संवैधानिक सङ्कटको खतरा छ :रामचन्द्र पौडेल

संवैधानिक सङ्कटको खतरा छ :रामचन्द्र पौडेल


काङ्ग्रेस संसदीय दलका नेता एवम् केन्द्रीय उपसभापति रामचन्द्र पौडेल भदौ २ मा हुने पाँचौँपटकको चुनावमा प्रधानमन्त्री बनेरै छाड्ने प्रयासमा हुनुहुन्छ । त्यसका निम्ति उहाँ अहोरात्र साना-ठूला दलको समर्थन जुटाउन केन्द्रित हुनुभएको छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
० माओवादीले त प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता गर्ने भयो, अब तपाईं के गर्नुहुन्छ –
– प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिने माओवादी भनाइ आजदेखि सुरु हुने एमाले केन्द्रीय कमिटीको बैठकलाई प्रभावित गर्ने चालमात्र हो । प्रचण्ड जसरी पनि बहुमतको सरकारको प्रधानमन्त्री बन्ने दाउमा छन् । उनले साम, दाम, दण्ड र भेद सबै उपयोग गरेको देखिएको छ । माओवादी फेरि पनि एमालेलाई निर्णयविहीन बनाएर मुलुकलाई अनिर्णयको बन्दी बनाउन चाहन्छ । एमाले माओवादीको यस्तो चालमा फस्नुहुँदैन । म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्नँ ।
० मुलुकमा सहमतिको सरकार बन्छ भने उम्मेदवारी किन फिर्ता नलिने त –
– अहिले मुलुकका प्रमुख एजेन्डा शान्ति र संविधान हुन् । लोकतन्त्रको संस्थागत विकास र कानुनी राज्य स्थापना गर्न बाँकी नै छ । मुलुकलाई सहमति, सहकार्य र एकताको राजनीतिमा हिँडाउन पनि काङ्ग्रेसकै नेतृत्व चाहिन्छ । संविधानसभा चुनावपछि प्रचण्डले ९ महिना सरकार चलाए । उनको नेतृत्वका कुनै काम हुन सकेन । एमाले नेतृत्वमा पनि शान्ति र संविधान सुनिश्चितताका लागि जसरी अघि बढ्नुपथ्र्यो, त्यो काम पनि हुन सकेन । त्यसकारण अब काङ्ग्रेसको नेतृत्व अपरिहार्य छ । अब मेरै नेतृत्वमा समर्थन गर्न म एमाले, मधेसी मोर्चा, साना दल र माओवादीलाई समेत आग्रह गर्न चाहन्छु ।
० एमालेसँग तपाईंको कुरा भएको छैन –
– मैले एमाले अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता केपी ओलीलगायत सबै नेता एवम् सभासद्हरूसँग कुराकानी गरेको छु । एमालेले पाँचौँचरणमा तटस्थताबारे पुनरि्वचार गर्नुपर्छ भन्नेमा धेरैजसो नेता कन्भिन्ससमेत हुनुभएको अवस्था छ । किनभने मुलुकलाई अब पनि अनिर्णयको बन्दी बनाइयो भने राजनीतिक र संवैधानिक सङ्कट आउने खतरा छ । त्यसकारण पनि एमालेले आफ्नो निर्णय परिवर्तन गर्नैपर्छ र लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनुपर्छ ।
० एमालेले तपाईंलाई भोट हाल्ला त –
– एमालेलाई गठबन्धनमा रहेर हामीले जतिसुकै अप्ठ्यारोमा पनि अन्तिम समयसम्म साथ दिएका हौँ । अब उसले काङ्ग्रेसलाई त्यसरी साथ दिनेमा म विश्वस्त छु । किनभने धेरै ढिला भयो भने अप्ठ्यारो अवस्था आउन सक्छ ।
० मधेसवादी दलका समर्थन पाउनुहोला –
– एकदमै समर्थन गर्छन् । हाम्रा एजेन्डाहरू मिल्छन् । उहाँहरूका मुद्दालाई सम्बोधन गरेर जान काङ्ग्रेस तयार पनि छ । त्यसका लागि काङ्ग्रेसले आधिकारिक धारणा राखिसकेको छ ।
० तपाईंलाई त पार्टीभित्रैबाट सहयोग भएन रे नि –
– मलाई काङ्ग्रेसभित्र सबैको समर्थन र सहयोग छ । यो बाहिरको हल्लामात्र हो । मलाई त काङ्ग्रेसमात्र होइन, आमलोकतन्त्रवादीको समर्थन छ ।
० माओवादी नेतृत्व काङ्ग्रेसलाई किन स्वीकार्य हुन्न –
– लडाकु र हतियार रहेसम्म, वाईसीएल विघटन नगरेसम्म र कब्जा घरजग्गा फिर्ता नभएसम्म उसको नेतृत्व कसैलाई स्वीकार्य हुन्न । काङ्ग्रेसलाई त झन् हुने कुरै भएन । माओवादीले सहमति गर्न चाहेको हो भने काङ्ग्रेसको नेतृत्वको सरकारमा सहभागी भएर अघि बढ्न म आग्रह गर्न चाहन्छु ।

काङ्ग्रेस अब बूढाहरूको पार्टी रहेन -विमलेन्द्र निधि -नेता, नेपाली काङ्ग्रेस)
० नेपाली काङ्ग्रेस अब कसरी अगाडि बढ्छ –
– नेपाली काङ्ग्रेस यतिबेला आफ्नो बाह्रौं महाधिवेशनको तयारीमा छ । यो अधिवेशन अत्यन्त ऐतिहासिक र दूरगामी महत्त्वको हुने अनुमान हामी गरिरहेका छौँ । नेपालमा शान्तिप्रक्रियालाई पूर्णता प्रदान गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान बनाउने कार्यमा काङ्ग्रेसले आफूलाई नेतृत्वदायी भूमिकामा अग्रसर गराउँदै छ । वर्तमान परिवर्तन र राजनीतिक व्यवस्थापनको सम्पूर्ण नेतृत्व सम्हाल्ने एक सक्षम दलको रूपमा काङ्ग्रेस स्थापित हुँदै छ ।
० पटक-पटक सारिएको महाधिवेशनलाई फेरि तीन साता किन पछि धकेलिएको नि –
– तीनवटा कारणले महाधिवेशनलाई तीन साता पर सार्नुपर्‍यो । एउटा कारण, हाम्रो उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ र प्रधानमन्त्रीको निर्वाचन पटकपटक जारी छ । यो प्रक्रियामा बाधा नपुगोस् भन्ने ध्येयले काङ्ग्रेसले महाधिवेशन सार्नुपरेको हो । अर्को कारण, पचहत्तरमध्ये १६ जिल्लाको निर्वाचन या अधिवेशनको काम नै बाँकी छ । अलिक व्यावहारिक र सहज ढङ्गले सम्पन्न गर्न थप समय सहायकसिद्ध नै हुनेछ । तेस्रो कारणचाहिँ महाधिवेशनकै ‘मेन्यु’ पनि हो । तीन हजार महाधिवेशन प्रतिनिधिलाई राख्ने तथा महाधिवेशनका कार्यक्रम सञ्चालन गर्ने कार्यका लागि राजधानीमा उचित र खाली स्थान तत्काल उपलब्ध हुन नसक्नाले त्यसको समुचित प्रबन्ध गर्न पनि महाधिवेशन थोरै सार्नुपरेको हो । पहिले मिलिसकेको दशरथ रंगशाला पछि हामीप्रति पूर्वाग्रह राखेर ‘नमिल्ने’ जानकारी गराइएकोले महाधिवेशनको उद्घाटन समारोह नै खुलामञ्चमा गर्ने सोचमा हामी पुग्नुपरेको छ । उद्घाटन, बन्द सत्र र ६१ केन्द्रीय पदाधिकारीको निर्वाचन गर्ने कामको तयारी अलिक जटिल नै हुने भएकोले महाधिवेशन असोज १-५ का लागि सार्नुपरेको स्पष्ट पार्न चाहन्छु ।
० यसको मतलब अधिवेशन उद्घाटन खुलामञ्चमै हुने भो –
-दशरथ रंगशालामा गर्ने प्रयास हाम्रो जारी छ, यो नमिलेमा खुलामञ्चमै हुन्छ ।
० अबको काङ्ग्रेस नेतृत्वका लागि सुशील कोइराला र शेरबहादुर देउवाबीच नै प्रतिस्पर्धा हुने भयो, होइन –
– उहाँहरूले आधिकारिक रूपमा केही भनिसक्नुभएको छैन भने मैले यसबारेमा अहिले नै के भन्न सक्छु र – तर, यतिखेर चर्चामा चाहिँ उहाँहरू दुईजनाकै नाम छ ।
० यी दुईमा कसले बाजी मार्लान् –
– यो त प्रस्ट छ नि, मतदाताले कसलाई बढ्ता मत प्रदान गर्छन् जित उसकै हुन्छ ।
० तपाईंको बुझाइमा यी दुईमध्ये को सक्षम र उपयुक्त होलान् –
– दुवैजना पार्टीका नेता हुनुहुन्छ, दुवै आ-आफ्नै विशेषता बोकेका र सक्षम हुनुहुन्छ ।
० तपाईंले आफूलाई पनि कुनै पदको प्रत्याशी बनाउने विचार गरिसक्नुभएको छ कि –
– हाम्रो पार्टीको विधानअनुसार केन्द्रीय सदस्यबाहेक सभापति, महामन्त्री र कोषाध्यक्ष पदका लागि महाधिवेशनमा निर्वाचन हुन्छ । अर्थात्, पदाधिकारीहरूमा यी तीन पदाधिकारीका लागि मात्र मतदान हुन्छ । साथीहरूले त विभिन्न अनुमान गरेका छन्, तर मैलेचाहिँ कुनै ठोस निर्णय गरिसकेको छैन ।
० महामन्त्रीको उम्मेदवार हुन्छु भन्न डराउनुभएको हो कि तपाईं –
– डराउन त म सभापतिकै उम्मेदवार भएँ भन्न पनि डराउँदिनँ नि – तर, अहिले निर्णय भइसकेको छैन पो भनेको त । साथीहरूसँग सल्लाह नगरी यस्तो विषयमा एकल निर्णय लिइहाल्नु त्यति उपयुक्त हुँदैन क्या ।
० बाह्रौं महाधिवेशनपछि काङ्ग्रेसले नयाँ ऊर्जा प्राप्त गर्नेमा कति विश्वस्त हुनुहुन्छ –
– यसमा कुनै सन्देश पालिरहनुपर्दैन । नेपाली काङ्ग्रेसलाई ‘बूढाहरूको पार्टी’ भन्ने दोष लगाउने गरेका छन्, तर त्यसरी आरोपित गर्नेहरूलाई म एउटा तथ्य पेस गर्न चाहन्छु – नेता नरहरि आचार्यले पार्टीमा हालै एउटा तथ्याङ्क पे गर्नुभएको छ, जसमा तीन लाख १२ हजार क्रियाशील सदस्यमध्ये जम्मा ४ दशमलव ५ प्रतिशत मात्र वृद्ध उमेरका सदस्य रहेछन् । अब काङ्ग्रेसलाई बूढाहरूको पार्टी भन्न मिल्छ त – १८ देखि ३५ वर्ष उमेर समूहका २९ प्रतिशत क्रियाशील सदस्य रहेको आधारमा के दाबी गर्न सकिन्छ भने नेपाली काङ्ग्रेस युवाहरूको बाहुल्य भएको पार्टी हो । यसमा पनि दलित, महिला, मुस्मिल, अल्पसङ्ख्यक, जनजाति, आदिवासी ‘तेस्रोलिङ्गी’लगायत समाजमा रहेका सबै वर्ग र भाषाभाषीको प्रतिनिधित्व भएको पार्टी हो नेपाली काङ्ग्रेस ।
० आन्तरिक लोकतन्त्र त छैन भनिन्छ नि यो पार्टीमा –
– त्यसैमा त हामीले सफलता पाएका छौँ अहिले । अब आन्तरिक लोकतन्त्र छैन भन्ने त सवालै रहेन । जुन निर्वाचन प्रक्रिया अवलम्बन गरेर काङ्ग्रेसले आफ्ना प्रतिनिधि छनोट गरेको छ, यो न भूतो न भविष्यति भन्दा पनि हुन्छ । विश्वभरको त कुरा म नगरूँ तर दक्षिण एसियाकै उत्कृष्ट विधि अपनाएको छ काङ्ग्रेसले । यसरी नेपाली काङ्ग्रेसलाई लोकतान्त्रिक तुल्याउने कार्यमा सफलता पाएका छौँ हामीले ।
० प्रसङ्ग बदलौँ, मुलुकमा सरकार कहिले बन्छ होला –
– भर्खरै माओवादी नेतृत्वसँग हामीले छलफल गरेका छौँ । माओवादीले प्रस्ताव गरेको छ कि दुवै उम्मेदवार फिर्ता गरौँ र सहमतिमा प्रधानमन्त्री चयन गर्नका लागि छलफल अघि बढाऔँ भनेर । यसरी सैद्धान्तिक रूपमा त माओवादी तयार भइसकेको रहेछ उम्मेदवार फिर्ता लिने सवालमा । यो राम्रो र सकारात्मक लक्षण हो भनी बुझनुपर्छ । अब जति छिटो माओवादीले आफ्नो उम्मेदवारी फिर्ता लिन्छ त्यति नै छिटो सरकार बन्छ । अर्को, जति छिटो एमालेले बहुमतको सरकार बनाउन सहयोग गर्ने र काङ्ग्रेसलाई सघाउने निर्णय लिन्छ त्यति नै छिटो र सहज रूपले प्रधानमन्त्री छनोट हुनेछ ।
० रामचन्द्रले फिर्ता नलिई प्रचण्डले मात्र उम्मेदवारी फिर्ता लेलान् त –
– सैद्धान्तिक रूपले ऊ त्यसका लागि तत्पर भइसकेकोले प्रचण्डले उम्मेदवारी फिर्ता लिनुपर्ने कुरा गरेको हुँ मैले । त्यस्तो प्रस्ताव राख्ने पार्टीले नै कार्यान्वयनको अग्रसरता या तत्परता लिनुपर्‍यो नि । यसो भएमा काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न बाटो पनि खुल्छ र रचनात्मक तथा सहयोगी प्रतिपक्षको भूमिकामा उभिने अवसर माओवादीलाई पनि प्राप्त हुन्छ । यसले माओवादीलाई घाटा गर्दैन बरु गुमेको राजनीतिक साख फर्काउन मद्दत नै पुग्छ । जसरी प्रचण्डजीको पालामा काङ्ग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएर सहमतिको वातावरणबाट अघि बढ्न सघाएको थियो, त्यस्तै भूमिका यतिबेला माओवादीबाट पनि काङ्ग्रेसले अपेक्षा गरिरहेको छ ।
० सहमति छोडेर बहुमतीय सरकारमा नेपाली काङ्ग्रेस जानुपर्ने बाध्यताचाहिँ के पर्‍यो नि –
– माओवादीले हतियारधारी लडाकुहरूसँग सम्बन्धविच्छेद नगरेसम्म उससँग मिलेर सरकारमा जाने कुरा काङ्ग्रेसले सोच्न सक्दैन ।
० उसलाई नेतृत्व नदिए पनि सरकारमा साथ लिएर जान त सकिन्थ्यो होला नि –
-उसको नेतृत्वको कुरा त सम्भव नै छैन, सत्ता साझेदारीकै लागि पनि भएका सहमति र सम्झौताको पालना उसबाट हुनुपर्छ, तब मात्र सम्भव छ । अन्यथा माओवादी भएको सरकारमा काङ्ग्रेस जान सक्दैन ।
० भनेपछि काङ्ग्रेसमा प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलको विकल्प छैन –
– यसरी बुझनुस् न – काङ्ग्रेसकै विकल्प छैन अहिले देशमा सरकारको नेतृत्वका लागि ।
० एउटा कुरा बताइदिनुस् न † एमालेले माओवादीको नेतृत्व स्वीकार गर्ने तर काङ्ग्रेसले उसको नेतृत्व पटक्कै स्वीकार गर्न नसक्ने कारण के हो –
– मैले भनिसकेँ नि, १९ हजार हतियारधारी लडाकु र हतियारहरू, वाईसीएलको अर्धसैनिक संरचना र कब्जा गरिएका सम्पत्ति फिर्ताको सहमति अलपत्रै छ अझै पनि यसको टुङ्गो लाग्नुपर्‍यो । त्यो टुङ्गो नलागेसम्म हामी माओवादीको नेतृत्व स्वीकार गर्न सक्दैनौँ । उसले सहमतिअनुसार त्यसमा उचित निर्णय लिएपछि मात्र ऊ विश्वास गर्नलायकको राजनीतिक पार्टी ठहरिने छ ।
० माओवादीले त भनिरहेको छ नि हामी त्यो छ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्छौं भनेर –
– प्रधानमन्त्रीले राजीनामा दिनेबित्तिकै गर्छौं भनेका हुन् भन्न त, तर खै त – झन्डै डेढ महिना बितिसक्यो प्रमले राजीनामा दिएको पनि । माधव नेपालले राजीनामा दिएपछि मार्गप्रशस्त हुन्छ भन्थ्यो, माओवादी, तर त्यसपछि त झन् मार्ग अवरुद्ध भइरहेको छ त † वास्तवमा शान्तिप्रक्रिया र संविधान निर्माणका विषयमा त छलफल नै गर्न चाहँदैन माओवादी ।
० भदौ २ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउला कि नपाउला –
– माओवादीसँग भएको कुराकानीका आधारमा, यदि उसकै प्रस्तावअनुसार उम्मेदवारी फिर्ता लिएर छलफल अघि बढाउन ऊ तत्पर हुन्छ भने २ गते अघि नै मुलुकले नयाँ प्रधानमन्त्री पाउन सक्छ ।
० यसमा एमालेले सघाउला –
– उसले त सहमतिका लागि सघाउँछु भनिरहेकै छ नि †
– ऋषि धमला