापति बनाउन आफ्नो स्थानबाट निर्वाह गर्नुपर्ने भूमिका खेल्ने प्रणसहित मैले आफ्नो लक्ष्य नै त्यही बनाएको थिएँ । दोस्रो, ०४९ सालमा जिल्ला विकास समिति निर्विरोध रूपमा काङ्ग्रेसले बनाएको डडेल्धुरा ०५४ मा भूलवश एमालेको पोल्टामा गएको थियो, आफू जिल्ला सभापति भएपछि त्यो स्थान फेरि काङ्ग्रेसमै फर्काउने मेरो लक्ष्य थियो । ग्राउन्ड रियालिटी बुझेर हामीले दिएको सुझावअनुसार टिकट वितरण हुन नसक्दा आज यस्तो परिणाम आएको छ । तथापि, टिकटका कारण उत्पन्न पीडा, मतभेद र अपमानका बाबजुद आमसाथीहरू र मतादाता दाजुभाइ–दिदीबहिनीहरूले आफू अपमानित भएर पनि पार्टीलाई अपमानित हुनबाट बचाउनुभएको छ । यसका लागि सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । यो परिणाम आदरणीय सभापतिज्यूको व्यक्तित्व, प्रभाव र कार्यकर्ताहरूले बनाएको सङ्गठनकै सम्मिश्रण हो भन्ने मेरो ठम्याइ छ ।