सुन्ने किताबमा अनमोलमणि-दीपकमणि दाजुभाइ

सुन्ने किताबमा अनमोलमणि-दीपकमणि दाजुभाइ


सिर्जना र पाठकबीचको दूरी साँघुरिएको छ । साहित्यका लागि घुँडा टेकेर र चस्माको फ्रेम मिलाएर किताब पढ्नुपर्ने दिन गए अब । साहित्य पढ्नलाई किताबको मात्रै भर पर्नुपर्ने स्थिति रहेन अब । प्रविधिको विकासले पाठक र लेखकबीचको दूरीलाई मात्र घटाएन, सिर्जनालाई नयाँ-नयाँ स्वरूप र सन्दर्भहरूमा पनि लिएर आएको छ ।
पुस्तक पढ्नकै लागि तपाईंले अब छुट्टै समय निकालिरहनुपर्दैन । फुर्सदी भएर ओछ्यान वा टेबुल नै खोजिरहनुपर्दैन । प्रविधिले विकास गरेका विद्युतीय सामग्री आइपोड, पेनड्राइभ, एमपी थ्री, सीडी प्लेयर, घरको डेस्कटप वा ल्यापटप भए तपाईं कथा सुनेर पनि आनन्द लिन सक्नुहुनेछ ।
प्रविधिसँग डराउनेहरूको एउटा ठूलो समूह नभएको पनि होइन । उनीहरू भन्छन्- प्रविधिले साहित्यको पाठक घटाएको छ । यो समूह प्रविधिलाई शत्रुगत व्यवहार गर्छन् । तर, यही एउटा यस्तो समूह पनि छ, जो प्रविधिसँग अपडेट छन् । प्रविधिलाई आत्मसात् गर्न सक्छन् । उनीहरू प्रविधिका विभिन्न स्वरूपमा आफूलाई र आफ्ना रचनाहरूलाई ढाल्दै लैजान्छन् र प्रविधिको विकाससँग खुसी र सन्तुष्ट छन् ।
यस्तै प्रविधिको विकाससँग सन्तुष्ट कथाकार हो अनमोलमणि । उसले प्रविधि र साहित्यलाई सहज रूपमा एकसाथ पाठक, श्रोतासामु नयाँ स्वादमा लिएर आएको छ । त्यो स्वाद दिन कथाकार अनमोलमणिको कथासङ्ग्रह नीलिमा र गाढा अँध्यारो अब सुन्ने पुस्तकको स्वरूपमा आएको छ । एक दर्जन कथा समेटिएको पुस्तकका पाँचवटा कथा सुन्ने स्वरूपमा समावेश छन् । पुस्तकमा समेटिएका कथा सुन्न एक घन्टा १४ मिनेट लाग्छ ।
त्यसो त अनमोलमणिको गत वर्ष प्रकाशित कथासङ्ग्रहले नेपाली साहित्यमा राम्रै चर्चा पायो । फरक स्वादका यी कथाहरूले नयाँ पाठकहरूका मन र मस्तिष्कमा छुट्टै स्थान पनि बनायो । कहाँसम्म भने धेरै रेडियो र एफएमहरूले अनमोलमणिका अधिकांश कथाहरू वाचन गरेर चर्चा बटुल्यो । नीलिमा र गाढा अँध्यारो- मान्छेका भिन्न चरित्र र स्वभावका कथाहरूको सङ्ग्रह हो । यस कथामा मानिसका संवेदनाहरूभन्दा पनि बढ्ता मानिसका चरित्रहरूले पाठकलाई तान्छ । पाठकले अनमोलका कथाहरूमा साइवर संस्कृतिलाई पढ्न र सुन्न सक्छन् । त्यति मात्र कहाँ हो र – अनमोलमणिका कथामा भेटिने लयात्मकताले जो कसैलाई पनि आफ्नो वशमा राख्न सफल हुन्छ ।
परम्परागत कथाको शैलीमा ब्रेक दिन केही हदसम्म सफल भएका छन्- अनमोलमणिका कथाहरू । अनमोलमणि यो समयको कथाकार हो । ऊ समयसँग हिँड्दैन मात्र बेलाबेलामा समयलाई आफूअनुकूल हिँडाउँछ पनि ।
अनमोलमणिको सुन्ने किताबले परिवार, साथीभाइसित बस्दा, बिदा मनाउँदा, भान्साको काम गर्दा, कतै एकान्त बस्दा वा एक्लो हुँदा पुस्तक सुन्न सकिने अवसर दिएको छ । विदेशमा यस किसिमको प्रचलन आइसकेको छ । अब अनमोलले नेपालमा पनि यसको सुरुवात गरेको छ ।
प्रविधिको विकासले मान्छेको संवेदनामा गरेको प्रहार सुन्ने किताबमा समेटिएर आएको छ । युद्ध र त्यसले निम्त्याएको विपत्ति र मानिसको जीवन दर्शन कथामा भेटिन्छ । यी कथा आममानिसको जीवन गोरेटोको एउटा पाटो हुन सक्छ । र, ठाउँठाउँमा कथाको पात्र पाठक स्वयम् बन्दै जान्छ । पाठकलाई पत्तोस्ाम्म पनि हुँदैन ।
सुन्ने किताबको परिकल्पना तथा कथावाचन अच्युत घिमिरेले गरेको हो । अच्युत कथा वाचकको रूपमा आफ्नो परिचय स्थापित गरेको छ । रेडियोको तरङ्गमा पटक-पटक सुनिने उसको आवाज र त्यस आवाजमा उनिएर आउने साहित्यिक रचनाहरूले आममानिसमा गहिरो छाप छोडेको छ । नपत्याउँदो किसिमले अच्युतले नेपाली रेडियोमा आफ्नो छुट्टै पहिचानको खोजी गरिसकेको छ । उसको आवाज र साहित्यिक रचनाको छनोट दुवै अब्ब्ाल छन् । अच्युत आफैंमा साहित्यिक व्यक्ति हो । उससँग सिर्जना चिन्ने र सिर्जना गर्ने दुवै सामर्थ्य छ । अनमोलमणिको सुन्ने किताबमा अच्युतको यी दुवै गुण समावेश भएको छ ।
यो सुन्ने किताबबाट सबैले लाभ लिन सक्छन् । अझ दृष्टि गुमाएकाहरूलाई त विशेष महत्त्व हुन्ोछ यो किताबको । किनभने यसबाट सजिलै साहित्य सुन्न सकिन्छ । कहाँसम्म भने अनमोलमणिले दृष्टि गुमाएकाहरूलाई यो सुन्ने किताब निःशुल्क वितरण गरिने जानकारी पनि दिएको छ । ‘दृष्टिविहीनहरूले उपत्यकाका पुस्तक पसलहरूमा यो निःशुल्क पाउने छन् । हामीले निःशुल्क वितरणको व्यवस्था मिलाएका छौँ,’ अनमोलमणिले भन्यो ।
उपत्यका र देशका अन्य जिल्लाका प्रमुख पुस्तक पसलमा सुन्ने किताब पाइनेछ । यसको मूल्य १ सय २५ रुपैयाँ छ । यसलाई पुस्तक प्रकाशक ओरियन्टल पब्लिकेसन्स र अर्को प्रकाशन गृह सांग्रिलाले वितरण गरेका छन् ।
यसअघि, नेपाली साहित्यमा बीपीको जेल जर्नल, डायमनशमशेर राणाको उपन्यास सेतो बाघ र कर्ण शाक्यको विचार पुस्तक सोच सुन्ने स्वरूपमा आएका छन् । सुन्ने पुस्तकका रूपमा आएको कथासङ्ग्रह यो नै पहिलो भएको प्रकाशकको दाबी छ ।
अक्सर प्रयोग गर्न चाहने अनमोलमणिको जीवनमा पटक-पटक नियति स्वयम्ले विभिन्न प्रयोगहरू गरेको छ । जीवनमाथिका यिनै प्रयोगहरूले अनमोलमणिलाई पनि प्रयोगमाथि मोह बढेको हुनुपर्छ । हामीलाई लाग्छ, जीवनलाई केस्रा-केस्रा केलाउने अवसर पटक-पटक भेटेको छ अनमोलले । यी र यस्तै अवसरहरूले उसलाई उज्यालोको नजिक पुर्‍याएको छ । यतिबेलाको अनमोलको अनुहारमा देखिने उज्यालोको पछाडि जीवनले उसलाई दिएका प्रसस्त अँध्याराहरू लुकेेका छन् । अँध्यारोहरूको ठूलो सङ्ग्रह हो यतिबेला उसभित्र भेटिएको उज्यालो ।
र यही उज्यालो उसको प्राप्ति हो ।