नेतृत्व परिवर्तन हुनुपर्छ : राजेन्द्र घिमिरे

नेतृत्व परिवर्तन हुनुपर्छ : राजेन्द्र घिमिरे


Rajendra Ghimire

(नेपाली काङ्ग्रेस भद्रपुरमा टिकट वितरणको प्रक्रिया र पद्धतिप्रति तीव्र असन्तुष्टि देखिएको छ । केन्द्रीय सदस्य कृष्ण सिटौलाको निर्देशनमा कुनै छलफल नै नचलाई उम्मेदवार तोकिएपछि असन्तुष्टहरूले केन्द्रीय समितिमा उजुरी हाल्न हस्ताक्षर अभियान थालेका छन् । यसै सम्बन्धमा मेयर पदका आकाङ्क्षी तथा पूर्व नगर काङ्ग्रेस सभापति राजेन्द्र घिमिरेसँग गरिएको सङ्क्षिप्त कुराकानी ।)

० तपाईंहरूको हस्ताक्षर अभियान के हो ?
– पार्टी नेतृत्वले सक्रिय सदस्यको भावनालाई बुझिदएन पार्टीको तल्लो तहको भावनालाई कदर गरिएन । सामान्य छलफल नै नचलाई निर्देशित नाम बाचन गरियो । यो हस्ताक्षर अभियान त्यसैका विरुद्धको छलफल हो ।

० यसको परिणाम के निस्कन्छ ?
– यसले अन्तरपार्टी क्रियशीलता जगाएको छ । हुकुमी प्रथाको अन्त्य गर्न सहकार्यलाई मजबुत पारिएको छ ।

० किन हरेक चुनावमा भद्रपुर काङ्ग्रेसमा विवाद हुन्छ ?
– नेतृत्वले विचारअनुसारको आचरण र सिद्धान्तअनुसारको भूमिका गर्न नसक्नु पहिलो कारण हो । सक्रिय कार्यकर्ता भनेको विचारका संवाहक हुनुपर्नेमा एउटा गुटको संवाहक भएको कारणले चुनाव हारिन्छ । लोकतान्त्रिक पद्धतिअनुसार उम्मेदवार छनोट गरेर जाँदा अधिकांश वडामा चुनाव हार्नै सकिँदैन । भद्रपुर काङ्ग्रेसको गढ हो । तर, नेतृत्वका कारणले एउटै स्थानीय चुनाव पनि पार्टीले जितेको छैन ।

० दस्तखत अभियानलाई पार्टीविरोधी गतिविधि भन्छन् नि ?
– साँच्चैको लोकतान्त्रिक नेतृत्व हो भने यो शब्द पनि निकाल्दछन् भन्ने मलाई लाग्दैन । हस्ताक्षर अभियानले नेतृत्वको कमी–कमजोरीलाई सच्याउने मौका दिएको छ । संवादका लागि ढोका खोलेको छ । जुन चिजले सबै अवसरका बाटा खुल्छन् त्यसैलाई लोकतन्त्र भनिन्छ । सबैको अधिकार र सम्पूर्णको सहभागिता, घात अन्तर्घातको अन्त्य र राजनीतिक सूत्रलाई मजबुत बनाउने अभियान हो हाम्रो ।

० हस्ताक्षर अभियानले पनि टेरेनन् भने ?

– कार्यकर्ता साथीहरू जो हस्ताक्षरभित्र पनि हुनुहुन्छ र जो त्यहाँसम्म पुग्नुभएको छैन उहाँहरूको भावनालाई बुझिएन भने विचारअनुसारको नेतृत्व खोज्ने स्थिति बन्दछ । अर्थात् नेतृत्व परिवर्तन हुनुपर्दछ ।