एनसेलमाथि यसरी निम्तियो दशा

एनसेलमाथि यसरी निम्तियो दशा


ncell teliasonera

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलबाट निहित स्वार्थ सिद्ध गर्न नसकेपछि निजी क्षेत्रका केही धनाढ्यसहित राजस्व कार्यालयसम्बद्ध भ्रष्टहरू उक्त कम्पनी नै डुबाउन हात धोएर लागिपरेको बुझिएको छ । केही समयदेखि एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी प्रकरण तथा लाभकरसम्बन्धी विषयलाई अस्वाभाविक किसिमबाट चर्चामा ल्याइएको छ । यसो गरिनुको अन्तरकथा भने बेग्लै रहेको बुझिएको छ ।

सुरुमा ठूला करदाता कार्यालयका चल्तापुर्जा कर्मचारीहरूले लाभकर तिर्नुपर्दैन भनी मलेसियन कम्पनी एक्जियटालाई ८० प्रतिशत सेयर बेच्ने स्वीडेनको टेलियासोनेरा कम्पनीलाई सजिलै उम्कन दिए । यसरी राजस्वका हर्ताकर्ताहरूले विदेशी कम्पनीलाई लाभकर तिर्नुनपर्ने भनी भड्काएपछि राज्यलाई अर्बौं घाटा पार्न खोजेको विषयले व्यापकता पायो । जनस्तरमा समेत व्यापक विरोध भएपछि सरकारले विशेष ताकेता गर्‍यो र व्यक्तिगत लाभ लिन मुख मिठ्याएका राजस्वका कर्मचारीहरू लाभकर तिराउन बाध्य भए । यस क्रममा नीरजगोविन्द श्रेष्ठले २० प्रतिशत सेयर भावनासिंह श्रेष्ठको सुनिभेरा भेन्चर क्यापिटललाई बिक्री गरेबापतको लाभकर २ अर्ब ८३ करोड १५ लाख रुपैयाँ गत ०७२ चैत ३० मै तिरे भने श्रेष्ठले बुझाएको करबाट पनि मलेसियन कम्पनी एक्जियटालाई ८० प्रतिशत सेयर बेच्ने स्वीडेनको टेलियासोनेराले लाभकर तिर्नुपर्ने राजस्व विभाग स्रोतको कथन छ ।

मलेसियाको कम्पनीलाई ८० प्रतिशत सेयर बेचेको टेलियाले आफूले पाउने सबै रकम भुक्तानी लिइसकेको छ, तर ठूला करदाता कार्यालयले टेलियाबाट लाभकर लिन नसकेपछि ‘मूल्य अभिवृद्धि कर दर्ता नम्बर (पान दर्ता) एनसेलकै नाममा भएकोले ऊबाहेक अरूलाई हामी चिन्दैनौँ’ भन्दै एनसेलबाटै कर असुल्न खोजेको देखिन्छ । ठूला करदाता कार्यालयले दिएको समयभित्र एनसेलले लाभकरबापत कर तिरेन भने लाभकरबापतको रकमबराबर थप जरिवाना र ब्याजसमेत लाग्ने बताइएको छ । त्यो रकम जोड्ने हो भने १ खर्ब पनि नाघ्नेछ ।

१ सय ४१ अर्ब रुपैयाँमा एनसेलको सेयर खरिद–बिक्री भएको घोषणा गरिएको छ । त्यसमा २० प्रतिशत नेपालीको सेयर कटाउँदा ८० प्रतिशत सेयरको मूल्य करिब १ खर्ब ३४ अर्ब हुन आउँछ । ८० प्रतिशत सेयर बिक्री गर्ने टेलियाले २५ प्रतिशत लाभकरबापत करिब ३३ अर्ब रुपैयाँ सरकारलाई तिर्नुपर्ने प्रस्टै देखिए तापनि टेलियासोनेराले लाभकर नतिर्दा यो विषयले तुल पक्रिएको छ । वार्षिक २० देखि २५ अर्ब रुपैयाँसम्म राजस्व तिर्ने एनसेल विदेशी लगानीको राम्रो कम्पनी भए पनि यसको साख गिराउन केही प्रतिस्पर्धी कम्पनी लागिपरेको अनुमान गरिँदै छ ।

यही वैशाख २५ भित्र कर विवरण बुझाउने म्याद छ भने एनसेललाई आयकर ऐन २०५८ को दफा ९५ को (५) र दफा ९६ अनुसार लाभकर तिर्न निर्देशन दिइएको कर कार्यालयको भनाइ छ । यसको प्रत्युत्तरमा एनसेलले सेयर हस्तान्तरण नभएको भनेको छ । यसैक्रममा ठूला करदाता कार्यालयले लाभकरबारे एनसेलमार्फत ८० प्रतिशत सेयर बिक्री गर्ने टेलियासोनेरालाई पत्र लेखेपछि यस विषयमा टेलियाले स्वीडेनमा छलफल गरिरहेको बुझिएको छ । यता टेलियासँग सम्पर्क नै नगरी उसले तिर्नुपर्ने रकम एनसेललाई तिर्न छोटो म्याद दिएर किन ताकेता लगाइयो भन्ने सवाल रहस्यमै रहेको छ ।