जसको सिङ छैन उसैको नाम तिखे

जसको सिङ छैन उसैको नाम तिखे


रञ्जन थापा

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाको चर्तीकला हेर्दा उनी नेपाली काङ्ग्रेसका उपल्लो दर्जाको नेताको भएको भान हुन्छ । सरकार परिवर्तनसँगै उनीमा आएको परिवर्तनको विश्लेषण गर्दा उनको धाक कुनै मन्त्रीभन्दा कम छैन । अहिले उनको दिनचर्या भनेकै मन्त्री क्वार्टर धाउनु र खेलकुदबारे अनावश्यक टीका–टिप्पणी र सल्लाह दिनमै बितिरहेको छ । उनको यो हर्कतबाट अहिले राखेप कर्मचारी सङ्घका पदाधिकारीहरूसमेत आहत र आजित भएका छन् । आफ्नो हैसियत के हो ? त्यो बिर्सिएका थापा अहिले खेलकुदमन्त्रीसँग साँठगाँठ गरी सदस्यसचिव विष्टलाई फाल्ने खेलमा समेत लागेका छन् ।

रञ्जन थापाको हैसियत सबैलाई थाहा छ । उनी हक्की खेलका सहायक प्रशिक्षक अर्थात् राखेपका सहायकस्तरका कर्मचारी मात्रै हुन् । थापाको व्यक्तित्व योभन्दा माथि छैन । तालिम तथा प्रशिक्षण विभागका प्रमुख नवीन उप्रेतीको आशीर्वादले राखेप कर्मचारी सङ्घको अध्यक्ष बने पनि अहिले उनको कार्यकाल सकिइसकेको छ । अहिले उनी म्यादी अध्यक्ष मात्रै हुन् । तर, थापाको गतिविधि हेर्दा काङ्ग्रेस पार्टीको अध्यक्षभन्दा कम छैन । अन्यथा काङ्ग्रेसबाट राखेपमा नियुक्त भएका बोर्ड सदस्यलाई कदापि धम्क्याउने कार्य गर्ने थिएनन् । प्राप्त जानकारीअनुसार थापाले ती सदस्यलाई फिर्ता बोलाउन पार्टीका नेताको कान फुकेको पनि खुलासा भएको छ । उनको यो हर्कतको पर्दाफास भएपछि अहिले बोर्ड सदस्य र थापाबीच पानी–बाराबार र बोलचाल बन्द छ, । उनको यो चुरिफुरी देखेर आजभोलि उप्रेती थाप्लोमा हात राखेर आफैँलाई सरापिराखेका छन्– मलाई कुन जुनीको पाप लाग्यो, रञ्जनलाई अध्यक्ष बनाएँ ।

आफूलाई काङ्ग्रेसको कुनै नेताभन्दा कम नठान्ने थापा हालै सम्पन्न काङ्ग्रेसको महाधिवेशनमा बुथ कमिटीबाटै पराजित भएका थिए । तैपनि उनी आफूलाई ठूलै स्वघोषित नेता भन्न छाडेका छैनन् । गत साता सम्पन्न राखेपको ५३औँ वार्षिक उत्सवको समापन समारोहमा थापाले यस्तै सर्मनाक कार्य गरेका थिए । जुन …लाई भन्दा देख्नेलाई लाज भएको थियो । थापालाई पुरस्कार वितरणका लागि कसैले नबोलाए पनि उनी आफैँ उठेर सदस्यसचिव विष्टसँगै पुरस्कार बाँड्न थालेका थिए । उनको यो छुद्र हर्कतपछि आक्रोशित सङ्घका एक पदाधिकारी भन्दै थिए– यो त अति भो । अब मौनता साँध्नु भनेको खति व्यहोर्नु हो, उहाँको व्यवस्थापन गर्नपट्टि अब सङ्घ लाग्नुपर्छ ।

राम्रो कामको कहिल्यै प्रशंसा र विश्लेषण नगर्ने, नराम्रो कामको मात्रै उजागर गरेर आर्थिक लाभ लिँदै आएका थापामाथि आरोप लगाएको छ । थापाले सार्वजनिक रूपमा सदस्यसचिवको आलोचना गर्ने र त्यसपछि बार्गेनिङ गर्दै आर्थिक लाभ लिने गरेको रहस्यको खुलासा भएको छ । लेखा शाखाका एक कर्मचारी भन्दै थिए, ‘थापाले विगत एक वर्षमा २५ पटक विराटनगरको मात्रै भ्रमण आदेश भरेका छन् ।’ जसबाट उनले परिषद्बाट लाखौँ रुपैयाँ लगेका छन् । अध्यक्षजस्तो मान्छे विराटनगरमा मात्र किन जान्छ, अन्य जिल्लामा किन जाँदैन ? त्यसबारे कर्मचारी सङ्घका पदाधिकारीले छानबिन गर्नुपर्ने बताए । कर्मचारीको हकहितका लागि अध्यक्ष बनेको हो कि आफ्नो स्वार्थसिद्ध गर्न त्यसको जवाफ थापाले दिनुपर्ने बताए । यो कुराको पुष्टि गर्न सम्बन्धित निकायमा सम्पर्क राख्दा यति नै पटक भनेर ठोकुवा नगरे पनि विराटनगरको भ्रमण आदेश भरेर थुप्रैपटक रकम लिएको खुलासा गरेको थियो । यसबाट पुष्टि हुन्छ कि थापाले अध्यक्ष पदको दुरुपयोग गर्दै कसरी आफ्नो भरणपोषण गरिरहेका छन् भनेर ।

यसरी नवीन उप्रेतीको आशीर्वादले अध्यक्ष बनेका पूर्वमन्त्री बलबहादुर केसीको चाकरीबाट पूर्वाञ्चलको क्षेत्रीय अध्यक्ष बनेका थापा अहिले आफूलाई पार्टी अध्यक्ष शेरबहादुर देउवाको निकट भन्दै उनीहरूकै आलोचना गर्दै हिँडिरहेका छन् । जुन थालमा खायो त्यसैमा प्वाल पार्दै आएका थापा आफ्नो फाइदाका लागि जहाँ पनि जान सक्ने र फाइदा लिने व्यक्तिको रूपमा देखापरेका छन् । यसको उदाहरण उनले खेलकुदमा खेलेको दोहोरो भूमिकाबाट पनि सोझै अनुमान लगाउन सकिन्छ । सङ्घलाई गुमराहमा राख्दै सङ्घकै आडमा मन्त्रालय र राखेपमा थापाले गरेको चलखेल यतिबेला चर्चाको विषय बनेको छ । मन्त्रालयका कुरा राखेप र राखेपका कुरा मन्त्रालयमा पु¥याउँदै दोहोरो लाभ लिइरहेका थापालाई अब कर्मचारी सङ्घले नाकमा कसरी रस्सी लगाउँछ त्यो प्रतीक्षाको विषय बनेको छ ।