सुशील’दाको सम्झना गर्दा

सुशील’दाको सम्झना गर्दा


Prasanna Koirala
– प्रसन्नकुमार कोइराला

सुशील’दा हामीबीच हुनुहुन्न । पिता बोधप्रसाद कोइराला एवम् माता कुमुदिनी कोइरालाको साहिँलो पुत्र सुशील’दालगायत तीन दाजुभाइको चिना विराटनगरमा हराएकोले सुशील’दाको जन्ममिति यकिन भन्न कठिन भए पनि उहाँ जेठी दिदी दुतीदेवी शर्माभन्दा बढीमा नौ वर्ष कान्छो र जेठो दाजु प्रमोदकुमार कोइरालाभन्दा सात वर्ष कान्छो भएको अनुमान लगाउन सकिन्छ । हजुरआमा कुमुदिनी कोइरालाले मेरी आमा नीलम कोइरालालाई विगतमा समयसमयमा भन्नुभएअनुसार ९० सालको भुइँचालोमा मेरो पिताजी प्रमोदकुमार कोइराला दुई वर्षको हुनुहुन्थ्यो । सुशील’दामाथि विनोद’दा (अतुलको बुबा), विनोद’दामाथि आभा दिदी (रमेश शर्मा भण्डारीको आमा) हुनुभएकोले सुशील’दा वि.सं. १९९५ वा बढीमा १९९४ सालको हुनुपर्छ । तसर्थ अहिले छापामा वि.सं. माघ १९९४ को जन्म भनेर आइरहेकोमा त्यो नै उहाँको आधिकारिक जन्म हुनुपर्छ ।

सुशील’दाले वीरगञ्ज महाधिवेशन वि.सं. २०१२ पश्चात् दर्शाउनुभएको लोकतन्त्र/प्रजातन्त्रप्रतिको प्रेम/समर्पणभाव, इमानदार कार्यशैली एवम् सादा जीवनबारे जति प्रशंसा गरे पनि कम हुन्छ । महान् नेता बीपी एवम् गणेशमानजीको कुरै नगरौँ । किसुनजी, शैलजा आचार्य, भीमबहादुर तामाङ, महेन्द्रनारायण निधि एवम् सुशील’दाजस्तो इमानदार नेता अब नेपाली काङ्ग्रेसले पाउन कठिन छ । नेता प्रदीप गिरी एवम् रामहरि जोशी उत्तिकै इमानदार हुनुहुन्छ, त्यो छँदै छ ।
Sushil Koirala
यस्ता इमानदार नेताहरूको जीवनी, राजनीतिक क्रियाकलापहरू सम्बन्धमा विभिन्न लेखकहरूमार्फत पुस्तकमा समेत सत्यतथ्य आउने भएकाले नयाँ पुस्ता/कार्यकर्ताले यस्तो पुस्तकहरू अध्ययन गर्नु जरुरी छ । सुशील’दाको नेतृत्वमा नेपालमा गणतान्त्रिक संविधान निर्माण भई घोषणा भएकाले नयाँ नेपालको इतिहासमा उहाँको नाम सदा अमर रहनेछ । सुशील’दा पार्टी सङ्गठन कार्यमा सधैँ सक्रिय रहनुहुन्थ्यो । यसले गर्दा कार्यकर्ता साथीहरूले उहांलाई नेताभन्दा पनि परिवारको सदस्यझैँ ठान्दथे । वास्तवमै यस्तो नेता अब नेपाली काङ्ग्रेस/राष्ट्रले पाउन कठिन छ । उहाँ साधारण नेताको रूपमा देखापरे पनि राजनेतामा हुनुपर्ने गुणहरू सादा जीवन, इमानदारिता एवम् कार्यकर्ताप्रति ओतप्रोत प्रेमले गर्दा उहाँलाई भविष्यमा राष्ट्रले राजनेतामा दर्ज गर्नेछ, यति भविष्यवाणी म यहाँ गर्दै छु जुन पार्टीका कार्यकर्ता/आमनागरिकले भविष्यमा पङ्क्तिकारको कुरा ठीकै हो अवश्य भन्नुहुनेछ ।

ईश्वरको लीला सुशील’दालाई अस्पताल लाने मौका हामीले पाएनौँ किनकि भाइ अतुलको भनाइअनुसार राति ८:०० बजे उहाँले केही जाउलो खानुभयो र १२:५० मा उहाँ ब्रह्मलीन हुनुभयो । चार घन्टा ५० मिनेट मात्र उहाँलाई जति गाह्रो हुनु थियो भयो र देह त्याग गर्नुभयो । यो वास्तवमै ईश्वरको लीला हो, उहाँलाई ईश्वरले मन पराएर लानुभयो । सुशील’दा अब हुनुहुन्न, तर नभए पनि पार्टी सङ्गठनमा जीवनको अन्त्यतिर उहाँको चाहना के–के थिए कार्यकर्ताहरूले राम्रै अनुमान गर्न सक्नुहुन्छ । सर्वप्रथम पार्टी संरचनामा पदाधिकारीहरू थप्ने उहाँको चाहना । पदाधिकारी थप्ने उहाँको चाहना फगत चाहना मात्र नभई सभापति पदमा कार्य गर्दा अनुभवबाट आर्जित चिज–उपज हो । उहाँ पदाधिकारीहरू थपेर पार्टीलाई केही हदसम्म भए पनि चुस्त/सक्रिय बनाउन चाहनुहुन्थ्यो । उहाँको प्रशंसाहरू छापामा प्रशस्त आएको छ । प्रशंसाले मात्र हुँदैन, पार्टी सङ्गठनमा उहाँको खासखास इच्छाहरू के–के थिए त्यो अनुमान गरी त्यसलाई पूरा गर्नेतर्फ कार्यकर्ताहरू लाग्नु जरुरी छ । उहाँको इच्छाहरू पूरा गर्नेतर्फ प्रौढ एवम् युवानेताहरूको एउटा तप्का नै खटिनु जरुरी छ ।

एउटा तप्का भन्नाले प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर, सुजाता, शशांक त हुनु नै भयो, त्यसबाहेक अशोक कोइराला, दिलेन्द्र बडू, आनन्द ढुङ्गाना, रामचन्द्र तिवारी, चन्द्र महर्जन, लोकेश ढकाल, जगदीशनरसिंह केसी, उमा दाहाल, हुर्मत न्यौपाने, धनराज गुरुङ, सञ्जय गौतम, रञ्जित कर्ण, चित्रलेखा यादव, धन खतिवडा, दीपक गिरी, मधु आचार्य, बालचन्द्र पौडेल, बालकृष्ण दाहाल, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे एवम् विश्वप्रकाश शर्माजस्ता नेताहरू पूर्ण सक्रिय रहनुपर्ने आवश्यकता देखिन्छ । माथिका नामहरू केही नामहरू मात्र होलान्, यी नामहरूबाहेक तमाम अन्य नामहरू सुशील’दाको इच्छा पूरा गर्न खटिनुभई काङ्ग्रेस पार्टीलाई सङ्गठित/एक ढिक्का गरी जनताबीच अत्यन्त लोकप्रिय बनाउनेतर्फ हामी सबै लाग्यौँ भने सुशील’दाप्रति सच्चा श्रद्धाञ्जली ठहर्नेछ ।