चन्द्रशमशेर र कृष्णप्रसाद कोइराला

चन्द्रशमशेर र कृष्णप्रसाद कोइराला


sn-karki-5

– स्वयम्भूनाथ कार्की

दुम्जाको खान–लाउन पुग्ने परिवारबाट एक लोर्के बाहुन ठिटो मधेस लाग्छन् । दुम्जामै संस्कृत र फारसी पढेका अङ्ग्रेजी पनि पढ्नुपर्छ भन्ने चेतनामा ब्रिटिस लिगेसनको मद्रासी क्लर्कसँग अङ्ग्रेजी पनि सिक्छन् । परिवार दरिद्र नभएको छनक संस्कृतसँगै फारसी पनि अध्ययन गरेकोबाट पाइन्छ । सामान्यतया बाहुन परिवारमा फारसी अध्ययन गर्ने परम्परा छैन । सम्पन्न परिवार थिएन भन्नलाई उनले पहाड चटक्क छोड्नुलाई आधार बनाउन सकिन्छ । सम्पन्न परिवारले आफ्नो छापथलो सितिमिति छोड्दैन । यसरी दुम्जा छोड्ने लोर्के बाहुन कृष्णप्रसाद कोइराला थिए, कालान्तरमा उनको परिवारबाट नेपालको सर्वाधिक महत्वपूर्ण व्यक्तित्वहरू पैदा भए । केही वर्षमै उनले जुनस्तरको प्रगति गरे त्यो तत्कालीन नेपालमा राणहरूबाट लुकाएर सम्भव थिएन । तसर्थ उनको र राणा खानदानबीच कस्तो किसिमको सम्बन्ध थियो भन्ने कुराको पनि गहन महत्व हुुन्छ । यो शृङ्खला आत्मवृत्तान्त किताबमा आधारित राख्ने प्रयत्नमा अन्य सन्दर्भ खोजी गर्ने जमर्को गरिएको छैन । यो काम इतिहासवेत्ताहरूको हो भन्ने मान्यता राखिएको छ ।

सामान्य अक्षर चिन्ने मान्छे पनि पाउन कठिन पर्ने त्यो युगमा पाँच भाषा जान्ने व्यक्ति निश्चय नै दुर्लभ भएको अनुमान गर्न सकिन्छ । नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत अनि फारसी भाषा जानेका कृष्णप्रसादमा राणाहरूको चाख भएन होला भनेर मान्न सकिने कुरा होइन । यस्तो हिरासरहको मान्छे आफ्नो होस् भन्ने इच्छा राणाहरूमा निश्चित नै भएको हुनुपर्छ । हरेक दुर्लभ कुरा सङ्कलन गर्ने उनीहरूको चलन नै थियो, बाटोघाटो नै नभए पनि काठमाडौंमा राणाहरूका मोटर गुड्ने गरेको कुरा यसै किताबमा पनि उल्लेख छ । बीपी जब गृहमन्त्री थिए उनले पेट्रोलको कुपनमा सही गर्नुपर्दथ्यो जब कि त्रिभुवन राजपथ निकै पछि बन्यो । कृष्णप्रसादलाई राणाहरूले गुमाउन पनि चाहँदैन थिए र आफ्नो नजरमा उनको मनोमानीलाई पनि दण्डित गर्न चाहन्थे, अर्थात् आफ्नो नियन्त्रणमा राख्न चाहन्थे भन्ने कुराको प्रमाण आत्मवृत्तान्तमा छरपष्ट छन् । यस्तै केही प्रसङ्ग केलाएर हेर्ने प्रयास भने उचित नै होला ।

दुम्जाबाट हिँडेपछि केही वर्षमै कृष्णप्रसादले प्रसस्त नाम र दाम कमाए । व्यापार गरे, देशभरिका भन्सार अड्डा ठेक्कामा लिए । लुगा, जुत्ता कोलकाताबाट आउँथ्यो जुन अङ्ग्रेजको जस्तो बनोटको हुन्थ्यो । कोलकातामा पनि उनको व्यापारको अफिस थियो । चन्द्रगन्जमा उनी कचहरी लगाएर बस्थे, बालक बीपीलाई उनकी आमाले सिँगारेर कचहरी पठाउ“थिन् । उनले बनाएको महिला समितिको संरक्षक स्वयम् चन्द्रशमशेरकी रानी थिइन् । विराटनगर स्थापना गरेका थिए, चन्द्रगन्ज बजार बसाएका थिए । यी सब काममा चन्द्रशमशेरको कुनै सिकायत थिएन, भएको भए आफ्नै रानीलाई कृष्णप्रसादले बनाएको समितिको संरक्षक पक्कै बन्न दिने थिएनन् । कोलकाताको निरन्तर भ्रमणले त्यहा“ हुने गरेका राजनीतिक चहलपहलतिर उनको चाख बढ्न थाल्यो । देववाणी सुनेपछि उनले विराटनगरमा स्कुल र अस्पताल खोल्ने विचार गरे । शिक्षक र डाक्टर कोलकाताबाट लिएर आए । शिक्षक आतङ्कवादी दलसँग सम्बन्धित भएकाले त्यहाँ सरकारी वारेन्ट जारी भएको मान्छे थियो ।

चन्द्रगन्जबाट उनले एक लहडी काम गरे । ढाक्रेका फाटेका र मैला लुगाको पार्सल बनाएर चन्द्रशमशेरलाई एक व्यङ्ग्यात्मक चिट्ठीसहित पठाए । लहडी किनभने चन्द्रशमशेरसँग उनको राम्रो संवाद कायम रहेको थियो जो पछि भारतमा स्वनिर्वासनमा रहँदा पनि कायम नै रह्यो । त्यसको आधारमा उनी चन्द्रशमशेरलाई कुनै काममा मनाउन सक्ने क्षमता राख्थे भन्ने कुरा किताबको परिच्छेद १५ मा भएको प्रसङ्गबाट भन्न सकिन्छ । ‘पिताजीले चन्द्रशमशेरलाई यो दासप्रथा उन्मूलन हुनुपर्छ भनेर हमेसा भनी पठाउनुहुन्थ्यो । मलाई लाग्छ– शायद यो १९२४ तिरको कुरा हो, जब चन्द्रशमशेरले निश्चय गरे दास विमोचनको– अमलेखको । उनले काजी रत्नमानमार्पmत पिताजीलाई लेखे– यो दास–विमोचन तिमीलाई कस्तो लाग्यो ?’ यस्तो असर भएका उनलाई ढाक्रेका लुगाको पार्सलमा व्यङ्ग्यात्मक चिट्ठी लेख्ने जरुरी नहुनुपर्ने हो । चन्द्रशमशेरले ढाक्रे नदेखेका पनि थिएनन् होला, जे काम गर्ने विचार गरेका थिए त्यसलाई आफ्नो सहज प्रयत्नले पार लगाउन सक्ने थिए, यसरी व्यङ्ग्य गरेर त अरिंगालको गोलामा ढुंगा हानेसरह नै हुने थियो र भयो पनि । सम्भवतः यो बुद्धि उनलाई त्यही कलकत्ते शिक्षकले दिएको हुनुपर्छ ।

चन्द्रशमशेरले उनको स्वनिर्वासनमा पनि लगातार चिट्ठी, किताब तथा औषधि पठाइरहे । जब आर्थिक सङ्कट ज्यादा देखियो जंगबहादुरसँग सम्बन्धित बाबुसाहेबले टेडीमा जमिन किन्न मद्दत गरे । त्यहाँ पनि कोसीको बाढीले आर्थिक रूपले तन्नम बनायो, उनलाई कोल्हापुरको महाराजकोमा पठाइयो । महाराज र उनकी दिदीले भरसक आफ्नोतर्पmबाट राम्रो गर्न खोजे । महाराजकी दिदीको ग्वालियर राजघरानामा विवाह भएको थियो । राणाहरूको र ग्वालियर राजघरानाको सम्बन्ध पारिवारिक नै रहँदै आएको छ । ती राजकुमारीले कृष्णप्रसादलाई राजकीय पाहुनाको सम्मान दिइन् । दिदीको विशेष अनुग्रह, उनी ग्वालियर राजघरानाकी बुहारी र राणाहरूको ग्वालियर राजघरानासँगको घनिष्ट सम्बन्घ मथ्ने हो भने उनलाई ‘यो किन यसो गरिरहेको छ ?’ भन्ने प्रश्नको जवाफ कठिन हुने थिएन । तर, प्रिन्सिपल घोरपाटेले ‘यो तिम्रो साली वा छोरीमाथि आँखा हालिरहेछ ।’ भनेर महाराजको तयार लालमोहर छोडेर भाग्न बाध्य बनायो । यसरी चन्द्रशमशेरको कृष्णप्रसादलाई आफ्नो काबुमा राख्ने प्रयत्न असफल भयो । त्यो कृपा गर्न भने भीमशमशेरलाई जु¥यो ।

किताबमा कृष्णप्रसाद र राणाहरूसँग सम्बन्धित प्रसङ्गहरू छन् जसको विवेचन केवल एक आलेखमा अट्न सम्भव छैन । चन्द्रशमशेरबारे इतिहासमा भएका कुराहरू, सुनिएका कुराहरूबाट अनुमान गर्न सक्ने उनको स्वभाव सहजै झुक्याउन सकिने किसिमको थिएन । त्यसैले विराटनगरका बडाहाकिमले आफ्नै घोडा दिएर उनलाई मुग्लान भगाएको कुरा चन्द्रशमशेरलाई पत्तो भएन होला भन्ने कुरा पच्न कठिन हुन्छ । आफ्नो हुकुमको यस्तो बर्खिलाप सहने चन्द्रशमशेरको प्रवृत्ति थिएन । कोलकातामा व्यापार जमाएको मान्छे नेपालबाट भाग्दा आफ्नो कोलकाताको व्यापार सम्हालेर बस्न किन गएनन् र बनारस गएर आर्थिक दुरावस्था सहन बाध्य भए भन्ने कुरा पनि रहस्यमय छ । फेरि आपूmलाई ढाक्रेको लुगा पठाएर व्यङ्ग्य गर्ने, आफ्नो मर्जी नभई स्कुल, अस्पताल खोल्ने र लगाइएको आरोपअनुसार रकम हिनामिना गर्नेमाथि चन्द्रशमशेरको किन यस्तो कृपा भयो कि नेपालमा प्रकाशित किताब मात्र होइन आपूmलार्ई फाइदा गरेको आयुर्वेदिक औषधिसमेत पठाउने गर्दथे । त्यसैले यो सम्पूर्ण प्रसङ्गमा इतिहासमा देखाउन खोजेकोभन्दा बेग्लै कारण हुन सक्छ ।