टुहुराका भगवान बने कामे मगर

टुहुराका भगवान बने कामे मगर


P1270091बेल्जियम, मार्च ७, अनाथ टुहुरा र असहाय बालबालिकालाई शिक्षा दिन र तिनको हेरचाहका लागि आर्थिक स्रोत जुटाउन सोलुखुम्बुका कामे मगर बेल्जियम अाइपुगेका छन् । उनलाई भेट्न पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपादक्ष तथा चार दिशा अन लाइन खबरका प्रधान सम्पादक अोम शर्मा र म लुभेनको ओन्जहाउस हलमा पुग्यौ । त्यहा पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राइ पनि हुनुहुँदो रहेछ । केहीबेरपछि हामीले परोपकारी मनका धनी कामे मगरसँग कुराकानी गर्यौ । कुराकानीकै क्रममा थाहा भयो उनका तीन दाजुभाइ हिमाल चढ्ने क्रममा निधन भइसकेको रहेछ । सोह्र बर्षमा पहिलोचोटि सगरमाथा आरोहण गरेका उनी हालसम्म पाँचचोटि आरोहण गरी सकेका रहेछन् ।

२०२९ सालमा सोलुखुम्बु जिल्लाको गार्मा गा.वि.स मा जन्मिएका ४३ बर्षीय मगर यतिबेला सोलु बालकल्याण अनाथालयमार्फत टुहुरा बच्चाहरुको सेवामा अहोरात्र खटिरहेका छन् । २०५० सालमा अन्तरजातिय विबाह बन्धनमा बाँधिएका मगरले शेर्पाको छोरीसंग प्रेमविवाह गरेका थिए । उनीहरुको विवाहलाई शेर्पा समाजले नस्वीकारेता पनि आफ्नो पारिवारतर्फबाटचाहि सकरात्मक सर्मथन रहेको उनी बताउँछन् । आजभन्दा १८ वर्ष अगाडि विहे गरेका मगर आफू निःसन्तान रहेर टुहुरा असहाय बालबालिकाको हेरचाह गरेको भने होईनन् । उनका आफ्नै पनि ४ जना छोरीहरु छन् । उनका छोरीहरुलाई शिक्षाको प्रबन्ध उनका साथी फ्रान्सका नागरिक माक फुयल एण्ड मार्टिन एण्ड म्यारीले गरिरहेका छन् । मगरको टुहुरा बालबालिकाहरुप्रति ध्यानाकर्षण जानुको पछाडि यो कारण पनि एक रहेछ । ”आफूहरु जिउँदो र सबल हुँदाहुँदै विदेशीले सहयोग गरिरहेका छन् भने आफ्ना बुवाआमा गुमाईसकेका असहाय दयनीय अवस्थाका बालबच्चाहरुको अवस्था कती कारुणिक र हृदय बिदारक होला उनीहरुको अबस्य मैले हेरचाह गर्नु पर्छ र त्यो मेरो दायित्व हो” भन्ने प्रेरणा उनमा पलाएको रहेछ त्यतिबेलादेखि नै ।

गतसाल धमला ग्रुप्स प्रा.लिका सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कोषकी निर्देशक सब्बु बस्नेतले सोलु बालकल्याण अनाथालयको उत्थानका निम्ति पचास हजार सहयोग गर्दै यसलाई वार्षिक रुपमा निरन्तरता दिने आस्वासन दिएकी छन भने अन्य केही सामाजिक संस्था र परोपकारी मन भएका ब्याक्तिहरुले सहयोगको चासो देखाएका छन् । ‘आफूले जोरपाटीमा स्थापना गरेको सोलु बालकल्याण अनाथालय संस्थामा त्यस्ता बालबालिकालाई आश्रय दिँदै आएको २०६८ सालबाट हो ।‘ भेटको अवसरमा उनले भने- ”सामाजिक सेवाको क्षेत्रमा काम गर्ने विश्वमा हजारौं सामाजिक संघसंस्थाहरु छन् तीमध्ये बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु सेवाको अग्रणी र महत्वपूर्ण क्षेत्र हुन् भन्ने तथ्यलाई विश्वसामु स्थापित गर्न बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाको तर्फबाट विश्व किर्तिमानी कायम गर्न र सगरमाथा आरोहणको वृत्तचित्र निर्माण गरी अनाथ बालबालिकाको पालनपोषण र रेखदेखमा सहयोग जुटाउने उद्देश्यले म निरन्तर सगरमाथा आरोहण गरिरहन्छु ।” सगरमाथा आरोहण गर्न सरकारले तोकेको सलामी दस्तुर तिर्ने पहिलो नेपाली पनि उनै रहेछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने सस्ंथाको क्षेत्रबाट सगरमाथाको आरोहण गर्न लागेका मगरले रु ७५ हजार तिरेर आरोहण अनुमतिपत्र लिएका हुन् । २०१४ चैत्रमा आरोहण गर्ने नेपाली आरोहीले मन्त्री परिषद्बाट आरोहण शुल्क मिनाहा गर्ने निर्णय गरी आरोहण शुल्कबिना नै सगरमाथा आरोहण गर्दै आएका थिए ।‘ओर्फन चाइल्ड वेलफेयर च्यारिटी एभरेस्ट एक्सपेडिसन २०१४’ नाम दिइएको उक्त आरोहण दलका उनी एकल आरोही थिए ।

सोही आरोहणमा रहेको सन्दर्भमा गत सालको अप्रिल १९ मा आएको महा भूकम्पबाट सृजित हिम पहिरोबाट ट्रेकिङ क्षेत्रमा काम गर्ने शेर्पाहरुको ज्यान गएको थियो तर त्यो बेला उनी बाँच्न सफल भए । त्यही जोखिमको बहानाले सरकारले सगरमाथा आरोहण रोकेकोमा बिरोध गर्दै र शेर्पाहरुको मागको समर्थनमा उनी आमरन अन्सनसमेत बसेका थिए ।

२०६८ सालमा नौ जना टुहुरा बच्चाहरुको भरण पोसण गर्दै आएका उनको अनाथालयमा अहिले पच्चीस जना बच्चाहरु भरण पोसणको साथसाथै अध्ययनरत छन् । जसमध्ये १० जनाले यस.यल.सि. उतिर्न गरी काम गर्दै पढ्दै गर्दछन् । अहिले उनको संस्थामा तीन जना कर्मचारी र उनको श्रीमती अहोरात्र खटिरहेको उनले बताए । त्यसो त उनले भन्सुनको आधारमा बच्चा जिम्मा लिदैनन् । उनिहरु कै गाउँमा गएर बुझी साँच्चै अनाथ र असहाय टुहुरो रहेछ भने, उसको भागमा रहेको अचल सम्पत्ति कानूनी रुपमा रोक्का गरेर प्रशासनको स्वीकृति लिई मात्र उनले अनाथालयमा भर्ना गर्दछन् ।

गत साल गएको महाभूकम्पले मासिक ३० हज्जार तिरेर भाडामा लिएको घर भत्काइदिए पछी उनलाई धर्म संकट अाइपर्यो । तर बच्चाहरुलाई केही भएन त्यसैले उनी भगवानलाई धन्यवाद दिन्छन् । हाल फ्रान्सको सोलु चिल्ड्रेनबाट सहयोग पाई २६ लाखमा जग्गा लिइ घर बनाउँदै छन् । ”त्यसैको लागि नेपाली दाजुभाइहरुसँग हारगुहार गरी हिंडिरहेको छु” -भाबुक हुँदै उनले सुनाए । बेल्जियमको लुभेनमा मगर संघको सहयोगले उनले मार्च ५ तारिख एक च्यारिटी कार्यक्रमसमेत गरे । जसमा नेपाली परिकार, नेपाली संगीत, नाच र चल्सा नाच प्रशिक्षण समाबेश गरिएको थियो । त्यसको उध्यस्य पनि अनाथालय निर्माणमा सहयोग जुटाउनु नै थियो । ” महिनामा अनाथालयको जम्मा खर्च १ लाख ३९ हज्जार हुन्छ, हिमाल चढ्दा आएको ५ लाख, ब्यक्ति वा संघ संस्थाहरुको सहयोग आदिले खर्च धानिएको” उनले हाँस्दै बताए ।

स्कुलको पढाई नभए पनि आत्मज्ञानको प्रेरणाले आकाश चुमेका कामेहरुको तबसम्म मुलुकमा आवस्यकता परिरहने छ जब सम्म राज्यले आफ्नो आर्थिक उन्नतिको पच्छेउरीले गरीब असहाय र टुहुराहरुको आङ्ग ढाक्ने गरी नीति निर्माणलाई मूर्तरुप दिन कम्मर कस्ने छैन । कामे मगर सलाम तिम्रा कंचन पदचापहरुलाई !
-डिल्ली राम अंमाई