अग्निपीडितलाई मल्हम लगाउँदै सांसद भण्डारी

अग्निपीडितलाई मल्हम लगाउँदै सांसद भण्डारी


chandra bhandari

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले विकास–निर्माणका कामलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका छन् । वैशाख १८ गतेको भीषण आगलागीबाट पीडित थानपति गाविस ५, ६, ७ र ८ वडाका सात परिवारलाई थानपतिस्थित थोर्गामा राहत वितरण गर्दै सांसद भण्डारीले आगलागीबाट पीडित परिवारका बालबालिका र घर–गोठ निर्माणमा समेत आर्थिक सहयोग प्रदान गरे । सांसद भण्डारीले जिल्लाका हरेक विकास–निर्माणका कामलाई आफूले पहिलो प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै देश विकासका लागि गाउँको विकास अपरिहार्य रहेकोमा जोड दिए । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि भण्डारीले प्रत्येक पीडित परिवारलाई ओढ्ने–ओछ्याउने, लत्ताकपडा, पकाउने भाँडावर्तनसहित घर निर्माणका लागि प्रतिपरिवार २० हजार र गोठ बनाउनका लागि थप १० हजार नगदका साथ जस्तापाता सहयोग प्रदान गरे । सांसद भण्डारीले अग्निपीडित परिवारका १७ जना बालबालिकाका लागि शैक्षिक सामग्री सहयोगस्वरूप नगद १० हजार पनि हस्तान्तरण गरे ।

थानपति गाविसका सचिव जगन्नाथ ज्ञवालीको सभापतित्वमा सम्पन्न राहत हस्तान्तरण कार्यक्रममा पूर्वसांसद तथा एमाले नेता कमल श्रेष्ठले अग्निपीडितलाई प्राप्त सहयोग प्रसंशनीय भएको बताए । कार्यक्रममा रुरु नेटवर्कका सञ्चालक सुन्दर कसजूले नेटवर्कमार्फत सङ्कलन भएको आर्थिक सहयोगलाई घर निर्माणका क्षेत्रमा लगानी गर्न या अन्य कहाँ लगानी गर्ने भन्ने विषयमा पीडितको राय आवश्यक भएको तर्क गर्दै सङ्कलित सहयोगलाई पारदर्शी र समानुपातिक रूपमा वितरण गरिने जानकारी दिए ।