१२औँ सागमा राष्ट्रघात भएकै हो

१२औँ सागमा राष्ट्रघात भएकै हो


– ध्रुव गुरुङ (तेक्वान्दोका मुख्य प्रशिक्षक)

नेपाल तेक्वान्दो सङ्घका मुख्य प्रशिक्षक ध्रुव गुरुङले तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङविरुद्ध विभिन्न आरोप लगाउँदै राखेपमा उजुरी दर्ता गराएपछि नेपाली खेलकुद तरङ्गित बनेको छ । तेक्वान्दोलाई मेनपावरको रूपमा विकास गरेको, खेलाडी र प्रशिक्षकको भत्ता नदिएको, प्रशिक्षकमाथि भेदभाव गरेको, १२औँ सागमा नेपाललाई स्वर्ण पदकविहीन गराउन अहम् र अदृश्य भूमिका निभाएर आर्थिक चलखेल गरेकोजस्ता दर्जनौँ आरोप मुख्य प्रशिक्षक गुरुङले महासचिव गुरुङमाथि लगाएका छन । तेक्वान्दोका हिटलरको रूपमा परिचित महासचिव दीपराज गुरुङप्रति सङ्गीन आरोप लगाउँदै कारबाहीका लागि राखेपमा उजुरी दिएर मुख्य प्रशिक्षक गुरुङ एकाएक चर्चाका शिखरमा पुगेका छन् । उनै चर्चित प्रशिक्षक ध्रुव गुरुङसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङविरुद्ध विभिन्न आरोप लगाउँदै राखेपमा उजुरी दर्ता गराउनुभएको छ, उजुरी नै हाल्नुपर्ने बाध्यता कसरी उत्पन्न भयो ?
– महासचिव दीपराज गुरुङको तेक्वान्दो सङ्घमा बढ्दै गएको हस्तक्षेप र तानाशाहीले सीमा नाघेपछि म उहाँविरुद्ध उजुरी हाल्न बाध्य भएको हुँ । सहनुको पनि सीमा हुन्छ, मैले गुरुको नाताले धेरै सहँे । तर, उहाँले ममाथि अन्याय, अत्याचार र दमन गर्न छाड्नुभएन । म तेक्वान्दोको मुख्य प्रशिक्षक भए पनि मलाई जहिले पनि नजरअन्दाज गर्नुभयो । अर्थात् मलाई नाम मात्रको मुख्य प्रशिक्षक बनाएर राख्ने षड्यन्त्र गर्नुभयो । मलाई राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दोको मुख्य प्रशिक्षक बनाए पनि गुरुङले कहिल्यै मलाई स्वीकार गर्नुभएन । उल्टै मलाई बाइपास गर्दै मलाई जिम्मेवारीबाट च्यूत गर्नुभयो । अहिले आफैँ मुख्य प्रशिक्षक बनेर हस्तक्षेपकारी भूमिका निभाइराख्नुभएको छ ।

० महासचिव गुरुङले तपाईंलाई बाइपास गर्नुको कारण के हो नि ? पछिल्लो समयमा तपाईं र गुरुङको सम्बन्ध सुमधुर नै थियो त ?
– साँचो रूपमा भन्नुपर्दा राखेपले मलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदादेखि नै गुरुलाई मन परेको थिएन । उहाँ मलाई नभई अरूलाई नै मुख्य प्रशिक्षक बनाउन चाहनुहुन्थ्यो । इच्छा पूरा नभएपछि गुरुले मलाई असफल पार्न साम, दाम, डण्ड, भेद चारै नीतिको प्रयोग गरिराख्नुभएको छ । खुलेर कुनै पनि कार्य गर्न दिनु त परै जाओस् मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत वहन गर्ने अवसर दिनुभएको छैन । जुन यद्यपि जारी छ । जहाँसम्म गुरु र मेरो सम्बन्धको कुरा छ मैले जहिले पनि उहाँलाई सम्मान गर्दै आएको छु । मैले व्यक्तिगत सम्बन्धमा मात्र नभई तेक्वान्दो खेलमा समेत कुनै आँच आउने कार्य गरेको छैन । तर, गुरुले मलाई किन बाइपास गरिराख्नुभएको छ त्यो मैले अहिलेसम्म बुझ्न सकेको छैन ।

० अनि तपाईंले राखेपमा उजुरी हालेपछि तेक्वान्दो र तपाईंहरूको व्यक्तिगत समस्याको समाधान हुन्छ त ? घरको विवाद घरमै मिलाएको भए राम्रो हुने थिएन र ?
– मैले आफ्नोतर्फबाट हजारौँपटक कोसिस गरे पनि गुरुको मनको कुरा बुझ्न सकिनँ । यतिबेला त गुरुले मलाई पूर्ण रूपमा नायालक साबित गर्न कुनै कसर बाँकी नराखेपछि म उजुरी दिन बाध्य भएको हुँ । उहाँले मलाई आफ्नो षड्यन्त्रको सिकार बनाउँदै मलाई मुख्य प्रशिक्षकबाट हटाउने खेलमा लागेपछि मैले पनि आफ्नो बचाउका लागि तेक्वान्दोमा गुरुले के–के गरिराख्नुभएको छ, त्यसको पर्दाफास गरेको मात्रै हुँ । तेक्वान्दोमा गुरुको विरुद्धमा कोही पनि केही बोल्ने आँट गर्दैनन् । मैले ममाथि भएको अन्याय, अत्याचार र दमनको विरुद्धमा कुरा राखेको मात्रै हुँ । यो गुरुको विरुद्धमा होइन ।

० तपाईंले आफूलाई महासचिव गुरुङले नालायक साबित गर्दै असफल प्रशिक्षक बनाउन खोजेको आरोप लगाउनुभो, के यो साँचो हो ?
– शतप्रतिशत सत्य हो । अन्यथा तेक्वान्दोको मुख्य प्रशिक्षक मलाई तेक्वान्दोको कुनै गतिविधिमा किन सामेल गराइँदैन त ? अहिले कोरियामा भइरहेको वल्र्ड च्याम्पियनसिपकै कुरा गरौँ न त्यहाँ कतिजना खेलाडी प्रतिस्पर्धा गर्दै छन्, को प्रशिक्षक जाँदै छ त्यसको गुरुले मलाई सुइँकोसमेत दिनुभएन । मुख्य प्रशिक्षकलगायत अन्य चारजना प्रशिक्षकले राष्ट्रिय तयारी टिमलाई प्रशिक्षण दिँदै आएका छन् । तर, विडम्बना ! यी कुनै पनि प्रशिक्षकको राय–सल्लाहबिना हचुवाको भरमा खेलाडी छनोट गरेर वल्र्ड च्याम्पियनसिपमा खेलाडी पठाइएको छ । साथै उक्त च्याम्पियनसिपमा नेपाली प्रशिक्षकको साटो कोरियाको कोइकाको भोलेन्डरलाई राष्ट्रिय टिमको प्रशिक्षक बनाएर लगिएको छ, जुन नियमविपरीत छ । त्यहाँ राखेपअन्तर्गतको प्रशिक्षक जानुपर्छ ।

० तपाईंलाई वल्र्ड च्याम्पियनसिपमा नलगेका कारण महासचिवविरुद्ध उजुरी दिनुभएको त होइन ?
– पक्कै होइन । तर, यो कुरा पनि साँचो हो, म मुख्य प्रशिक्षक भएको नाताले अन्तर्राष्ट्रिय प्रतियोगितामा मलाई लानुपथ्र्यो । यदि मलाई नलगे अन्य नेपाली प्रशिक्षकलाई लानुपथ्र्यो । त्यसो गरिएन । तर, गुरुङ आफू मुख्य प्रशिक्षक रहँदा कुनै पनि अन्तर्राष्ट्रिय तेक्वान्दोका प्रतियोगितामा आफँै प्रशिक्षक बनेर जान्थे । यहाँ मैले मलाई वल्र्ड च्याम्पियनसिपमा नलगेका कारण उजुरी दिएको होइन । महासचिवले नियम–कानुन तोडेर हिटलरी पारा देखाएको हुनाले उनलाई सच्याउनका लागि उजुरी दिएको हुँ ।

० तपाईंकै कारण १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा तेक्वान्दोले एउटै पनि स्वर्ण पदक नजितेका कारण वल्र्ड च्याम्पियनसिपमा तपाईंलाई नलगेको चर्चा छ नि ?
– यदि त्यस्तो कुरा हो भने पनि मलाई जानकारी गराउनुपर्ने थियो नि । त्यसपछि मैले पनि आफ्नो राय राख्थेँ होला । यो सबै झुटको खेती गर्दै मलाई असफल बनाउने चाल मात्रै हो । सत्य कुरा त के हो भने आठौँ साफ नेपालमा भएको थियो । त्यसबेला तेक्वान्दोलाई पहिलोपटक साफमा समावेश गरिएको थियो । अर्को कुरा त्यसबेला नेपाल दक्षिण एसियाली मुलुकमा सर्वोत्कृष्ट थियो । त्यसैले नेपालमै आयोजना भएको र नेपाल बलियो भएको बेलामा नेपालले ऐतिहासिक सफलता पाएको थियो । तर, अहिले समय फरक छ, परिस्थिति बदलिएको छ । अफगानिस्तानजस्तो ओलम्पिकमा पदक जित्न सफल राष्ट्र सागमा प्रतिस्पर्धा गर्छ । भारत बलियो राष्ट्र बनिसकेको छ भने भुटान र बंगलादेशले पनि नेपाललाई तेक्वान्दोमा कडा चुनौती दिइरहेको अवस्था छ । विगतका सागमा नेपालले प्राप्त गरेको पदकले पनि यो कुरालाई पुष्टि गर्छ । यस्तो चुनौतीपूर्ण अवस्थामा पनि १२औँ सागका १३ इभेन्टमा नेपालका सातजना खेलाडी फाइनलमा पुग्न सफल भएका थिए । यो आठौँपछि सबैभन्दा ठूलो सफलता हो ।

० सातजना खेलाडी फाइनलमा पुगेर पनि एउटै स्वर्ण पदक जित्न नसक्नुको पछाडिको रहस्य के हो नि ?
– यो कुरा मलाईभन्दा पनि गुरु गुरुङलाई सोधे राम्रो होलाजस्तो लाग्छ । यसर्थमा कि उहाँ १२औँ सागमा टेक्निकल डाइरेक्टर हुनुहुन्थ्यो । उहाँको कार्य भनेको रेफ्री र जुरीलाई खटनपटन गर्ने थियो । सोहीअनुरूप उहाँले आयोजक राष्ट्र भारतका २४ जना रेफ्री तेक्वान्दोमा खटाउनुभएको थियो । जुन विश्व तेक्वान्दो र एसियन तेक्वान्दो युनियनमा समेत नभएको नियम उहाँले त्यहाँ लागू गर्नुभएको थियो । जब कि कुनै पनि राष्ट्रको एक वा दुईजनाभन्दा रेफ्री जज प्रतियोगितामा राख्न पाइँदैन । तर, गुरुङले भारतलाई स्वर्ण पदक जिताउन र खुसी पार्न यस्तो नियमविपरीत कार्य गर्नुभएको थियो । जसले गर्दा नेपाल स्वर्ण पदकबाट बन्चित हुनुपरेको थियो । जितेको स्वर्ण पदकबाट पनि गुरुङकै कारणले हात धुनुपरेको थियो ।

० तपाईंले भनेजस्तै त्यसो भए गुरुङकै कारण नेपाल स्वर्ण पदकविहीन भएको हो त ? के तेक्वान्दोमा यस्तो कुरा सम्भव हुन्छ र ?
– राष्ट्रघातीले जे पनि गर्न सक्छ । गुरुङको राष्ट्रियता नै छैन । उनी दुवै हातमा लड्डु बोकेर बसेका छन् । उनको हात्तीको जस्तै देखाउने र खाने दाँत छ । नेपालमा नभए भारतमा उनको स्थान सुरक्षित छ । त्यसैले भारतलाई स्वर्ण पदक दिलाउन उनले राष्ट्रघात गरेका हुन् । त्यसैले उनले नेपालले जित्न सक्ने महिला इभेन्टका माथिका तीनवटा समूह भारतसँग मिलेर काटेका थिए । तर, पछि आफू बच्नका लागि तेक्वान्दो सङ्घ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबाट आयोजकलाई निवेदन दिन लगाई नाटकसमेत गरेका थिए । परिणाम, नेपाल स्वर्ण पदक जित्ने समूहका प्रतिस्पर्धाबाट बन्चित हुनुपरेको थियो ।

० महासचिव गुरुङलाई राष्ट्रघातीको आरोप लगाउनुभयो, के १२औँ सागमा गुरुङले राष्ट्रघात गरेकै हुन् त ?
– यसमा कुनै दुईमत नै छैन । गुरुङले १२औँ सागमा राष्ट्रघात गरेकै हुन् । उनले राष्ट्रघात नगरेको भए १२औँ सागमा नेपालले कम्तीमा पनि चारवटा स्वर्ण पदक जित्थ्यो । तीनवटा महिला र एउटा पुरुषमा । तर, गुरुङको चलखेलले गर्दा नेपाल पहिलोपटक १२औँ सागमा स्वर्ण पदकविहीन बन्यो । उनले भारतसँग मिलेर नेपाललाई स्वर्ण पदकविहीन बनाउन अहम् भूमिका निर्वाह गरे । यसबारेमा खेलाडी र प्रशिक्षकलाई सोधे पनि प्रस्ट हुन्छ । उनीहरूले भन्न र आवाज उठाउन मात्र नसकेका हुन् । तीतो सत्य गुरुङले राष्ट्रघात गरेकै हुन् ।

० यही स्वर्ण पदकको विवाद तपाईंहरूबीचको फाटोको विषय हो त ?
– फाटोको विषय स्वर्ण पदक मात्र नभई अन्य पनि छन् । तर, स्वर्ण पदकको मुद्दा त्यसमा प्रमुख रूपमा पर्छ । गुरुङले आफूलाई बारम्बार म मुख्य प्रशिक्षक हुँदा यति स्वर्ण पदक ल्याएँ, तेरो पालामा खै भनेर सोध्ने गरेका छन् । १२औँको क्रममा राखेपले तेक्वान्दो खेलाडीलाई वैदेशिक प्रशिक्षणमा जान भने पनि गुरुङले मानेका थिएनन् । उनले यसो गर्नुमा समेत षड्यन्त्र थियो । आफू मुख्य प्रशिक्षक भए मात्र स्वर्ण पदक नेपालले जित्न सक्छ अन्यथा जित्न सक्तैन भन्ने देखाउन पनि उनले यस्तो चाल चलेका थिए । अहिले उनी आफूले चलेको चालमा सफल भएका छन् । नेपाललाई स्वर्ण पदकविहीन बनाएर । मैले यो कुरा अहिलेसम्म गुरुको नाताले सार्वजनिक गरेको थिइनँ । अहिले उनले तेक्वान्दो र मप्रति गरेको अन्याय, अत्याचार र दमन सहन नसकी बोल्न बाध्य भएको हुँ । यो कुरा व्यक्तिगत प्रतिसोध साँध्न नभई तेक्वान्दोको हकहित र अधिकारका लागि बोलेको हुँ ।

० राखेपमा दिएको उजुरीमा खेलाडी र प्रशिक्षकको भत्ता गुरुङले लिएको आरोप लगाउनुभएको छ, के यो साँचो हो ?
– मैले किन झुटो बोल्ने ? १२औँ सागमा पाँचजना प्रशिक्षक र १३ जना खेलाडीको दुई दिनको भत्ता महासचिव गुरुङले लिएका हुन्, यो सत्य हो । बन्द प्रशिक्षणको बेला खेलाडी र प्रशिक्षकलाई दैनिक ९ सय भत्ता दिइएको थियो । तर, बन्द प्रशिक्षण सुरु हुनुभन्दा दुई दिनअघिको भत्ता महासचिव गुरुङले लिए पनि अहिलेसम्म दिएका छैनन् । यसबारे अहिलेसम्म कुनै कुरा भएको छैन । र कहिले दिने हुन् त्यसको अत्तोपत्तो पनि छैन । राज्यले दिएको खेलाडी र प्रशिक्षकको भत्ता उनले किन लुकाए त्यो गुरुङलाई नै थाहा होला । अब तपाईं नै भन्नुहोस् खेलाडी र प्रशिक्षकको भत्ता खान मिल्छ ?

० गुरुङले तेक्वान्दोलाई मेनपावरको रूपमा विकास गरेको र खेलाडीलाई विदेश छोडेको आरोप पनि लगाउनुभएको छ नि ?
– हो त, उहाँले आफ्ना मान्छेलाई काखी च्याप्ने क्रममा तेक्वान्दो सङ्घलाई प्रयोग गर्दै विदेशमा खेलाडी छोडेर आर्थिक लाभ लिनुभएको छ । क्यानडामा यादव कुँवर, दक्षिण कोरियामा मानध्वज लामा, रामकुमार पाण्डे, खम्बा राई, रमेश शाही र प्रमोद मानन्धरलाई गुरुङकै मिलोमतो र इसारामा त्यहाँ छोडिएको हो । यी सबै नेपाल तेक्वान्दो सङ्घमार्फत गएका थिए, तर अहिलेसम्म फर्किएका छैनन् ।

प्रस्तुति : श्रीविक्रम भण्डारी