राजनीतिलाई व्यवसाय बनाउनेले मुलुक बिगारे

राजनीतिलाई व्यवसाय बनाउनेले मुलुक बिगारे


Roshan
– रोशनकुमार यादव

उच्च शिक्षा अध्ययनको सिलसिलामा प्रवासमा रहँदादेखि नै तरुण दलको नेतृत्व–तहमा रहेर नेतृत्व–क्षमता तथा कौशल देखाएका प्राज्ञिक पृष्ठभूमिका रोशनकुमार यादव राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध युवा नेताका रूपमा चिनिन्छन् । राष्ट्रलाई समृद्धि र आधुनिकताको दिशामा लैजान शिक्षित, गतिशील, ऊर्जावान तथा उद्यमशील युवाको खाँचो रहेको र युवा वर्गलाई कुलतबाट जोगाउँदै मुलुकको उन्नति तथा विकासमा संलग्न गराउन आफूसँग स्पष्ट भिजन एवम् योजना रहेको यादवको दाबी छ । बेंग्लोर युनिभर्सिटीबाट बायोटेक्नोलोजीमा एमएस्सी गरेका रोशन इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएससी)का रिसर्च एसोसिएटसमेत रहिसकेका व्यक्ति हुन् । हाल एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका डेपुटी डाइरेक्टरका रूपमा कार्यरत उनी यस्ता विभिन्न प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यसँग जोडिएका संस्थामा आबद्ध छन् । राजनीतिलाई व्यवसाय होइन विशुद्ध सेवाको माध्यम तुल्याउनुपर्छ भन्ने मान्यता बोक्ने यिनी राजनीति आफ्नो हबी हुनाले यसमा सफल भएरै छोड्ने दाबी गर्छन् । विश्वशान्ति, भ्रातृत्व, मित्रता र युवा ऐक्यबद्धताको निम्ति क्रियाशील रहेको बताउने रोशन मूलत: नेपाली युवालाई समग्र रूपबाट माथि उठाउँदै मुलुकको विकास प्रक्रियामा सहभागी गराउन, युवाको विदेश पलायन रोक्न, समाजलाई विद्वेषको चपेटामा पर्नबाट जोगाउन पनि आफू राजनीतिमा होमिएको तर्क गर्छन् । नेपाल तरुण दल (प्रवास, भारत)का महासचिव रहेका उनी आगामी महाधिवेशनबाट केन्द्रीय तहको महत्त्वपूर्ण जिम्मेवारी हासिल गरी देश सेवामा थप लागिपर्ने अभियानमा छन् ।

० नेपालका प्रमुख राजनीतिक दलका भ्रातृ–सङ्गठनहरूको छवि खासै राम्रो छैन, तर तपाईंजस्तो एकेडेमिक क्षेत्रमा उच्च सम्भावना बोकेको व्यक्ति नेपाल तरुण दलको राजनीतिमा होमिनुभएको छ, किन ?
– अध्ययनको सिलसिलामा धेरै समय म प्रवास (भारत बेंग्लोर) बसेँ । उक्त दौरानमा मुम्बईमा नेपाल तरुण दल (प्रवास, भारत)को महाधिवेशन भएको थियो, उक्त महाधिवेशनबाट म प्रवासको महासचिव निर्वाचित भएँ । भारतमा शिक्षितदेखि शिक्षाबाट वञ्चित सबै खालका नेपाली युवाहरूको ठूलो उपस्थिति छ । उच्च प्राज्ञिकदेखि साधारण किसिमका रोजगारीमा लाखौँ नेपाली युवा त्यहाँ छन् । जब उपस्थिति व्यापक छ भने त्यहाँ समस्या पनि निकै हुने नै भए । प्रवासमा रहेका नेपालीको समस्या र त्यसको निराकरणसँग जोडिने क्रममा तरुण दलप्रति लगाव झन् बढ्दै गयो । अध्ययन सिध्याएर स्वदेश फर्किएपछि केन्द्रीय महाधिवेशन भयो । त्यसमा पनि हाम्रो सक्रियताअनुसारकै नेतृत्व छनोट भएपछि म थप उत्साहित भई तरुण दलको राजनीतिमा सक्रिय रहेको छु । जहाँसम्म एकेडेमिक फिल्डमा अवसर हुँदाहुँदै राजनीतिमा सक्रियता किन भन्ने सवाल छ, यसमा के भन्छु भने राजनीतिलाई मैले पेसाको रूपमा नभई सेवाको भावले अङ्गीकार गरेको छु । यो मेरो व्यवसाय नभई हबी हो । राजनीतिमा हुँदाहुँदै पनि मैले आफ्नो प्राज्ञिक कर्मलाई निरन्तरता दिइरहेकै छु । नेतृत्व तहका कैयन व्यक्तित्वले पार्टीकै जिम्मेवारी लिएर काम गर्न आग्रह गरे पनि म आफूलाई खार्नका लागि तलदेखि नै काम गरेर अनुभव बटुल्न चाहन्छु । अहिले नै नेपाली काङ्ग्रेसजस्तो पार्टीको उपल्लो निकायमा रहेर काम गर्न मैले हतारिनुहुँदैन भन्ने सोचका कारण युवाहरूले भोग्दै आएको बेरोजगारी, अशिक्षालगायतका यावत् समस्या निराकणका लागि के गर्न सकिन्छ भनी चिन्तन र सोअनुसारको कर्म गर्दै म नेपाल तरुण दलमा सक्रिय रहँदै आएको छु ।

० अनेक बखेडाका कारण करिब दश वर्षपछि येनकेन नेविसङ्घको महाधिवेशन सम्पन्न भएको छ, तरुण दलभित्र पनि यस्तै भाँडभैलो त छैन ?
– नेपाल विद्यार्थी सङ्घमा जस्तो नेपाल तरुण दलमा कुनै बखेडा वा विवाद छैन । भए त सतहमा आइहाल्थ्यो नि, लुकाएर कहाँ लुक्न सक्छ र ? यसका दुई मुख्य कारण छन् । नेविसङ्घमा उमेरको कुनै हद थिएन । पचास वर्ष या त्योभन्दा माथि भए पनि चुनाव लड्न पाइने प्रावधान त्यसमा रहेकाले पुरानादेखि नयाँसम्मका अनेकौँ विद्यार्थी नेता–कार्यकर्ता नेविसङ्घको नेतृत्वमा पुग्न होडबाजीमा देखिए । त्यसले गर्दा थोरै विवाद, बहस र भद्रगोलजस्तो देखिएको हो । तर, तरुण दलको विधानमा प्रस्ट व्यवस्था यो छ कि पैँतालीस वर्ष उमेर पुगेपछि नेतृत्वबाट स्वत: हट्नुपर्छ, अर्थात् तरुण दलको राजनीति छोड्नुपर्ने हुन्छ । यसर्थ, वर्षौं महाधिवेशन नहुँदा जसरी नेविसङ्घमा आकाङ्क्षीहरू थुप्रिए, त्यसको विपरीत तरुण दलमा चाहिँ उमेरहद नाघेका नेता–कार्यकता स्वत: पन्छिँदै गए, फलस्वरूप नेविसङ्घमा जस्तो नेतृत्व लिने होडबाजी या किचलोको अवस्था खास रहनै पाएन । अर्को महत्त्वपूर्ण पक्ष के पनि रह्यो भने हाम्रो पार्टी नेपाली काङ्ग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाज्यूले नेविसङ्घको नेतृत्व स्वच्छ ढङ्गले चुनावबाटै चयन होस् भनेर जुन कोसिस गर्नुभयो, सोही प्रावधान तरुण दल, महिला सङ्घहरूमा पनि अवलम्बन हुनेछ, जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा र भाँडभैलोजस्ता विकारको गुञ्जायस नै रहनेछैन ।

० तरुण दलको आसन्न महाधिवेशनलाई लक्षित गरी तपाईं यतिबेला मुलुकका जिल्ला–जिल्ला दौडिरहनुभएको छ, यस क्रममा काङ्ग्रेसप्रति आमजनता र तरुण दलप्रति तमाम युवाको कस्तो धारणा रहेको पाउनुभयो ?
– हो, पूर्वदेखि पश्चिमसम्मका लगभग चार दर्जन जति जिल्लामा म पुगिसकेको छु र जिल्ला–जिल्लाका साथीहरू भेट्ने क्रम जारी नै छ । यस क्रममा मैले आमयुवाहरूमा नेपाली काङ्ग्रेसप्रति निकै आकर्षण रहेको पाएँ । म्याग्दी पुग्दाको एक रोचक सन्दर्भ यहाँनेर स्मरण गर्न चाहन्छु । साथीहरूले मसँग भन्नुभयो कि रोशनजी, नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन हुँदा पनि केन्द्रीय नेतृत्वमा पुग्ने आकाङ्क्षा बोक्ने मधेसी समुदायका कुनै नेता हामीकहाँ आइपुग्दैनन्, तर तपाईं त तरुण दलको राजनीति गरेको अवस्थामा पनि म्याग्दीजस्तो पहाडी जिल्लासम्म दु:ख गरेर धाउनुभयो । मेरो भनाइको मतलब मधेसी समुदायका हुन् वा पहाडी समुदायका, विविधताले भरिएको नेपालका नेपाली त आखिर नेपाली नै हुन्, मुलुकमा सबैको साझा अस्तित्व छ । यो यथार्थलाई हिमालदेखि तराई–मधेससम्म फैलाउनु आजको अपरिहार्यता बनेको छ । यसरी पहाडका कुना–कन्दरा पुग्दा कैयन साथीले राष्ट्रियताको विषयमा पनि प्रश्न उठाउँछन्, तर म हिमाल, पहाड र तराईजस्तो अलग विशेषता बोकेको क्षेत्रका नेपालीलाई कसरी अझै एकाकार गराउने भन्ने चिन्तन बोकेर आफू अभियानमा लागेको बताउँछु । मधेसमा समस्या छ, कैयन समस्या स्थानीय उपज छन् भने कतिपय राज्यको ध्यान नपुगेर पनि भएको छ । यसको निराकरणका लागि हामीले आफ्नो पार्टी–नेतृत्वलाई पनि दबाब दिइरहेका छौँ भने आफ्नै तहबाट हुन सक्ने समाधान आफैँ खोजिरहेका पनि छौँ । सबभन्दा महत्त्वपूर्ण कुराचाहिँ मैले यो पाएँ कि यस्तो एकेडेमिक युवा तरुण दलमा सक्रिय भएर पहाडका कुना–कन्दरामा पसिना बगाइरहेको छ भने नेपाल तरुण दलको भविष्य निश्चय पनि सुखद छ, यसले मुलुक र मुलुकका तमाम युवाका लागि केही गर्छ भन्ने भाव साथीहरूमा जागृत भएको मैले अनुभूति गरेँ ।

० तरुण दलको महाधिवेशन नजिकै हुँदै गर्दा तपाईं यसरी देशव्यापी दौडाहामा हुनुको मतलब दलको महत्त्वपूर्ण जिम्मेवारीको आकाङ्क्षी भएरै त होला, होइन ?
– यो कुरालाई म इन्कार गर्न सक्दिनँ र चाहन्नँ पनि । आदरणीय पार्टी सभापतिज्यूले पार्टीको महत्त्वपूर्ण विभागकै सदस्य भएर काम गर्न आग्रह गर्दा पनि तरुण दलकै माध्यमबाट युवा वर्गको समस्या समाधान गर्ने, सिङ्गै मुलुकका लागि व्यक्तिगत र दलगत रूपमा सक्दो सेवा गर्ने चाहना प्रकट गर्ने व्यक्तिका नाताले स्वाभाविक छ कि दलको नेतृत्व तहमा रहेर आफ्नो योग्यता–क्षमता देखाउने, नेपाली काङ्ग्रेस पार्टीकै साख बढाउने गरी तरुण दलको छवि अझै चम्काउने मेरो चाहना छ । मैले आजसम्म तरुण दलमा आबद्ध भई जे–जति पसिना बगाएँ, यसका आधारमा पनि महत्त्वपूर्ण जिम्मेवारी लिएर सेवा गर्ने मलाई हक छ भन्ने लाग्छ ।

० काङ्ग्रेसभित्र त गुट या खेमाको राजनीति पनि चर्को छ भनिन्छ, कुनै गुटविशेषको आशीर्वाद पनि पाउनुभएको छ कि तपाईंले ?
– प्राय: गरेर दलीय राजनीतिमा गुटको अस्तित्व हामी देख्छौँ, यो स्वाभाविकै पनि होला । तर, म यो खेमा, ऊ खेमा भनेर लागिरहेको छैन । मेरा लागि प्रजातन्त्रप्रति प्रतिबद्ध ऐतिहासिक पार्टी नेपाली काङ्ग्रेस एउटा आस्थाको केन्द्र हो, यसभित्र अनेक सोच–सामथ्र्य बोकेका नेता–कार्यकर्ता होलान्, सबैले आ–आफ्नो स्थानबाट मुलुक र जनताको सेवा गरिरहेका छन् । म पनि आफ्नै योग्यता–क्षमताअनुसार कर्म गरिरहेको छु । यस्तोमा कुनै गुटविशेषको अस्तित्व खोजेर म हिँडिरहेको पनि छैन । म त पार्टी–नेतृत्वमा विश्वास गर्छु । पार्टी नेतृत्वले यस्तो एकेडेमिक ब्याकग्राउन्ड भएको व्यक्ति भन्दै मेरो उचित कदर गरेको अनुभूति मैले गरेको छु । देशको गहनासरह रहेका युवा वर्ग यतिबेला अनेक समस्यामा छन् । समस्याको यस दलदलबाट युवा वर्गलाई बाहिर निकाल्न म प्रतिबद्ध छु । यो कुरा काङ्ग्रेस नेतृत्वलाई अवगत छ । तसर्थ, गुटको राजनीतिमा अल्झिरहनु मेरा लागि आवश्यक छैन ।

० यतिबेला देशको राजनीति नै मधेसी मुद्दाका कारण तरङ्गित छ । यस परिवेशमा मधेसी समुदायबाट राजनीति गरिरहेका कैयन नेतालाई ‘विखण्डनकारी’को संज्ञासमेत दिइएको तीतो यथार्थ हाम्रासामु छ, मधेसी नेतामाथि यसरी औँला उठाइनु कति युक्तिसङ्गत छ तपाईंको दृष्टिमा ?
– यसलाई दुई किसिमबाट हेरिनुपर्छ जस्तो लाग्छ । बाह्य समुदाय या विदेशका नेताहरू कसरी राजनीति गर्छन् र हाम्रा नेताहरू कसरी गरिरहेका छन् भन्ने प्रश्न अहम् हुन आउँछ । मूल कुरा नै यो हो कि ‘इस्युज’भन्दा पनि ‘इन्ट्रेस्ट’लाई ध्यानमा राखेर राजनीति गरिरहेका छन् हाम्रा नेताहरू । मधेसकै कुरा गर्ने हो भने पनि माग या एजेण्डा एउटै छ, तर पार्टी दर्जनौँ छन् । एउटै उद्देश्यका लागि लड्नु छ भने पार्टी अनेक किन आवश्यक पर्‍यो भन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा यस्तो अवस्था निम्तिएको तथ्य जुनकुनै विवेकशील व्यक्तिले बुझ्न सक्छ । पाँच क्लास पास नभएको व्यक्ति राजनीतिमा उत्रिन्छ, उसैसँग करोडौँको घर, गाडी र अन्य सुख–सुविधाका साधन छन् भने यो कसरी पाच्य हुन सक्छ र ? राजनीतिलाई कमाइखाने भाँडो बनाएको कुन सचेत नागरिकलाई सैह्य हुन्छ र ? राजनीतिलाई करिअर या जबको रूपमा लिनुभएन, यो त सेवाको एक अब्बल माध्यम हो । राजनीतिलाई व्यवसाय बनाउन खोज्दा भ्रष्टाचारको सिर्जना हुन सक्छ भन्ने मेरो ठम्याइ छ । मधेसमा समस्या नै छैन भन्ने मेरो भनाइ होइन, राज्यले सम्बोधन गर्नुपर्ने समस्या त्यहाँ प्रशस्तै छन् । यो हल गर्न हाम्रो नेतृत्वलाई हामीले पनि दबाब दिइरहेका छौँ ।

० राज्यबाट मधेस हेपिएको या तिरस्कृत भएको आरोप लाग्दै आएको छ, यो आरोप कुन हदसम्म सही हो भन्ने लाग्छ तपाईंलाई ?
– यो हेप्ने–हेपिने कुरा व्यक्तिगत क्षमता र सोचमा पनि भरपर्ने विषय हो भन्ने लाग्छ । मेरो व्यक्तिगत अनुभवको कुरा गर्ने हो भने राज्यबाट हेपिएको अनुभूति मैले आजका दिनसम्म गर्नुपरेको छैन । मलाई कसैले हेप्न सक्छ जस्तो पनि मलाई लाग्दैन । म कुनै आरक्षणको सहारा लिएर आजको स्थानसम्म आइपुगेको पनि होइन । यहाँनेर यत्तिचाहिँ भन्नैपर्ने हुन्छ कि राज्यबाट मधेसमा खटिने कर्मचारी, प्रहरीका उपल्ला अधिकारीले अनावश्यक रोव–रवाफ देखाउन खोजेझैँ अनुभूति मधेसका सर्वसाधारण जनताले गर्दै आएका हुन् । व्यवहारमा यस्तो हेपाहा या थिच्न खोज्ने सोच नदेखिएको होइन । राज्य संरचना र जिम्मेवारी प्रदान गर्ने सवालकै आधारमा चाहिँ राज्यले मधेसलाई विभेद नै गरेको छ भन्न मिल्दैन । गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति–उपराष्ट्रपति मुलुकले मधेसबाट पाएको छ, अहिलेकै क्याबिनेटमा हेर्ने हो भने मधेसी समुदायका विमलेन्द्र निधि महत्त्वपूर्ण पोर्टफोलियोमा हुनुहुन्छ । हेपेको या हेप्न खोजिएकै थियो भने यो सम्भव हुने थिएन । जिम्मेवारी भनेको आफ्नो क्वालिटी, आफ्नो प्रभावले पनि हासिल हुने हो, त्यत्तिकै रोइकराई गरेर मात्र पनि त हुँदैन नि ।

Roshan 2

■ नेवि सङ्घमा उमेरहद नलाग्दा भद्रगोल भयो ।
■ मधेस विभेदमा परेको कुरा यथार्थभन्दा हल्ला बढी हो ।
■ मधेसका नेताले ‘इस्युज’भन्दा ‘इन्ट्रेस्ट’लाई ध्यान दिए ।
■ राजनीतिलाई व्यवसाय बनाउनेले भ्रष्टाचार जन्माए ।
■ युवा वर्गको सदुपयोग गर्न नजान्नेले राजनीति नगरे हुन्छ ।

० मधेस हेपिएको बहानामा राजनीतिक सिँढी चढ्नेहरू यहाँ प्रशस्तै छन्, तर तपाईंचाहिँ उनीहरूको एजेण्डालाई आरोप मात्रै हो भन्नुहुन्छ, मधेसमा गएर यस्तो भन्न सक्नुहुन्छ त ?
– हेर्नुस्, आरोपका लागि आरोप लगाएर मात्रै त हुँदैन, रिजल्टमा हेर्नुपर्छ । च्याउसरह उम्रिएका पार्टीहरूले मधेसमा के खुबी देखाए त ? आखिर अहिले पनि नेपाली काङ्ग्रेसप्रति नै भरोसा गर्छन् मधेसका आमनागरिक । विभेद, शोषण र उत्पीडनका नारा उराल्छन्, आन्दोलन छेड्छन्, तर मौका पर्दा पार्टीका एक्ला सांसद पनि मन्त्री बन्न कुँद्छन् । आफ्नै जहान–परिवारलाई सांसद र मन्त्री बनाउँछन् । तिनले मधेसी जनताका लागि के गरे ? यो कुरा मधेसले राम्ररी बुझेको छ । मधेसमा समस्या छ, तर प्रचारमा ल्याइएजस्तो होइन । म म्याग्दी पुग्दा त्यहाँका दाजुभाइ–दिदीबहिनीले जुन खालको आत्मीयता दर्शाए, त्यहाँका दाजुभाइ मधेस पुग्दा पनि त्यस्तै आत्मीयता वा अपनत्व अनुभूति गर्ने माहोल बन्नुपर्छ । तर, मधेसका नागरिक नेपाली नै होइन भन्ने अतिवादी सोच पाल्ने व्यक्तिसमेत मुलुकका प्रधानमन्त्री भए । यस्तो सोचचाहिँ राज्य वा कुनै पनि समुदायले त्याग्नुपर्छ ।

० केपी ओली प्रधानमन्त्रीबाट हट्दा मधेसी समुदायले दीप प्रज्ज्वलन गरेकोसमेत पाइयो, अब प्रचण्ड प्रधानमन्त्री बनेका छन्, ओली जाँदा खुसी मनाउनेहरूले प्रचण्डबाट चाहिँ आफूले चाहेको कुरा पाउलान् ? के लाग्छ तपाईंलाई ?
– जुन प्रतिबद्धता र उदारता प्रचण्डले देखाउनुभएको छ, यसका आधारमा भन्नुपर्दा आशावादी बन्न सकिन्छ । तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रचण्डले दर्शाएको तदारुकता सराहनीय छ । मधेसका मुद्दाप्रति कुनै पूर्वाग्रह नराखी उहाँले संवेदनशीलता देखाउनुभएको छ ।

० मधेस र पहाडबीच सौहार्दता बढेको हेर्न तपाईं निकै लालयित हुनुहुँदोरहेछ, यसका लागि के गर्नुपर्ला भन्ने लाग्छ तपाईंलाई ?
– हेर्नुस्, समस्या सबैतिर छ । हिमालका हुन् या पहाडका र मधेसकै पनि किन नहुन्, युवा वर्ग आज पीडित छ । रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता छ र पढेलेखेका युवाले पनि विदेशमा गएर कठोर श्रम गर्नुपरेको छ । तिनले विदेशमा बगाएको पसिनाबाट आर्जित रकमले आज देश धानिएको छ । हामी युवालाई देशको गहना भन्छौँ, तर युवा वर्गको सदुपयोग गर्न सकिरहेका छैनौँ । प्राकृतिक स्रोतमा हामी निकै धनी छौँ । यो स्रोतलाई परिचालन गरेर युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन नसक्नु राज्यको कमजोरी हो । यस्ता कमी–कमजोरी चिरेर मुलुकलाई अगाडि बढाउन सके, सबैतिर आर्थिक समृद्धि र शिक्षाको उज्यालो पुर्‍याउन सके आपसी विभेद र विद्वेष त्यत्तिकै मेटिएर जान्छ भन्ने लाग्छ मलाई त ।

० तपाईं तरुण दलको नेतृत्व तहमा पुग्नुभयो भने युवा वर्गका लागि मूलभूत रूपमा के गर्छु भन्ने लागेको छ, या त्यस्ता के योजना छन् तपाईंसँग ?
– कतिपय आलोचकहरूले तरुण दललाई गुण्डागर्दी या हुलहुज्जत गर्नेहरूको जमातका रूपमा बुझ्न खोज्ने या चित्रित गर्न खोज्ने गरेकोसमेत मैले पाएको छु । तर यसरी हावादारी आरोप लगाउनेहरूले यो मनन गर्न सकिरहेका छैनन् कि आज तरुण दलको अध्यक्षको जिम्मेवारी कस्तो युवाले सम्हालिरहेको छ । विश्वविख्यात कर्नेल युनिभर्सिटीबाट शिक्षा लिएका होनहार युवा उदयशमशेर राणा नेपाल तरुण दलका अध्यक्ष हुनुहुन्छ, जो ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पनि हो । उहाँको छविमा अहिलेसम्म कसैले कुनै दाग देखाउन सकेको छैन । कतै अभद्र व्यवहार भए–गरेको विरोधीले समेत सुन्न–देख्न पाएका छैनन् । अरू दलका युवा सङ्गठनको कुन हाल छ, कस्तो छवि छ भन्ने त जगजाहेर नै छ । हो, यस्तो परिवेशमा म तरुण दलको केन्द्रीय तहको नेतृत्वमा रहेर युवा वर्ग र समग्र मुलुककै सेवा गर्ने सोच बनाइरहेको छु । पक्कै पनि यो काम चुनौतीयुक्त छ, तर मसँग जुन भिजन वा योजनाहरू छन्, त्यसलाई कार्यान्वयनमा लगेर नेपाल तरुण दल, नेपाली काङ्ग्रेस पार्टी र सिङ्गै देशको गौरव बढाउने काम गरी देखाउने आँट र क्षमता मसँग रहेको आत्मविश्वासका साथ दोहोर्‍याउन चाहन्छु । खाडी मुलुकमा पसिना बगाइरहेका युवालाई स्वदेशमै उचित रोजगारीको वातावरण सिर्जना गर्नु आज राज्यकै अहम् दायित्व हो, यदि तरुण दलको लिडरसिपमा म भएँ भने यस मुद्दालाई पहिलो प्राथमिकतामा राखेर म काम गर्नेछु । उदाहरणका लागि, म आफू बायो टेक्नोलोजिस्ट हुनुको नाताले बायो टेक्नोलोजीसँग सम्बन्धित कामको बृहत् सोच र योजना मसँग छ, जसले सयौँ युवालाई उत्कृष्ट प्रकारको रोजगारी दिलाउन सक्छ । युवालाई कुलतमा लाग्न नदिई स्वरोजगारीतर्फ उत्प्रेरित गराउनु मेरो उत्कट चाहना छ । युवालाई अग्रपङ्क्तिमा स्थान नदिने मुलुकले अब समृद्धिको सपना नै नदेखे हुन्छ । म मुलुकमा रिसोर्सेज देखिरहेको छु, त्यसलाई उपयोग गर्ने योजना पनि मसँग छन् । यसका लागि राज्यलाई तयार पार्नुपर्छ । राजनीतिक स्थिरताको खाँचो छ । यो सबै गर्ने दायित्व त मूलत: हामीजस्ता युवाकै त हो ।

० नेपाली काङ्ग्रेसमा गुटबन्दी चर्को छ, भागबन्डाको राजनीति चल्छ, नेताविशेषको आशीर्वादबिना केही गर्न सकिन्न भन्ने गुनासा पनि सुनिन्छन्, तपाईं कुनै गुटमा छैन भन्नुहुन्छ, यस्तोमा आफूले चाहेको पदमा उम्मेदवार बन्ने अवसर पाउनेमा कति विश्वस्त हुनुहुन्छ ?
– यसमा म निश्चिन्त छु । मेरो योग्यता, क्षमता, प्रतिबद्धता र इमानदारी आफ्नै ठाउँमा छ । यसबाहेक भूगोल मिलाउनुपर्ने सवाल पनि छ । पार्टीका हरेक निकायमा सही नेतृत्व रहनुपर्छ भन्ने मान्यताको विरुद्ध त को पो होला र ? सबै नेताहरूले मलाई बुझेका छन् र तमाम युवा साथीहरूसँग पनि मैले दु:ख–सुख साटिरहेको छु । उहाँहरूको मप्रति विश्वास र समर्थन पनि छ । मलाई लाग्छ, यी सबै कारणले पनि मैले महत्त्वपूर्ण जिम्मेवारी पाउने नै छु ।

प्रस्तुति : जयप्रकाश त्रिपाठी