प्रचण्डको विकल्प खोज्न सकिन्छ :राम कार्की

प्रचण्डको विकल्प खोज्न सकिन्छ :राम कार्की


माओवादी पोलिटब्युरो सदस्य राम कार्की यतिबेला बहुमतको होइन, सहमतीय सरकार गठन गर्नुपर्ने र त्यसका लागि परेमा पार्टी अध्यक्ष प्रचण्डले समेत प्रधानमन्त्रीको दौड त्याग्नुपर्ने पक्षमा छन् । राष्ट्रिय सहमतिको पक्षमा खरो रूपमा उत्रिएका राम कार्की प्रचण्डको विकल्प खोज्नसमेत पार्टी पछिपर्न नहुने धारमा छन् । किन त – प्रस्तुत छ, स्पष्टवक्ता कार्कीसँग ऋषि धमलाले गरेको कुराकानी:
० तीनपटकसम्मको प्रयासले पनि प्रधानमन्त्री चयन हुन नसकेपछि अब बहुमतीय सरकार बन्ने सम्भावना टर्‍यो, होइन त –
– भविष्यको बारेमा केही भन्न सकिँदैन । हाम्रो ग्राफ बढिरहेको छ । तर, हामीले सरकार बनाइहाले पनि त्यसलाई राष्ट्रिय सहमतिको सरकार बनाउनतर्फ अगाडि बढिहाल्नुुपर्छ ।
० चौथोपटकको निर्वाचन पनि निर्रथक होला जस्तो छ नि –
– अब साउन २१ गते सम्भवत: हाम्रै पक्षमा बहुमत जुट्ला । नजुटेको खण्डमा अब हामी राष्ट्रिय सहमतिमा जानैपर्छ । त्यसका लागि जनताको चाहनाप्रति त हामी नतमस्तक नै छौँ ।
० खै, अहिलेको परिदृश्य हेर्दा त प्रचण्डको नेतृत्वमा असम्भव देखियो नि –
– होइन, असम्भव छैन । अहिले हामी सबैले चेतेका पनि छौँ ।
सबैले अब नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने अवस्था छ । अब हामी सबैले मिलेर राजनीतिलाई सहमतिको प्रक्रियामा लैजाने प्रयत्न गर्नुपर्छ ।
० सहमतिको प्रक्रियामा लैजान त प्रचण्डले उम्मेदवारी फिर्ता लिनुपर्ला नि, तयार हुनुहुन्छ त –
– सबै पार्टीमा सहमति हुन्छ भने नयाँ प्रक्रियाको थालनी गर्नुपर्छ । उम्मेदवारी परिसकेको स्थितिमा प्रचण्डलाई नै राष्ट्रिय सहमतिको सरकारको नेताको रूपमा अगाडि लैजाऊँ न त भन्ने विकल्प सबैभन्दा बढी उपयुक्त हुन्छ ।
० त्यसमा सहमति जुटने सम्भावना त देखिँदैन नि –
– सम्भावना हामीले सिर्जना गर्ने हो । मुलुकलाई डेडलकमा राख्नुहुँदैन । अहिले पनि मेजर पार्टी बसेर पहिलो सम्भावनामाथि विचार गर्ने । अर्थात् प्रचण्डको नेतृत्वमाथि विचार गर्ने । त्यसमा कुरा नमिले सहमतिको राजनीति सुरु गर्ने हिसाबमा अर्को व्यक्तिलाई पनि विकल्पको रूपमा अगाडि बढाउन सकिन्छ ।
० सहमतिको वातावरण बनाउन प्रचण्डले उम्मेदवारी फिर्ता लिँदा कुनै आपत्ति हुन्छ र –
– आजभोलिमै सहमति भइहाल्छ भने त निष्कर्षमा पुर्‍याउन सकिहालिन्छ । मुख्यत: माओवादी ठूलो पार्टी भएकोले त्यही पार्टीको नेताको नेतृत्वमा न्यूनतम साझा कार्यक्रम बनाएर राष्ट्रिय सहमति बन्न सक्यो भने त्यो सबैभन्दा राम्रो विकल्प हुन्छ । अब त्यसमा आपत्ति छ भने अरू विकल्पमाथि छलफल गर्न र कुरा अगाडि बढाउन सकिन्छ ।
० प्रचण्डको विकल्प को हुन सक्छ – बाबुराम कि बादल –
– होइन, अहिले व्यक्तिको कुरामा नजाऔँ । हामी ब्यक्तितिर जाने कुरै छैन ।
० जनमतले त बाबुरामलाई प्रधानमन्त्री हुनसक्छन् भनेर त देखाइसकेको छ नि –
– ठीकै हो, अरू पार्टीसँग कुरा गरेर मात्र यस विषयमा निक्र्योल गर्नु उपयुक्त हुन्छ । हामीले मात्रै कुरा गरेर हुने कुरा होइन ।
० बाबुराम वैकल्पिक उम्मेदवार हुन सक्नुहुन्छ नि होइन –
– हामी अरू पार्टीहरूसँग बसेर एउटा सहमतिमा पुग्ने हो । त्यसका लागि मेरो गोरुको बाह्र्रै टक्का भनेर पनि त हुँदैन ।
० सहमतिको सरकारको नेतृत्व गर्न बाबुराम उपयुक्त हो कि होइन –
– तपाईंले बाबुरामजीलाई बढी मन पराएजस्तो छ । तर, हाम्रो पार्टीको जुनसुकै नेता हुन सक्नुहुन्छ । कसको नाममा राष्ट्रिय सहमति बन्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा के हो भने बहुमतीयबाट सहमतीयमा लैजान सकियो भने अहिले देशलाई बढी नोक्सानबाट बचाउन सकिन्छ ।

एमालेले निर्णय पुनरि्वचार गर्नेमा काङ्गे्रस विश्वस्त छ -डा.रामशरण महत -नेता, नेपाली काङ्गे्रस)
० प्रधानमन्त्री चयन प्रक्रिया तीनपटक असफल भइसकेको अवस्थामा अब नेपाली काङ्गे्रसले कस्तो निर्णय गर्छ –
-हामीले आफ्नो उम्मेदवार अगाडि सारेका छौँ र आफ्नो उम्मेदवारलाई विजयी तुल्याउन स्वस्थ राजनीतिक ढङ्गले क्रियाशील छौँ । तटस्थ रहेकाहरूको पनि समर्थन उहाँलाई मिल्छ भन्नेमा एकप्रकारले हामी विश्वस्त नै छौँ । फोहोरको राजनीति सुरु भएको आभास हामीलाई नभएक्ो होइन, तर हामी किनबेचको राजनीतिमा छैनौँ । दुभाग्यवश अहिले दुगन्ध फैलिएको छ । पैसा-प्रलोभनको राजनीति सुरु भएको छ, पार्टी फुटाउने षड्यन्त्र देखिएको छ ।
० यस्तो दुगन्धित राजनीतिलाई सुगन्धित तुल्याउन काङ्गे्रसले के गर्छ त ! रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन त काङ्गे्रस असफलप्राय: भइसकेको देखिन्छ –
– असफल भयो भन्ने अवस्था छैन । अर्को कुरा सिद्धान्त, नीति र मर्यादाको राजनीतिलाई हामी निरन्तरता दिन्छौँ । फोहोरी राजनीतिमा प्रवेश गर्दैनौँ । हामीलाई के विश्वास छ भने सिद्धान्तनिष्ट, राष्ट्र र लोकतन्त्रप्रति प्रतिबद्ध, मूल्यमान्यतामा विश्वास गर्ने दलहरूले हामीलाई समर्थन गर्नेछन् । जो अहिले तटस्थ रहेका छन् तिनको पनि अन्तत: समर्थन प्राप्त हुनेछ । तटस्थ बसेका दलहरूले पनि अब बुझनुपर्छ कि कति फोहोरी राजनीतिमा माओवादीहरू उत्रिएका छन् ।
० त्यसो भए आउँदो शुक्रबार मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ –
-आशावादी छौँ हामी यसमा ।
० यत्रो २२ दलको प्रजातान्त्रिक गठबन्धन रहँदा पनि काङ्गे्रसलाई समर्थन गर्नेहरू किन नदेखिएका होलान् –
-राप्रपा, राजपाहरूले काङ्गे्रसलाई दर्बिलो साथ दिइरहेकै छन् । हामी उनीहरूप्रति आभारी पनि छौँ । उनीहरूको यो अडान र सहयोगकारी भूमिका लोकतन्त्रका लागि राम्रो सङ्केत पनि हो । अब एमालेले पनि आफ्नो पूर्वनिर्णयमा पुनरि्वचार गर्नेछ, गर्नैपर्छ, यसमा हामी आशावादी छौँ । साथसाथै मधेसी मोर्चाले पनि अहिलेसम्मका निर्णयमा पुनरि्वचार गरेर काङ्गे्रसलाई सघाउनेछ भन्ने आशा गरेका छौँ हामीले । यसो गर्दा मोर्चासम्बद्ध दलहरूको हित नै हुनेछ ।
० एमालेले त सहमति निर्माण नहुन्जेल निर्णयमा चट्टानझैं दृढ रहने भनिसक्यो नि त !
– जुन रूपले पार्टी फुटाउनेसम्मको फोहोरी राजनीतिले एमालेभित्र प्रवेश पाइसकेकोे अवस्था छ, यो त एमालेले हाल लिएको अडानको खिलाफमा छ नि । एमालेजस्तो पार्टीले अब यो गम्भीर अवस्थालाई निरीह भएर टुलुटुलु हेरेर बस्छ भन्नेमा मलाई विश्वास छैन ।
० यसको मतलब एमालेले अब निर्णय परिवर्तन नगरी सुखै छैन –
-एमालेले अब आफ्नो निर्णय परिवर्तन गर्नैपर्ने अवस्था आएको देख्छौँ हामी ।
० परिवर्तित निर्णयअनुसार उसले भोटचाहिँ माओवादीलाई हाल्ने कि काङ्गे्रसलाई नि –
– स्पष्ट छ कि यो त, काङ्गे्रसको पक्षमा उभिनु नै उसको लोकतन्त्रप्रतिको प्रतिबद्धताको परिचायक हुन्छ ।
० काङ्गे्रसले लगाएको गुनको पैँचो बुझाओस् एमालेले भन्ने चाहना हो तपार्इंहरूको –
– पैँचो तिर्ने/नतिर्ने भन्दा पनि यो हाम्रो एमाले पार्टी या यसका वरिष्ठ नेताहरूमाथिको विश्वासको कुरा हो । हामी उहाँहरूप्रति विश्वस्त छौँ, उहाँहरूले सोचविचार गरेर, मुलुकको परिस्थितिलाई हेरेर, लोकतन्त्रको भविष्यप्रति संवेदनशील भएर आजसम्मका उपलब्धिहरूलाई रक्षा गर्ने जिम्मेवारीप्रति सचेत बनेर काङ्गे्रसको समर्थनमा उभिनुहुनेछ ।
० एमाले अध्यक्षले त रामचन्द्रलाई भोट हाल्नुभन्दा हामी त हातै काटेर फाल्छौँ भने नि !
– त्यसो भन्नुभो होला जस्तो त मलाई लाग्दैन र भनेकै भए पनि आ-आफ्नो मान्यताका आधारमा त्यसो भन्नुभएको हुनसक्छ । तर, अहिले जसरी घटनाक्रम अघि बढेको छ, नयाँ घटनाक्रमका आधारमा उहाँहरूले निर्णयमा पुनरि्वचार गर्नुहुन्छ भन्ने हाम्रो ठहर हो ।
० एमाले र काङ्गे्रसको खास कहाँनेर हो कुरा नमिलिरहेको –
– वर्तमान मुलुकको बिग्रँदो परस्थितिप्रति एमाले पनि चिन्तित छ र हामी पनि यी यावत् विषयमा एमालेसँग वार्ता र छलफलको क्रममै छौँ । यो क्रमले एउटा परिपक्व रूप लिनेछ । त्यस्तो कुरा नमिलेको भन्नुभन्दा पनि एउटा निष्कर्ष निस्किएपछि एमालेले यो ‘तटस्थतावाद’को विकल्पमा निर्णय लिनेछ । यही हाम्रो आशा र अपेक्षा हो ।
० पौडेललाई प्रधानमन्त्री बनाउन जुन रूपमा सक्रियता र सहयोग तपाईंलगायतका अन्य काङ्गे्रसी नेताहरूबाट हुनुपर्ने हो, त्यो नभइरहेको भन्ने आरोप पनि छ नि –
– यस्तो आरोप कसले किन लगाउने – हर्ेर्नुस्, हाम्रो सङ्ख्या ११३ छ, माओवादीको २३७ छ, उसले ६३ सांसद थप्न सक्दा पुग्छ भने हामीलाई थप सङ्ख्या नै एक सय सतासी आवश्यक पर्छ । सहज कुरा त होइन नि यो । यस हिसाबमा हामी विपरीत या प्रतिकूल परिस्थितिमा छौँ, तथापि हामी हामै्र पक्षमा नतिजा हात पार्न लागिरहेका छौँ । यसलाई असहयोग भनेर हाम्रो पार्टीभित्र त कसैले भनेका छैनन्, बाहिरकाले के भन्छन् भन्नेमा ध्यान दिइरहनु यतिखेर आवश्यक पनि छैन ।
० त्यसो भए अब काङ्गे्रसको परिस्थिति सहजतिर गएको छ त –
– हो, मलाई लाग्छ अबचाहिँ दलहरूले धेरै बुझिसकेका छन्, मनन गरेका छन् । यसो हुनु भनेको हाम्रो बाटो सहजतातर्फ उन्मुख हुनु हो ।
० अनि मधेसवादी दलहरूको एक मधेस एक प्रदेशको मागलाई चाहिँ के गर्छ नि काङ्गे्रसले –
– मधेसवादी दलहरूको ‘एक मधेस एक प्रदेश’ भन्ने माग नै छैन, यो तपाईंहरूले बनाएको मात्रै हो । हामीलाई जुन आधारपत्ररूपी अवधारणा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दिएको छ त्यसमा यो कुरा कतै उल्लेख छैन ।
० स्वायत्त मधेस प्रदेश त चाहेका छन् नि उनीहरूले !
– त्यसको प्रतिबद्धता त हामीले गरिसकेका छौँ । आत्मनिर्णयको अधिकारका बारेमा मात्र हामीले उहाँहरूसँग क्लियरिफिकेसन मागेको हो । यसबारे अझै हामीले छलफल गर्नुपर्छ । स्वायत्त मधेस प्रदेशको खिलाफमा त हामी पनि छैनौँ । आत्मनिर्णयको अधिकारको सवालमा चाहिँ धेरै स्पष्ट हुनैपर्छ । जनताले त आत्मनिर्णयको अधिकारभन्दाखेरि फुट्न या टुक्रन पाउने अधिकार भनेर बुझेका छन् । यसले गर्दा हामी हिच्किचाउनुपरेको हो ।
० सेनामा समूहगत प्रवेश हुनुपर्नेबारे के भन्नुहुन्छ नि –
-त्यो पनि स्पष्ट हुनुपर्‍यो । अलग एउटा बटालियन रहनु बेग्लै कुरा हो तर समूहगत प्रवेश भन्नाले के बुझनुपर्ने हो, यसमा स्पष्टताको जरुरत छ । अन्य अर्थ नलागोस् भनी स्पष्ट हुनुपर्छ ।
० संसद्मा सोमबार जुन किसिमले क्रस भोटिङ भयो, यसलाई कसरी लिनुभएको छ –
त्यो अमर्यादित खेल हो । एउटा पार्टीको निर्णयविपरीत सांसदहरू उभिनु मूल्य-मान्यताको राजनीतिबाट टाढिनु हो । यसप्रकारका चलखेल पर्दापछाडि चलिरहेका छन् भन्ने हामीले सुन्दै आएका पनि थियौँ । एउटा मधेसी सभासद्ले त २-२ करोडको प्रलोभन आएको स्वीकार नै गरेका थिए । यो अत्यन्त अमर्यादित र फोहोरी खेल हो ।
० अब शुक्रबार पनि एमालेलाई आफ्नो पक्षमा काङ्गे्रसले ल्याउन नसके त प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भयो नि, होइन –
त्यस अवस्थामा पनि प्रचण्डजी प्रधानमन्त्री बन्नुहोला जस्तो मलाई त लाग्दैन । त्यो सम्भावना म देख्दिनँ ।
– ऋषि धमला