ग्लोबलका ढकालद्वारा यूएन मुख्यालयमा सम्बोधन !

ग्लोबलका ढकालद्वारा यूएन मुख्यालयमा सम्बोधन !


Chandra-Dhakal
आईएमई समूह तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘अति कम विकसित राष्ट्र्रको स्तानबुल कार्ययोजना तथा दिगो विकास’सम्बन्धी एकदिवसीय कार्यक्रमलाई हालै सम्बोधन गर्नुभएको छ । उहाँलाई अति कम विकसित राष्ट्र्रहरूबाट निजी क्षेत्रको प्रतिनिधित्वका लागि संयुक्त राष्ट्रसङ्घ महासभाको ७०औँ सत्रका अध्यक्षले यही ११ फेब्रुअरी २०१६ मा आयोजित एकदिवसीय विशेष समीक्षा कार्यक्रममा अतिथि वक्ताको रूपमा आमन्त्रण गर्नुभएको थियो ।

अति कम विकसित राष्ट्रहरूको दिगो आर्थिक विकास तथा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्यका साथ सन् २०११ मा टर्कीको स्तानबुलमा बसेको संयुक्त राष्ट्रसङ्घ चौथो सम्मेलनले पारित गरेका कार्ययोजनाको कार्यान्वयनको मध्यावधि समीक्षामा उक्त कार्यक्रम केन्द्रीत थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अति कम विकसित राष्ट्रहरूमा रोजगारीको सिर्जना गर्न, गरिबीको न्यूनीकरण गर्न, राज्यकोषमा राजस्व बढाउन, वस्तु तथा सेवाहरूको सहज आपूर्ति तथा वितरण गर्न र विकासका पूर्वाधारहरूको निर्माणमा सम्भाव्य नयाँ क्षेत्रको पहिचान गरी लगानी विस्तार गर्न निजी क्षेत्रले विशेष भूमिका खेलिरहेको बताउनुभयो । सार्वजनिक निजी साझेदारीको माध्यमबाट नेपाललगायत अन्य अति कम विकसित देशहरूले दिगो आर्थिक वृद्वि हाासिल गर्न आवश्यक पुँजीगत लगानीको फराकिलो अन्तरलाई न्यूनीकरण गर्न निजी क्षेत्रलाई एक मुख्य साझेदार अङ्गको रूपमा हेरिनुपर्ने बताउनुभयो ।

सभालाई ७०औँ सभाका अध्यक्ष मोगेन्स लिकिटोफ्त एवम् संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यले उद्घाटन मन्तव्य व्यक्त गर्नुभएको उक्त एकदिवसीय विशेष समीक्षा कार्यक्रममा सदस्यराष्ट्रका राजदूतहरूलगायत नागरिक समाज, गैरसरकारी संस्था र प्राज्ञिक समुदायले पनि सम्बोधन गरेका थिए ।